

धुलिखेल, मंसिर २४। काभ्रेपलाञ्चोकको धुलिखेलमा अवस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोहको पहिलो चरण आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा कुल २,२०९ जना विद्यार्थी दीक्षित भएका छन्।

दीक्षित हुनेमा १७ देशका १९६ जना विदेशी विद्यार्थी समावेश छन्। यसमध्ये स्नातक तहका १,७२८, स्नातकोत्तरका ३९७, पीजीडीका ५० तथा पीएचडी, डीएम र एमसीएच तहका ७ जना रहेका छन्। लैङ्गिक हिसाबले ५२.२४ प्रतिशत पुरुष र ४७.७६ प्रतिशत महिला दीक्षित भएका छन्।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन र भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. धुलिपुडी पण्डित प्रमुख अतिथिको रूपमा सहभागी थिए। स्कूलअनुसार मेडिकल साइन्सेजबाट सबैभन्दा बढी ८८१, म्यानेजमेन्टबाट ३७८ र इन्जिनियरिङबाट ३४० जना दीक्षित भएका छन्।
यससँगै केयूबाट कुल दीक्षित हुनेको सङ्ख्या ५०,०४० पुगेको छ, जसमध्ये ५,८६० (करिब १२ प्रतिशत) विदेशी विद्यार्थी छन्। सबैभन्दा बढी भारतका ४,९७६ जना दीक्षित भएका छन्।
विश्वविद्यालयका अनुसार शैक्षिक सत्र २०८२/८३ मा विद्यार्थी सङ्ख्या १५.५ प्रतिशतले वृद्धि भएको छ भने विदेशी विद्यार्थीको आकर्षण पनि उल्लेख्य बढेको जनाइएको छ। दोस्रो चरणको दीक्षान्त आगामी जुन-जुलाईमा हुने बताइएको छ।