Khulla Bichar Online

काभ्रेको वाल्टिङस्थित पञ्चकन्या माविको ७६औँ वार्षिकोत्सव सम्पन्न

वाल्टिङ /काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० वाल्टिङमा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ७६औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ।

बुधबार आयोजित कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा प्रमुख अतिथि रहेका थिए। उनले विद्यालयको उन्नति–प्रगतिका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि विद्यालय भवन निर्माण तथा कुण्डचौर सरसफाइजस्ता कामलाई अघि बढाइने बताए। उनले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूलाई निर्देशन दिँदै आवश्यक सहयोगका लागि गाउँपालिका सधैँ तयार रहेको बताए।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेका अनुसार २००६ सालमा चण्डी पाठ र गीता पाठ शिक्षणबाट सुरु भएको यस विद्यालयमा हाल २५३ जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा रोशी-१० का वडासदस्य एकरत्न घलान, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सापकोटा, वडासचिव पार्वती विक, पूर्व अध्यक्ष सेमन्तराज सापकोटालगायतले शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा उत्कृष्ट विद्यार्थीहरू तथा वार्षिकोत्सवका खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार, मेडल र ट्रफी प्रदान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न नृत्य, गीत र सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुधराज घलानको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक सापकोटाले गरेका थिए।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.