Khulla Bichar Online

३०औँ बेथान वीरता दिवस भव्य रूपमा सम्पन्न

रामेछाप । ३०औँ बेथान वीरता दिवस शनिबार सुनापती गाउँपालिका–४ वेथानस्थित पानीघाटमा भव्य रूपमा सम्पन्न भएको छ। चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देव शंकर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमका विशेष अतिथिहरूमा बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, प्रदेशसभा सदस्य युवराज चौलागाईं र संविधानसभा सदस्य डिल्लिमान तामाङ रहनुभएको थियो। साथै सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान (मदन), नेकपा नेता धावा लामा, अनुप गजुरेललगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले जनयुद्धकालमा रामेछापमा पोखिएको रगतको ऐतिहासिक महत्व उल्लेख गर्दै बेथान जनयुद्धको प्रारम्भिक फौजी कारबाही भएको स्थान भएको बताउनुभयो। उहाँले सहिदहरूको सम्मान गर्दै सरकारले सहिदहरूको वैज्ञानिक वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथि तारानारायण श्रेष्ठले ३० वर्षअघि बेथानमा भएको फौजी कारबाहीमा सरकार पक्षका २ र माओवादी पक्षका ३ जनाको ज्यान गएको स्मरण गर्दै जनयुद्धकै बलिदानबाट राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो। प्रदेशसभा सदस्य युवराज चौलागाईंले सहिद तिर्थबहादुर गौतम, फत्तबहादुर स्यालामी मगर र दिलमाया बम्जनको बलिदानले जनयुद्ध निर्णायक मोडमा पुगेको उल्लेख गर्नुभयो।

संविधानसभा सदस्य डिल्लिमान तामाङले सहिदहरूको रगतकै बलिदानबाट नेपाल गणतन्त्रसम्म आइपुगेको स्पष्ट पार्नुभयो।

जनयुद्धकालीन २०५३ साल पुस १९ गते तत्कालीन नेकपा माओवादीले बेथान प्रहरी चौकी कब्जा गरेको दिनको स्मरणमा माओवादी केन्द्रले प्रत्येक वर्ष वीरता दिवस मनाउँदै आएको छ। सो घटनामा माओवादीका तीन जना र नेपाल प्रहरीका दुई जनाले ज्यान गुमाएका थिए। सहिदहरूको सम्झनामा पानीघाटमा अर्धकदको शालिक र स्मृति पार्क निर्माण गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.