Khulla Bichar Online

चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको एकताको सन्देश सभा सम्पन्न :जनतासँग जोडिने संकल्प

काभ्रेपलाञ्चोक । इतिहासले पटक-पटक विद्रोह र चेतनाको साक्षी बनेको चौंरीदेउराली गाउँपालिका फेरि एकपटक राजनीतिक सन्देशको केन्द्र बनेको छ। जनयुद्धकालमा ‘पूर्वको ऐनान’ भनेर चिनिएको यस भूगोलबाट शनिबार कम्युनिस्ट आन्दोलनलाई पुनः जरा फर्काउने सशक्त आवाज उठेको छ।

ढाँडखर्क भञ्ज्याङमा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी चौंरीदेउराली गाउँपालिका समिति र अखिल नेपाल शिक्षक संगठन चौंरीदेउराली समितिको उद्घाटनसँगै पार्टी एकता सन्देश सभा सम्पन्न भयो।

नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेश समिति सदस्य तथा गाउँपालिका ईन्चार्ज कमरेड तेज पन्तको अध्यक्षतामा सम्पन्न उक्त ऐतिहासिक सभामा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सदस्य, पूर्व युवा तथा खेलकुद मन्त्री एवं बागमती प्रदेश सभाका प्रमुख सचेतक माननीय कमरेड रत्न प्रसाद ढकाल रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्यहरू कमरेड दीननाथ गौतम ‘प्रयास’, मुकुन्द गौतम, केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समन्वय समिति अध्यक्ष दीपक गौतम, संविधान सभा सदस्य एवं गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, केन्द्रीय सल्लाहकार विष्णु प्रसाद गौतम ‘अडिग’, केन्द्रीय सदस्यहरू पासाङ डोल्मो लामा र यशु लामा सहभागी रहनुभएको थियो। साथै युवा पुस्ता (Gen Z) बाट प्रमी तामाङ र विद्यार्थी नेता गणेश गौतमले ओजपूर्ण मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम संगठन विस्तारको औपचारिकतामात्र नभई विभाजित कम्युनिस्ट आन्दोलनलाई पुनः जनताको भरोसासँग जोड्ने राजनीतिक प्रतिबद्धताका रूपमा प्रस्तुत गरिएको गाउँपालिका ईन्चार्ज पन्तले बताउनुभयो।

सभाका वक्ताहरूले विगतका कमजोरी स्वीकार गर्दै अब आन्दोलनलाई सत्ता केन्द्रित होइन, जनजीवन केन्द्रित बनाउने आवश्यकता औंल्याए। जनतासँग टाढिँदै गएको राजनीतिलाई पुनः गाउँ, बस्ती र श्रमिकको दैनिकीसँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

विभिन्न वडाबाट स्वतःस्फूर्त रूपमा सहभागी कार्यकर्ता तथा स्थानीयको उपस्थितिले चौंरीदेउरालीमा राजनीतिक चेतना मरेको छैन, बरु नयाँ दिशाको खोजीमा रहेको देखाएको छ। कार्यक्रमले यही सन्देश दिएको छ, एकता संगठनको नाम होइन, जनविश्वास पुनः जित्ने संघर्ष हो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.