Khulla Bichar Online

“डोजरमुनि पुरिएको सपना”

• शिशिर भण्डारी

प्रिय,

यो चिठी हो कि रोदन—म आफैं छुट्याउन सकिरहेकी छैन।

शब्दहरू लेखिरहेकी छु—तर हरेक अक्षर आँसुमा भिजेको छ।

यहाँ जति पनि शब्द छन्—

मेरो मुटु फुट्दा निस्किएको निःशब्द चिच्याहट हो,

मेरो यो आवाज तिमीले—

त्यो टाढाको परदेशमा सुन्न सक्छौ या सक्दैनौ।

 

तिमी परदेशको घाममा पसिना बगाइरहेका छौ,

म यहाँ आफ्नै देशको छायामा मेटिँदैछु।

फरक यत्ति हो—

त्यहाँ तिमीलाई थिच्ने हातहरू पराइ छन्,

यहाँ मलाई लुछ्ने अनुहारहरू आफ्नै हुन्।

 

तिमी परदेशमा छौ—र म यहाँ,

घर नभएको घर—अर्थात् खुला आकाशमुनि,

तिमी नभएको जीवनमा।

 

अस्ति बेलुका डोजर आयो—

निर्दयी राक्षसझैँ।

अनि हाम्रो छाप्रोमा दाह्रा गाड्यो,

र संसार भत्कियो।

 

त्यो केवल टिनको छानो थिएन—

त्यो हाम्रो आश्रय,

हाम्रो सपना,

तिम्रो पसिनाले किनेका साना–साना खुसीहरू थिए।

 

मलाई लाग्यो—

त्यो छानो होइन,

मेरो छाती चिरिँदैछ,

मेरो मुटु च्यातिँदैछ।

 

तिमीले पठाएको हरेक रुपैयाँले

मैले टुक्रा–टुक्रा गरी जोडेको त्यो सपना,

मेरो आँखै अगाडि ढल्यो—

र म…

म केही गर्न सकिनँ।

 

म मात्रै चिच्याइरहे—

“ए मान्छे यहाँ हेर न, हाम्रो घर जोगाउन आऊ…”

तर बिडम्बना—

यहाँ मान्छेको भिडमा कोही मान्छे थिएनन्

जहाँ मेरो आवाज सुन्न सकुन।

 

मैले तिमीलाई बोलाउन खोजेँ—

तर आवाज घाँटीमै अड्कियो।

किनकि मलाई थाहा थियो—

तिमी हजारौं माइल टाढा थियौ,

मेरो चिच्याहटले तिमीलाई छुन सक्दैन थियो।

 

र म— आफैंभित्र भत्किँदै गएँ।

 

र पनि—

म चिच्याएँ— “ए, कोही छौ?

हाम्रो घर जोगाइदेऊ…”

तर आवाज बन्दुकको घेराभित्र थुनिएको थियो।

 

यहाँ मान्छे होइन— डोजर सुरक्षित थियो।

यहाँ जीवन होइन— मौनता मुखरित थियो।

यहाँ मान्छेभन्दा बलियो

मौनता रहेछ—

र मौनता नै व्यवस्था रहेछ।

 

फटाफट सेना–प्रहरीको घेराभित्र—

हाम्रो संसार उजाडिँदै थियो,

र बाहिर— मानिसहरू हेर्दै थिए।

जस्तै कि— हामी कुनै नाटकका पात्र,

र उनीहरू दर्शक।

 

छोराछोरी रोइरहेका थिए—

डरले, भोकले,

र सायद यतिखेर तिम्रो अभावले।

 

म उनीहरूलाई अँगालेर बसें—

तर मेरो अँगालो आफैंमा खाली थियो।

तिमी बिना,

म कति अधुरो छु भन्ने

अस्ति पहिलोपटक यति गहिरोसँग महसुस भयो।

 

तिमीले भन्थ्यौ नि—

“अलि दुःख सह, म फर्केर आउँछु,

हाम्रो आफ्नै घर र संसार बनाउँछु।”

त्यही वाक्य सम्झेर—

मैले हरेक रात काटेकी थिएँ।

 

प्रिय,

अस्ति बेलुका हाम्रो घर भत्किँदा

माटो मात्रै ढलेन—

हाम्रो अस्तित्वको एउटा भाग

सधैंका लागि डोजरमुनि पुरियो।

 

हामी चिच्यायौं,

तर हाम्रो आवाजभन्दा ठूलो

यहाँका सुन्न नसक्ने शहरका बन्द कानहरू रहेछन्।

हामी— कानुनी आवाजभन्दा साना रहेछौं।

 

कानुनले हाम्रो आँसु देखेन,

मानवता त्यहाँ उपस्थित नै थिएन।

 

त्यो दिन थाहा भयो—

सुकुम्बासी हुनु

घर नहुनु मात्र होइन,

आफ्नै देशमा हराइरहनु रहेछ।

 

नागरिकता हातमै हुँदा पनि

अस्तित्व प्रमाणित गर्न नसक्नु रहेछ।

 

हामी रुन्छौं—

तर “अवैध” भनेर सुकाइन्छौं।

 

आजकल त झन् अर्को अदालत खुलेको छ— समाज र सोसल मिडिया।

त्यहाँ पनि हामी नै दोषी—

“किन बस्यौ त्यहाँ?” “ठिक्क भयो!”

कसैले सोध्दैन—

“कहाँ जान्छौ? के गर्छौ? के खान्छौ?”

 

यो संदिग्ध अदालतमा—

हाम्रो गरिबी नै अपराध रहेछ,

हाम्रो बाध्यता नै सजाय रहेछ।

 

प्रिय,

यहाँ गरिब मर्नु भनेको मान्छे मर्नु रहेनछ।

यो त केवल एउटा समाचार हुने रहेछ—

कसैको भ्यूअर्सका लागि

एकछिनको चर्चा, अनि… भुलिन्छ।

 

तर यहाँ— म अझै बाँचिरहेकी छु,

प्रत्येक दिन थोरै–थोरै मर्दै।

 

अहिले म खोलाको किनारमा छु—

जहाँ पानीभन्दा धेरै आँसु बगिरहेको छ।

 

अब फेरि केही छिनमा रात पर्छ—

चिसो हावा शरीरमा होइन,

मनभित्र बग्छ र शरीर काँप्छ।

 

छोराछोरी मेरो काखमा सिम्टिन्छन्,

तर काख खाली लाग्छ—

किनकि तिमी छैनौ।

 

“बुबा कहिले आउनुहुन्छ?”

उनीहरू सोध्छन्।

म चुप लाग्छु—

किनकि मसँग शब्द छैन,

आँसु मात्रै छ।

 

प्रिय,

तिमीले पठाउने पैसाले

हामीले खाना त खान सक्छौं,

तर तिमी बिना

जीवन निल्न गाह्रो छ।

 

म बलियो बन्न खोजिरहेकी छु—

तिम्रो लागि,

छोराछोरीका लागि।

तर कहिलेकाहीँ…

रातको एकान्तमा

म पूरै भत्किन्छु।

 

तिमीलाई थाहा छ?

अस्ति जब घर ढल्दै थियो,

मलाई एकछिन यस्तो लाग्यो—

यदि तिमी यहीँ हुन्थ्यौ भने,

सायद म यति डराउँदिनथें।

 

किनकि—

म रुँदै तिम्रो काँधमा टाउको राख्थें,

र सबै सह्य हुन्थ्यो।

 

तर आज…

काँध छैन,

ओत छैन,

घर छैन—

केवल सम्झना मात्रै छ।

 

प्रिय—

केवल आँखा छन्,

जसले हरेक रात

तिमी फर्किने बाटो हेरिरहन्छन्।

 

तिमीले भनेका थियौ—

“म फर्केर आउँछु,

हाम्रो आफ्नै संसार बनाउँछु।”

त्यो वाक्य

मेरो जीवनको एक मात्र ओत थियो।

 

तर हिजो—

त्यो ओत पनि

माटोसँगै बिलायो।

 

कहिलेकाहीँ लाग्छ—

हामी बाँचिरहेका छौँ कि

केवल सास फेर्ने अभ्यास गरिरहेका छौँ?

 

यहाँ शासन फेरिन्छ,

झण्डा फेरिन्छ,

नाम फेरिन्छ—

तर हाम्रो पीडा

कहिल्यै फेरिँदैन।

 

तर यति धेरै अँध्यारोबीच पनि,

म अझै तिमीलाई कुर्दै छु।

किनकि—

यो उजाड संसारमा

एउटा मात्र उज्यालो बाँकी छ—

तिमी।

 

तिमी फर्केर आउँदा

सायद घर नहोला,

सायद भित्ताहरू नहोलान्—

तर म हुनेछु।

 

म अझै पनि तिमीलाई कुरीरहने छु—

भत्किएको घरको भग्नावशेषमाथि उभिएर,

धुलोले ढाकिएको,

अझै तिमीलाई गहिरो माया गर्दै

सपना टिपिरहने छु।

 

छिट्टै फर्केर आउनु, प्रिय—

नत्र यहाँको यो मौनताले

एकदिन मलाई नै निल्नेछ।

 

र त्यस दिन—

यो धुलोले

मेरो नामसमेत मेटाइदिनेछ…

 

र कसैले सोध्ने छैन—

“ऊ कहाँ हराई?”

 

उहीँ तिम्री—

डोजरमुनि पुरिएको घरसँगै,

आधा बाँचेकी, आधा हराएकी—

एक अपुरो देश—

अर्थात्,

डोजरमुनि पुरिएको सपना।

२०८४ बैशाख २४ गते ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.