Khulla Bichar Online

बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

रामेछाप- यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मार परेको छ । लगातारको वर्षाका कारण खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबान हुँदा किसानको वर्षभरिको मेहनत खेर गएको छ । पानीमा डुबेका धानको दाना बोटमै टुसाएका छन् । बोटमै टुसाएको दानाको चामल भातको लागि प्रयोग नहुने किसानहरुको भनाइ छ । यद्यपि किसानहरु अहिले त्यही पानीमा डुबेको धान भित्र्याउन जुटेका छन् । पानीमा डुबेर टुसाएको धान गाईवस्तुलाई खोले खुवाउनकै लागि भएपनि भित्र्याउनु परेको मन्थली नगरपालिका–७ भटौलीका किसान देवकी भुजेलले बताइन् । उनले भनिन् “धान बोटमै टुसाएको छ, टुसाएको धानको चामल टुक्रिएर कनिका हुन्छ, भात खान त मिल्दैन तर गाईवस्तुलाई खोले खुवाउन काम लाग्छ ।”

खेतमा सुकाएको धान पानीले डुबाएपछि उक्त धानलाई मुठा बनाएर ठड्याएर राखेकाले अलि छिट्टै सुकेको छ–उनले भनिन् ‘यो बुद्धि पानी परेको दुईदिन पछिमात्रै आयो, पानी पर्न थाल्दा नै बाला नभिज्ने गरी ठाडो पारेर राख्न पाएको भए पराल कुहिए पनि धान चाहिँ जोगिने रहेछ ।’ दुई दिनसम्म पानीमा डुब्यो त्यही भएर धान बोटमै टुसाउँदा काम नलाग्ने भएको छ, उनले भनिन् । अर्की किसान विष्णुमाया भुजेलले यस वर्षको धान खेतमै नष्ट भएकाले यो वर्ष अन्नको अनिकाल लाग्ने अवस्था आएको बताइन् । हाम्रो वर्षभरी खाने अन्न यही हो, यो पनि खेतमै नष्ट भएपछि के खाने ? यस वर्ष अन्न नकिनी सुख छैन, उनले भनिन् ।

पहिला काटेको धान खेतमै नष्ट भएसँगै फेरि पानी पर्ने हल्लाले किसानहरुलाई थप चिन्तित बनाएको छ । काटेर खेतमा सुकाएको धान बिटा लगाउन नपाउँदै पानीले डुबाएर खेतमै नष्ट भएपछि काट्न बाँकी धान तत्कालै काट्ने कि नकाट्ने भन्नेमा आफूहरु दोधारमा परेको किसान रामबहादुर खत्रीले बताए । धान नकाटौँ भने धेरै पाकेर दाना भुइमा झर्न थालिसक्यो, काटाँै भने फेरि पानी पर्छ भन्छन् उनले भने काटेर खेतमा सुताउँला पानी परेर फेरि त्यो पनि डुबायो भने के भित्र्याउने वर्षभरी के खाने हामी बडो दोधारमा परेका छौँ । कोहीकोहीले भने धान खेतमा नसुकाइ काटेकै दिन बिटा लगाउने तयारी गरिरहेको पनि अर्की किसान गोमा भुजेलले बताइन् ।

बेमौसमी वर्षाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । खाँडादेवी गाउँपालिकामा ६१ हेक्टर क्षेत्रफलमा ११४ मेट्रिक टन धान नष्ट हुँदा किसानलाई ३५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार रामेछाप जिल्लाभरी ८७ हेक्टर क्षेत्रफलमा १ सय ३९ मेट्रिकटन धान नोक्सान हुँदा ६० लाख रुपैयाँ बराबरको किसानलाई आर्थिक क्षति पुगेको कृषि विकास कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमोदप्रसाद दाहालले जानकारी दिए ।

। धान क्षति भएका किसानहरुलाई तत्कालै राहत प्रदान गर्नको लागि प्रक्रिया अघि बढाएको पनि कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
प्रदेशिक कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत कृषकलाई क्षतिको प्रतिरोपनी १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने व्यवस्था रहेको कार्यालय प्रमुख दाहालले जानकारी दिए । क्षतिपूर्ति पाउनको लागि अन्य निकायबाट राहत नपाएको र बिमा नगरेको हुनुपर्ने पनि दाहालले बताए ।

कृषि विकास कार्यालय रामेछापकाअनुसार रामेछाप जिल्लामा धान फल्ने ८ हजार ६ सय १५ हेक्टर क्षेत्रफल खेत मध्ये यस वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ गरिएको थियो । प्रति हेक्टर २.१७ मेट्रिकटन धान उत्पादन हुने रामेछापमा यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिएको थियो तर वर्षाले क्षति पुर्‍याएपछि धान घट्ने देखिएको छ ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.