

२७ मंसिर, काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यही पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य ‘एकता सन्देश सभा’ गर्ने तयारी तीव्र पारेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले शीर्ष नेतृत्वको उपस्थितिमा उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका केन्द्रीय नेताहरू सभा कार्यक्रममा सहभागी हुने छन्।
बागमती, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीहरूको आयोजनामा हुने उक्त कार्यक्रमलाई व्यापक जनस्तरसम्म पुर्याउने उद्देश्यले विभिन्न जनवर्गीय संगठनलाई व्यवस्थापन तथा तयारीमा जुटाइएको पार्टी नेताहरूले बताए। देशभर एकताको सन्देश प्रवाह गर्दै आएकाे नेकपाले वाम ध्रुवीकरण र कम्युनिस्ट शक्तिबीच एकताको प्रक्रिया औपचारिक सुरुआत गरिसकेको जनाएको छ।


यसैबीच मंसिर २७ गते काभ्रे जिल्लास्तरीय बैठक सम्पन्न भएको छ। आगामी सभालाई सफल बनाउन व्यापक जनपरिचालन तथा तयारीका एजेन्डासहित बसेको उक्त बैठकमा पूर्व माओवादी पोलिटब्युरो सदस्य हितबहादुर तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, सचिव इन्द्र बहादुर थिङ ‘छिन्ताङ’, नेता सुर्यमान दोङलगायत नेताहरूको उपस्थिति थियो।
बैठक जिल्ला संयोजक भोला अर्यालको अध्यक्षता तथा दैबलाल घिसिङको संचालनमा सम्पन्न भएको हो। जिल्लामा संगठनगत तयारी मजबूत गर्दै पुस ५ गतेको भृकुटीमण्डप सभामा काभ्रेबाट उल्लेख्य उपस्थितिकाे सुनिश्चितता गर्ने निर्णय बैठकले गरेको छ।