
” आज वाङ्थलीमा रहेका थोकरहरूको समूह त्यही यात्राको साक्षी हो। कुनै समय साङास्वति र लौरेदेउराली आजको नगरकोटभन्दा धेरै महत्त्वपूर्ण स्थान थिए भन्ने जीवित इतिहास हो।”
• राजीब माेक्तान तामाङ

एक सय वर्ष अघि कस्तो थियो त साङास्वति र लौरेदेउराली?याे ठाउँको सामान्य चिनारी दिन यहाँ केही तथ्यपरक घटना र इतिहासलाई खोतल्नुपर्ने देखिन्छ।
हुन त तामाङ समुदाय सामूहिक रूपमा बस्न रुचाउने, मिलनसार स्वभावको हुन्छ। यस समुदायमा चोहो प्रणाली खान्बा, ताम्बा, लामा र बोन्पो सहितको सामाजिक संरचना पाइन्छ। यहाँ राजा-रजौटाको कुनै छनक देखिँदैन।
एउटा गाउँ प्रायः एउटै थरको हुन्छ भने अर्को गाउँ फरक थरको हुन्छ। जस्तै-ह्रिस्योङ्गु-योन्जन, बोल्दोङ्चे (हाल नाग्रे गगर्चे)-मोक्तान, काफ्ले धमरा-घिसिङ, मादन-वाईवा, तेमाल-वल, शैलुङ-थोकर आदि। यस्तै वाङ्थली तितुङ तामाङहरूको किपट थलो हाे।

१९९२ सालतिरको त्यो समय जब बाटो नै जीवन थियो। शैलुङ घ्याङका काजीमान थोकर तामाङ जवान र जोशिला थिए, संसार हेर्ने लोभले भरिएका थिए। राणा शासनमा तामाङहरूलाई नेपाल आर्मीमा जागिर खाने वैधानिक अनुमति नभए पनि काजीमान थोकर भने आर्मीका जागिरे थिए। उनको मन गाउँको सीमाभन्दा बाहिर धकेलिएको थियो।
काजीमान कसरी आर्मीमा जागिरे भए भन्ने प्रश्नको उत्तर खोज्न उनका एक हजुरबुबालाई चिन्नु आवश्यक देखिन्छ। हजुरबुबा शैलुङ क्षेत्रका निकै जान्ने झाँक्री थिए। तन्त्र-मन्त्र र जडिबुटीमा उनी निकै सिपालु थिए, र उनको चिनारी राजदरबारसम्म थियो। बिरामी परेर थला परेकी दरबारकी रानीलाई शैलुङका जडिबुटी र उनको तन्त्र-मन्त्रले निको बनाएपछि खुसी भई ठूलो धनराशि दिइएको थियो। उनैको भनसुनका कारण बलिया काजीमान आर्मीका जागिरे बनेका थिए।
एकपटक उनी नगरकोट पुगे। जहाँबाट काठमाडौं खाल्डोको दृश्य स्पष्ट देखिन्थ्यो। नगरकोटले उनलाई मन्त्रमुग्ध बनायो। नगरकोट र शहर शैलुङबाट टाढा थिए, तर सपना निकै नजिक लाग्यो। उनले नगरकोटको डाँडाबाट शैलुङ डाँडा हेरिरहे।
छुट्टीमा घर फर्कँदा उनले भाइहरू जंगीलाल र चिनियाँ काजीलाई नगरकोटको कुरा सुनाए । “त्यहाँ बसौँला,” उनले भने, “भविष्य त्यतै छ।” दुई भाइका आँखामा पनि उही चमक देखियो। योजना बन्यो, अनि एक बिहान उनीहरू घर छाडेर हिँडे।

बुद्ध जयन्ती सकेर हिँडेका दाजुभाइ पहिलाभन्दा बढी उत्साहित थिए। बाटोभरि भेटिएका छोर्तेन, काकालिङ र ‘ओम’ जताततै लुङ्दार टाँगिएका थिए। उनीहरूले दर्शन गरे, आफ्ना लागि केही मागेनन् ,शान्तिको कामना मात्र गरे।
त्यति साह्रो जाडो थिएन। जंगलभरि काफल, असेलु, चुत्रो, घँगारु खाँदै उनीहरू अघि बढे। अहिले जस्तो सल्लाको घना जंगल थिएन। पहिलो बास साङास्वतिको नाकैमा रहेको लौरेदेउरालीको कालो पार्टीमा पर्यो।
त्यो ठाउँ बास बस्ने स्थान मात्र थिएन,जीवनको चौतारी थियो। हजारौं मानिसहरू ओहोरदोहोर गर्थे। फराकिलो हुलाकी पदमार्गको दायाँबायाँ भट्टी पसलहरू, अस्थायी छाप्राहरू, र ढाक्रेहरूले बोकेका भारीहरूले भरिएको थियो। चिसो हावाले गाला चिस्याउँथ्यो, तर चुल्होको आगोले मन तताउँथ्यो।
ढाक्रेले लामाे चौतारी भरि सयौँ भारी बिसाइएका थिए। ढाक्रे चाैंर भरि सयौँ चुल्हा बलिरहेका थिए। कसैले गुन्द्रुक उमाल्दै थियो, कसैले ताप्केमा ढिँडो मस्काउँदै, कसैले नुन चिया पकाउँदै। पानीका लागि ढाक्रे कुवामा लाइन लाग्थ्यो। त्यो लाइन पानीका लागि थिएन,त्यो त भेटघाट, गफगाफ र सम्बन्ध गाँस्ने थलो थियो। अलि पर नाङ्गाे पाखा भरी गाई,भैंसी,बाख्रा चरिरहेका थिए। काेही उग्राईरहेका थिए। गाेठाला प्राय पुरुषहरु हुन्थे।
ढाक्रेहरुकाे भीडभाड बीच तामाङनीहरू स्यामा र आङ्रे लगाएर छ्याङ बेचिरहेका थिए। उनीहरूको हाँसो, बोली र आँखाको चमकले थाकेका यात्रुहरूलाई ताजगी दिन्थ्यो। काजीमान र जंगीलाल पनि एक कुनामा बसेर छ्याङको डवका समाते। सरेसको एक डवका छ्याङ स्वाट्ट पारेपछि परिचय सुरु भयो।
“थर के हो, आङा?” काजीमानले सोधे।
“तितुङ,” उत्तर आयो, हल्का हाँसोसँगै।
काजीमान मुस्कुराए“हामी थोकर। घर शाअीलुङ घ्याङ भेड्कु,अब त सम्धी पर्ने भइयो।” त्यो ठट्टा थियो, तर त्यही ठट्टाले मनको कुनामा बीउ रोपिदियो।

भोलिपल्ट बिहान, जब शैलुङ डाँडाबाट घाम झुल्कियाे, उनीहरूले भोटेकोशी र इन्द्रावती पार गरिसकेका थिए। साँझसम्म नगरकोट पुगे। त्यहाँको शान्त, सुनसान वातावरण टाढासम्म देखिने शहर सबै राम्रो थियो, तर मन भने अडिएन।
जंगीलाल त झन् सानै थिए,मात्र १३ वर्षकाे। दाजुले देखाएका सबै दृश्य हेरे, तर उनको मनमा एउटा मात्र चित्र बस्यो।साङास्वतिको भीड, चहलपहल र तितुङ्नीहरूको आत्मीयता। “दाइ, फर्कौँ,” उनले भने।
काजीमान केही क्षण चुप लागे। एकछिन शिवपुरी-नागार्जुनको डाँडाबाट अस्ताउँदै गरेको रातो घाम हेरिरहे। केही बेरमै घाम डुब्यो। काजीमानको मुखबाट एउटा शब्द निस्कियो-“ओइ आले, हाम्रो म्हे म्हे पनि उ त्यो गागालचेबाट शैलुङ पुगेको रे। आजभोलि मेरो ड्युटी त्यही फेदीमा छ।”
केही क्षण उनले नगरकोटको उज्यालो सम्झिए, अनि साङास्वतिको आगो। अन्ततः निर्णय भयो,दुई भाइ फर्किए। साङास्वति फर्किनु ठाउँ बदल्नु मात्र थिएन,त्यो जीवन रोज्नु थियो।
२३५० मिटर उचाइमा रहेको साङास्वतीको त्यो अग्लो ठाउँमा उनीहरूले फराकिला पाखाहरू रोजे र करिब २२०० मिटर आसपास एउटा छाप्रो हाले। पछि अर्काे भाइ चिनियाँ काजी र काका बाबुलाल थोकर पनि सँगै आए। बिस्तारै बुबा,आमा,अन्य दाजुभाइहरू पनि मिसिन आए र थोकर भाइहरूको बसाइँ सर्यो। घर धुरि बढ्याे,थाेकर टाेल बन्याे।
बाबुलाल थोकर झाँक्री थिए। उनले साङास्वतीको शिरमा कालीदेवी स्थापना गरे र त्यही वर्षदेखि भूमि पूजा (ड्वाफ्रे) मनाउन सुरु गरे। हरेक वर्ष ड्वाफ्रेमा साङास्वती लेकमा जात्रा लाग्न थाल्यो।

साङास्वतीमा थोकरहरूको आगमन पहिलो भने थिएन। करिब ८/१० वर्षअघि १९८० तिर म्हे म्हे अबिर सिं थोकर, बज्रबहादुर र उजिर सिं पनि आएका थिए। तर के नमिलेर पुनः शैलुङ फर्केका थिए। यो पटक भने साङास्वतीले उनीहरूलाई मज्जाले तानेको थियो।
समय बिस्तारै बग्यो। काजीमान फेरि दोलखा फर्किए,सन्तानहरु यहि रह्याे, तर जंगीलाल र चिनियाँ काजी,भरत थाेकर,नेमा ताेक्चे थाेकरका सन्तान साङास्वतिमै बसिरहे। तितुङ्नीहरूसँग विवाह भयाे, सम्बन्ध गाँसिए,सन्तानहरु हुर्किए,घरधुरी बढ्दै गए। व्यापार फस्टायो। उनीहरू गाउँका साना तिना साहु बने,मान, प्रतिष्ठा र आत्मसम्मान कमाए।
साङास्वति त्यो बेला बस्ती मात्रा थिएन,त्यो त व्यापारको मुटु थियो। उत्तरपूर्वतिर सोलुखुम्बुसम्म जाने प्रमुख हुलाकी पदमार्ग यहीँबाट जान्थ्यो। व्यापारीहरू, सरकारी कर्मचारी, सैनिक सबैको आवतजावत हुन्थ्यो। त्यो ठाउँ आजको धुलिखेल जस्तै एउटा महत्त्वपूर्ण केन्द्र थियो।
तर समय सधैं उस्तै रहँदैन। २०२० सालपछि कोदारी मार्ग र जिरी–काठमाडौं सडक खुले। नयाँ बाटोहरूले पुराना बाटाहरूलाई बिस्तारै विस्थापित गर्न थाले। व्यापार घट्दै गयो। भीड हरायो। चुल्हाहरू निभ्न थाले। साङास्वतिको चहलपहल विस्तारै सुनसानतामा बदलियो। पछि बस्ती सानाे वाङ्थलीतिर सर्यो। थोकरहरू पनि त्यतै सरे। तितुङहरूको बस्तीमा मिसिए। नयाँ सम्बन्ध बने,पुराना सम्झनाहरू बोकेर।
आज वाङ्थलीमा रहेका थोकरहरूको समूह त्यही यात्राको साक्षी हो। कुनै समय साङास्वति र लौरेदेउराली आजको नगरकोटभन्दा धेरै महत्त्वपूर्ण स्थान थिए भन्ने जीवित इतिहास हो।

आज साङास्वति र लौरेदेउराली शान्त छन्। चुल्हाहरूको धुवाँ छैन, ढाक्रेहरूको भीड छैन। तर यहाँको माटोमा अझै पनि काजीमान, जंगीलाल र बाबुलाल थोकर म्हेम्हेहरुका पाइला छन्। हावामा अझै पनि ती तितुङ्नीहरूको हाँसो गुञ्जिन्छ।
कहिलेकाहीँ, कुहिरो हट्दा, एकछिनका लागि त्यो पुरानो समय देखिन्छ… अनि फेरि हराउँछ। तर कथा कहिल्यै हराउँदैन। मानिसहरुले छाेडेकाे पदचाप रहिरहन्छ मेटिदैन।
त्यो कथा शैलुङको हावामा छ, साङास्वतिको माटोमा छ,लाैरेदेउरालीकाे ढाक्रे चाैंर,चाैउतारी,कुवा र ढाक्रे पाटीकाे भग्नाशेषमा छ। प्रत्येक तामाङको स्मृतिमा छ,जहाँ बाटो नै जीवन थियो, र एउटा सानो निर्णयले पुस्तौँको भविष्य लेखिदियो।
नाेट: सम्बादमा आधारित खाेजमुलक सामाग्री भएकाले त्रुटीहरु देखिएमा सच्याउन सकिनेछ।
