
• जीवन कुमार याेञ्जन

नीलाे क्रान्ति
नीलाे सारी
नीलै चाेलाे
अनि निलाे
काेट र निलाे
टाई लाउनकै
लागि नीलाे क्रान्ति नहाेस्।
मलाई रक्त क्रान्ति के हाे?
थाहा छ।
नीलाे रक्सी
पिउनकै लागि
कतै नीलाे
लिपिस्टक अनि
नीलै नेल पलिसकै
लागि निलाे क्रान्ति नहाेस्।
मलाई रक्त क्रान्ति के हाे ?
थाहा छ।
रम्तेलकाे राताे रगत
रक्त क्रान्ति हाे
दिलमाया याेञ्जनहरुकाे
रगतलाई नीलाे क्रान्तिले
छाेप्लास्। नछाेप।
सुखानीका जङ्गल रक्तरञ्जित
हुँदा अनि पिस्कर पिसेकाे
त्यही हाे रक्त क्रान्ति
भीमदत्तका शीरहरु
झुन्ड्याइएकाे ठाउँबाट
नीलाे क्रान्ति उठेकाे हाेइन
मलाई रक्त क्रान्ति के हाे ?
थाहा छ।
सुकिलामुकिला vs मैलाधैलाबीचकै
अन्तरसङघर्ष हाेइन नीलाे क्रान्ति
सुकिला vs सुकिलाबीचकाे
अन्तरसंघर्ष मात्र नीलाे क्रान्ति हाे भने
खबरदार!
रक्त क्रान्तिकाे ज्वालाबाट
भीमदत्त, दिलमाया
रम्तेल, लखन, रमेश महताे,
अनि सुखानी, पिस्कर
र खारा, पहारा र बेसाहारा
उठ्न नपराेस् ।
मैलाधैला हातहरु जुट्न नपराेस्।
नीला क्रान्तिहरु
रक्त क्रान्तिमा परिणत नहाेस्।