
धुलिखेल (काभ्रेपलाञ्चोक), मंसिर २२,

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको आयोजना र बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको सहयोगमा आज धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता इकाई प्रमुख सबिता दङ्गालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिकबहादुर राई, विभिन्न शिक्षक सङ्गठनका अध्यक्षहरू चेतबहादुर लामा, भीमसेन हुमागाईं, शम्भु प्रसाद घिमिरे, खड्कप्रसाद सापकोटा तथा शिक्षा अधिकृत भोजकुमार ठकुरीलगायत रहनुभएको थियो।
काभ्रेका ११ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले तयार पारेका वैज्ञानिक मोडेल तथा परियोजनाहरूको प्रदर्शनी र प्रतिस्पर्धा भएको थियो। काठमाडौँ विश्वविद्यालयकी सह-प्राध्यापक डा. स्मृति गुरुङ संयोजक रहेको मूल्याङ्कन समितिले नतिजा घोषणा गर्नुभएको थियो।

प्रतियोगिताको नतिजा:
- प्रथम: सञ्जीवनी नमूना माध्यमिक विद्यालय, धुलिखेल (नगद रु. ६,००० र प्रमाणपत्र)
- द्वितीय: सेतीदेवी माध्यमिक विद्यालय, धुलिखेल-२ (नगद रु. ५,००० र प्रमाणपत्र)
- तृतीय: प्रभा माध्यमिक विद्यालय, चौंरीदेउराली गाउँपालिका (नगद रु. ४,००० र प्रमाणपत्र)
विजेता टिमहरूलाई प्रमुख अतिथि दीपककुमार गौतमले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो। अन्य सहभागी सबै विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रथम स्थान हात पारेको सञ्जीवनी नमूना माविले अब आगामी पुस महिनामा हेटौँडामा आयोजना हुने बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा काभ्रे जिल्लाको प्रतिनिधित्व गर्दै १३ वटै जिल्लासँग प्रतिस्पर्धा गर्नेछ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले विज्ञान र प्रविधिको युगमा विद्यार्थीको सिर्जनशीलता अभिवृद्धिका लागि यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। त्यस्तै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नगर शिक्षा शाखा प्रमुख डिकबहादुर राई र शिक्षक नेता भीमसेन हुमागाईंले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकहरूलाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो।
सहभागीहरूले विज्ञान प्रदर्शनीलाई अझ प्रभावकारी र व्यापक बनाउन बजेट वृद्धि तथा स्थानीय तहहरूको सक्रिय सहयोग अपरिहार्य रहेको सुझाव दिएका छन्। आयोजकका अनुसार विद्यार्थीहरूले देखाएको वैज्ञानिक सोच, सिर्जनशीलता र प्राविधिक दक्षता अत्यन्त प्रशंसनीय रहेको थियो।