

नेपालगन्ज, बाँके ।
नेपाली कम्युनिस्ट पार्टी (ने.क.पा.) बाँकेले आज नेपालगन्जको ऐतिहासिक त्रिभुवन चोकमा भव्य जिल्ला स्तरीय एकता सन्देश सभा सम्पन्न गरेको छ। हजारौँ जनताको उत्साहजनक सहभागिताबीच सम्पन्न यो सभाले जिल्लामा पार्टीको बढ्दो जनआधार र संगठनात्मक शक्ति स्पष्ट रूपमा उजागर गरेको छ।

कांग्रेस र एमालेबाट दर्जनौँको प्रवेश
सभाको केन्द्रमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अजय पुन (गोपल) सहित कांग्रेस र नेकपा (एमाले)का दर्जनौँ नेता–कार्यकर्ताहरूको पार्टी प्रवेश रहे। उनीहरूले आफ्ना समर्थकसहित ने.क.पा.को झण्डामुनि एकीकृत हुने घोषणा गरेपछि सभास्थलमा उत्साहजनक माहोल सिर्जना भएको थियो।
पार्टीमा प्रवेश गर्ने सबैलाई ने.क.पा.का प्रमुख नेताहरूले बधाई तथा स्वागत गर्दै कम्युनिस्ट आन्दोलन मजबुत बन्दै गएको टिप्पणी गरे।
नेताहरूको धारणा : “ने.क.पा. अबको राष्ट्रिय शक्ति”
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रमुख नेताहरूले देशको वर्तमान राजनीतिक जटिलता, आर्थिक अवस्था र पार्टीको आगामी योजनाबारे धारणा राखे।
एक वरिष्ठ नेताले भने,
“जनताको विशाल उपस्थिति र अन्य पार्टीबाट भएका प्रवेशहरूले नेपाली कम्युनिस्ट पार्टी नै अबको राष्ट्रिय शक्ति हो भन्ने प्रमाणित गरेको छ।”
उनीहरूले नवप्रवेशीहरूलाई जिम्मेवारीपूर्वक जनताको पक्षमा उभिन आग्रह गर्दै समग्र परिवर्तनको यात्रामा ऐक्यबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

बाँकेको राजनीतिमा नयाँ सन्देश
त्रिभुवन चोकमा उर्लिएको जनसागरले बाँकेमा ने.क.पा.ले निर्णायक स्थान ओगट्दै गएको स्पष्ट संकेत दिएको छ। जनस्तरमा देखिएको उत्साह र अन्य दलका कार्यकर्ताको निरन्तर प्रवेशले जिल्लाको राजनीतिक समीकरण परिवर्तनतर्फ उन्मुख भएको विश्लेषकहरूले बताएका छन्।