Khulla Bichar Online

बौद्ध र स्वयम्भू जात्रालाई “तेमाल जात्रा” किन भनियो?

एक किंवदन्ती अनुसार, तेमालका राजा ह्रेन्जेन दोर्जेको गोर्खाली सत्ताले षड्यन्त्रपूर्वक हत्या गरेपछि, उनको आत्माको शान्तिको लागि तेमालका जनता ठुलाे संख्यामा बौद्ध र स्वयम्भू मा भेला भएर दीप प्रज्ज्वलन गरेका थिए। उक्त भीड देखेर स्थानीयहरूले “कसको जात्रा हो?” भनी सोध्दा “तेमालकाे तामाङकाे जात्रा” भन्ने उत्तर आएको थियो। यही वाक्यांश क्रमशः “तेमाल जात्रा”मा रूपान्तरण भएको मानिन्छ।

• राजीव माेक्तान तामाङ,काभ्रे

नेपालका आदिवासी जनजातिहरूमध्ये तामाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको थुप्रै चाडपर्वहरू छन्, जसमा तेमाल जात्रा अत्यन्तै महत्वपूर्ण र पहिचानसँग गाँसिएको पर्व हो। हरेक वर्षको चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूप र पूर्णिमाकै दिन स्वयम्भू महाचैत्यमा भव्य रूपमा मनाइने यस जात्रालाई “तेमाल जात्रा” भनेर चिनिन्छ। तर मूल रूपमा काठमाडौं उपत्यकामा पर्ने यी तीर्थस्थलहरूको जात्रालाई तेमाल क्षेत्रसँग जोडेर किन “तेमाल जात्रा” भनियो भन्ने विषयमा ठोस ऐतिहासिक प्रमाणहरु भेटिदैन, तर मौखिक परम्परा, किंवदन्ती, सांस्कृतिक अभ्यास र ऐतिहासिक जनश्रुति समेट्दा यसको कारण स्पष्ट हुँदै जान्छ।

“तेमाल जात्रा” पृष्ठभूमिका आधारहरु

काठमाडौं उपत्यकाका लिच्छवि र मल्ल शासनकालदेखि नै तेमाल क्षेत्र (हालको काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणपूर्वी भाग) र काठमाडौं उपत्यकाबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थियो भन्ने देखिन्छ। हिडेर तीन दिन लाग्ने दक्षिण पुर्बकाे तत्कालीन तामाङ राज्य तेमाल र लिच्छवि वा मल्ल राज्या प्रशासन भएकाे काठमाडौं उपत्यका भित्र पर्ने बाैद्ध र स्ययम्भुकाे प्राचीन सम्बन्ध के थियाे?याे गम्भीर खाेजनिय बिषय छ। तेमाल र तेमाल आसपासकाे क्षेत्र तामाङहरूको ऐतिहासिक राज्य मानिन्छ, जहाँका अन्तिम तामाङ राजा रिन्जेन दोर्जे बल थिए। ती राजाले चैत्र पूर्णिमालाई राजकीय चाडको रूपमा मान्यता दिएका थिए र आफ्ना प्रजाहरूलाई हरेक वर्ष बौद्ध स्तूपमा पूजा गर्न पठाउने चलन चलाएका थिए भन्ने भनाइ रहेकाे छ। आफ्नै राज्य भित्रकाे ग्याेईखार मेला(नारायण स्थानकाे जात्रा),नमाेबुद्ध मेलालाई राजकीय चाड दिनुकाे साटाे बाैद्ध र स्वयम्भूलाई किन दिईयाे?

अर्काे तर्फ बौद्ध स्तूपको जीर्णोद्धार कार्य सम्पन्न भएको खुसीयालीमा यस महास्तूपमा विशेष पूजाआजा सहित उत्सव मनाउन तेमालका राजा रिन्जेन दोर्जे बल स्वयं उपस्थित भएर ‘तेमालजात्रा’ चलाएको भन्ने किंवदन्ती पनि पाइन्छ । बाैद्ध र स्वयम्भूकाे जीर्णाेद्धार तेमाल राज्यले नै गर्नु पर्ने कारण के थियाे?

एक किंवदन्ती अनुसार, तेमालका राजा ह्रेन्जेन दोर्जेको गोर्खाली सत्ताले षड्यन्त्रपूर्वक हत्या गरेपछि, उनको आत्माको शान्तिको लागि तेमालका जनता ठुलाे संख्यामा बौद्ध र स्वयम्भू मा भेला भएर दीप प्रज्ज्वलन गरेका थिए। उक्त भीड देखेर स्थानीयहरूले “कसको जात्रा हो?” भनी सोध्दा “तेमालकाे तामाङकाे जात्रा” भन्ने उत्तर आएको थियो। यही वाक्यांश क्रमशः “तेमाल जात्रा”मा रूपान्तरण भएको मानिन्छ।

चीनबाट मञ्जुश्रीका साथ नेपालमा प्रवेश गर्ने जातिमा तामाङहरु पनि थिए। तामाङहरुले स्वयम्भू स्तूप निर्माण भएको खुसीयालीमा स्वयम्भूमा पुगेर दीप प्रज्ज्वलन गरेर स्मरण गर्ने परम्परालाई सधै निरन्तरता दिदै आएका छन्। त्यसै गरी बौद्ध स्तूपको निर्माण सम्पन्न भएपछिको सोही स्तूपको प्राण प्रतिष्ठा पूजा (ह्राप्ने) पनि चैत्र पूर्णिमाकै दिन भएको कारणबाट दुवै स्तूप अनि चैत्यलाई चैत्र पूर्णिमाकै दिन लागेको यस जात्रामा दीप प्रज्ज्वलन गर्ने परम्परा बसेको हुनसक्ने आधारहरु पनि छन्।

सांस्कृतिक निरन्तरता र तेमाल जात्राको बिशेषता 

प्रत्येक वर्षको चैत्र पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा तामाङ समुदायले परापूर्वकालदेखि मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहासिक पर्व हो। तेमाल जात्रा तामाङहरूद्वारा संरक्षण गरिएको सांस्कृतिक सम्पदा पनि हाे।तेमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु यसकाे प्रमुख बिशेषता नै हाे। याे बर्ष बौद्ध-सिङ्गुन तेमाल जात्रा  चैत्र १८ गते बौद्ध र १९गते स्वयम्भुमा भव्यताका साथ सम्पन्न हुदैछ।

तेमाल जात्रामा सहभागी हुन तेमालबाट मात्रै हाेईन,सबैठाउँका तामाङहरुकाे ठुलाे संख्यामा सहभागी हुने गर्दछ। अरनिको लाेकमार्ग बन्नु भन्दा अगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो (म्हेदाङ) बाल्दै रातभरी हिडेर आउँथे भन्ने छ। तामाङहरूको चैत पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरै देखि भीड लाग्छ। त्यहाँ उक्त दिन रातभर मृतकहरूको सम्झनामा बत्ती बाल्ने गरिन्छ। यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन्। यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्माले शान्ति पाउने, चाहेकाे साेचेकाे पूरा हुने विश्वास गरिन्छ।

राजधानी काठमाडौंमा रहेको यो दुईदिने जात्रा भर्न निकै टाढा टाढाबाट तामाङहरुकाे घना उपस्थितिले प्राचीन ईतिहासबारे प्रश्न उठाउछ। उत्तर हाेईन जात्रामा लागेकाे ऋणकाे भारी बाेकेर फर्कन्छन्। तर पनि तामाङहरुले संस्कृतिको गरिमालाई  अहिलेसम्म निरन्तरता दिएको देखिन्छ।

यसै दिन नजीकबाट आउने तामाङहरू आआफ्ना घर र्फकन्छन्, टाढाबाट आउनेहरू बौद्ध स्तूपकै पीठमा तामाङ सेलो,तामाङ फापरे गीत गाएर रात बिताउँछन्। यसको भोलिपल्ट अर्थात् चैत पूणिर्माका दिनमा सबेरै बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन् अनि स्वयम्भू स्तूपको दर्शन गर्छन्। स्वयम्भूमा पनि बौद्ध स्तूपमा गरिएको प्रक्रिया अनुसारै बत्तीहरू बाल्ने,काेर्वा गर्ने गर्छन्। मृतकको मुक्तिका लागि लामा पुरोहितबाट पाठपूजा पनि गराउँछन् र घर र्फकन्छन्।

निष्कर्ष:

तेमाल जात्रा, जुन चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपमा र पूर्णिमाको दिन स्वयम्भूमा मनाइन्छ, तामाङ समुदायको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानसँग गाँसिएको महत्त्वपूर्ण पर्व हो। यसलाई “तेमाल जात्रा” भनिनुको पछि तामाङहरूको प्राचीन तेमाल राज्य (हालको काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी भाग) र काठमाडौं उपत्यकाबीचको सांस्कृतिक सम्बन्ध, तेमालका राजा रिन्जिन दोर्जेको परम्परा, र विभिन्न किंवदन्तीहरू जस्तै उनको हत्यापछि भएको दीप प्रज्ज्वलनको घटना, वा बौद्ध स्तूपको जीर्णोद्धारको उत्सव आदिको प्रभाव रहेको देखिन्छ।

यस पर्वले तामाङ समुदायले आफ्नो धार्मिक विश्वास, पूर्वजको सम्झना, र सांस्कृतिक निरन्तरतालाई अझै समयानुकूल कायम राखेको देखाउँछ। टाढाटाढाबाट तामाङहरूको यस जात्रामा सहभागिता नै यसको विशेषता हो। यसरी, तेमाल जात्रा नेपालको सांस्कृतिक विविधतामा तामाङ समुदायको गौरवशाली योगदानको प्रतीक हो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.