Khulla Bichar Online

“बाध्यता”

• रचना मोक्तान यात्री ✍

रगतपिच्छे भएको

एउटा पैतालाको छाप

जसको प्रत्येक रेखामा

घर छुटेको कथा सुकिरहेको छ।

त्यसैभित्र हिँडिरहेको छ एउटा परिवार

बुबाको काँधमा बोकेको छ आकाश,

आमाको आँचलमा गाँसिएको छ डर,

र सानो हातले समातेको छ

भोलिको अधुरो आशा।

उनीहरू घर छोडेर हिँडेका होइनन्,

घरले नै उनीहरूलाई छोडेको हो।

जसरी भुइँचालोले भित्ताहरू चर्किन्छ,

त्यसरी नै समयले चर्काइदियो

तिनका सपनाहरू।

रातो रंग केवल पृष्ठभूमि होइन,

त्यो त बिछोडको तातो रगत हो

जहाँ प्रत्येक पाइला

आफ्नै देशसँग माफी माग्दै अघि बढ्छ।

साना खुट्टाले थामेको छ

अत्यन्त ठूलो पीडा,

तर आँसु झार्न पनि फुर्सद छैन

किनकि रोकिनु भनेको

भोकसँग हार्नु हो।

ओ!  ठूलो पैताला!

तिमी कति निर्दयी छौ

तिमीभित्र हिँड्नेहरू साना छन्,

तर उनीहरूको घाउ

संसारभन्दा ठूलो छ।

++++++

२९,माघ,२०८२

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.