Khulla Bichar Online

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँको राजीनामा, काभ्रे राजनीतिमा तरंग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ ले पार्टीको प्रदेश उपसभापति पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्।
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार सार्वजनिक गरेको राजीनामा पत्रमा पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर भएको, आर्थिक अपारदर्शिता बढेको तथा नेतृत्व तहमा नैतिक विचलन देखिएको आरोप लगाएका छन्।
उनले उम्मेदवार छनोट प्रक्रिया पार्टी विधान, मापदण्ड र आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत सञ्चालन गरिएको दाबी गरेका छन्। वर्षौँदेखि समर्पित कार्यकर्तालाई पाखा लगाउँदै अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा “मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय बनाएका चटकदार व्यक्तिलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको” भन्दै उनले नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रारम्भिक समिति र केन्द्रीय समिति विस्तार प्रक्रियामा समेत स्पष्ट मापदण्ड र पारदर्शिता नभएको उनको आरोप छ।
सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्क व्यापक रूपमा सङ्कलन गरिए पनि त्यसको पारदर्शी लेखाजोखा सार्वजनिक नगरिएको उनले उल्लेख गरेका छन्। प्रदेश र पालिका तहमा बाँडफाँड हुने भनिएको रकमसमेत अस्पष्ट रहेको उनको जिकिर छ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा हुमागाईँले काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए। पनौतीका स्थानीय हुमागाईँ बनेपा, पनौती र मण्डन क्षेत्रमा लोकप्रिय मानिन्छन्।
उनको राजीनामाले काभ्रे जिल्लाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.