Khulla Bichar Online

१२ वर्षदेखि अन्धकारमा दुई परिवार, महसुल तिर्छन् तर बत्ती बल्दैन

चुडामणि तिमल्सिना

 

काभ्रे, वेथानचोक।

काभ्रेपलाञ्चोकको वेथानचोक गाउँपालिका–१ का दुई परिवार विगत १२ वर्षदेखि विद्युत् सेवाबाट वञ्चित रहँदै आएका छन्। नियमित रूपमा विद्युत् महसुल तिर्दै आए पनि घरमा बत्ती नबल्दा उनीहरू अन्धकारमै जीवन बिताउन बाध्य भएका छन्।

स्थानीय रिमबहादुर तिमल्सिनाका अनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि उनको घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो। त्यसयता पटक–पटक सम्बन्धित निकाय, जनप्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन।

करिब ७० वर्षीय रिमबहादुर कान सुन्न नसक्ने र उनकी श्रीमती बोल्न नसक्ने अवस्थामा छन्। नेपाल विद्युत् प्राधिकरणले केही वर्षअघि घरसम्म पुग्ने गरी फलामे पोल गाडेको र विभिन्न स्थानमा तारसमेत तानेको भए पनि करिब ५०० देखि ७०० मिटर तार अभावका कारण हालसम्म विद्युत् जडान हुन नसकेको उनले बताए।

“मैले जाने–बुझेका सबैलाई आफ्नो समस्या सुनाएँ, तर कसैले समाधान गरिदिएनन्,” रिमबहादुरले भने, “हामीजस्ता सोझा नागरिकको कुरा कसैले सुन्दैनन् जस्तो लाग्छ।”

यस्तै समस्या सोही वडाको ताङ्ग्रे–माराङ्ग निवासी भरत तिमल्सिनाले पनि भोगिरहेका छन्। उनका अनुसार तीन वर्षअघि प्रयोगमा रहेको करिब ५०० मिटर तार जलेपछि विद्युत् सेवा बन्द भएको थियो। त्यसयता पटक–पटक अनुरोध गर्दा पनि पुनः जडान हुन सकेको छैन।

“छिमेकीका घरमा झिलिमिली बत्ती बलिरहेका छन्, तर हामी भने टुकी र मोबाइलको उज्यालोमा रात बिताउन बाध्य छौं,” भरतले दुखेसो पोख्दै भने, “धेरै पटक विद्युत् कार्यालयमा अनुरोध गरियो, तर समस्या समाधान भएन।”

स्थानीयवासीका अनुसार विद्युत् सेवाको पहुँच नहुँदा दुवै परिवारको दैनिक जीवन कष्टकर बनेको छ। उनीहरूले आवश्यक तार जडान गरी तत्काल विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउँदै वर्षौंदेखिको समस्या यथाशीघ्र समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.