Khulla Bichar Online

पुस ५ गते राजधानीमा नेपाली कम्युनिस्ट पार्टीको विशाल एकता सभा, भब्य तयारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राजधानी काठमाडौंमा विशाल एकता सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १६ वाम दल, घटक र समूहबीच एकता भएर बनेको पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्न लागेको हो ।
पार्टीका बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त आयोजनामा सभा हुन लागेको हो ।
एकतापछि देशव्यापी रूपमा प्रदेशस्तरीय सभाहरू गर्ने अभियानकै निरन्तरतामा यो सभा आयोजना गर्न लागिएको माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बताए । उनका अनुसार बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाबाट नेता–कार्यकर्ताहरू सहभागी हुनेछन् ।
उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । करिब १ लाख जनाको सहभागिता रहने दाबी गरिएको छ ।
सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी ‘विवेक’ले राजधानीमा रहेका सबै प्रदेशका नेता–कार्यकर्ताको सहभागिता सुनिश्चित गरिएको बताए ।
नेपाली कम्युनिस्ट पार्टीले धनगढीबाट सुरु गरेको एकता सभा अभियान दाङ, पोखरा, जनकपुर, विराटनगर र सुर्खेतमा सम्पन्न भइसकेको छ । ती सभाहरूमा हजारौँ जनसमुदायको उपस्थिति हुनुका साथै हजारौँ युवा तथा ‘जेन्जी’ पुस्ता पार्टीमा प्रवेश गरेका थिए ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.