
• राजीब माेक्तान तामाङ

नेपालकाे संविधानले देशलाई बहुजातीय,बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र घोषणा गरेको छ। तर व्यवहारमा हेर्दा यो घोषणा कागजमै सीमित देखिन्छ। यसको ज्वलन्त उदाहरण : तामाङ समुदायको सास्कृतिक पर्व ल्होछार प्रति राज्यले निरन्तर गरेकाे बिभेद हाे।
नेपालकै सबैभन्दा पुराना आदिवासी समुदाय तामाङ समुदायको सांस्कृतिक पर्ब (नयाँ वर्ष) ल्होछार आउँदा राज्यले बडो मुस्किलले एक दिन बिदा दिन्छ। उता काल्पनिक मिथक संग जाेडिएका दशैं-तिहारमा भने महिनाैं सार्वजनिक बिदा पाउँछन्। सेवा सुबिधा पनि पाउछन् । याे बर्षकै कुरा गर्ने हाे भने,विद्यालयहरू घटस्थापनादेखि छठसम्म अधिकांश करिब ४५दिन बन्द भए । बिदा हरेक स्थानीय सरकारकाे फरक देखिन्छ । यो संयोग होइन, यो राज्यको सांस्कृतिक विभेदको खुला प्रमाण हो।
संविधानले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको दुई दशक बितिसक्दा पनि दशैंलाई मात्र “राष्ट्रिय पर्व” का रूपमा संस्थागत गरिएको छ। राज्य ठप्प पार्ने, बजेट बगाउने र शक्ति प्रदर्शन गर्ने पर्व दशैं बन्छ, तर ल्होछार भने “एउटा समुदायको चाड” भनेर किनारामा धकेलिन्छ। प्रश्न उठ्छ, के धर्मनिरपेक्ष राज्यमा एउटा पर्व मात्रै राष्ट्रिय हुन्छ? एउटा मात्रै चाड राष्ट्रिय हुन्छ?
दशैंमा राज्यको ढुकुटी खुल्छ। हजारौँ शक्तिपीठ, प्रहरी चौकी र आर्मी ब्यारेकसम्म पशुबलि दिइन्छ। करोडौँ रुपैयाँ खर्च हुन्छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि पियनसम्मले राष्ट्रिय मिडिया देखि स्थानीय मिडिया सम्मलाई शुभकामनाकाे बाढी नै बगाउँछन्। सिंहदरबारदेखि सितल निवाससम्म चियापान र भोज चल्छ। तर ल्होछारमा राज्य मौन हुन्छ। न बजेट, न शुभकामना, न सम्मान,न त कुनै कार्यक्रम । याे बिभेदकाे अर्को प्रमाण हाे।
विडम्बना अझ गहिरो छ। डम्फुको प्रतीक चिन्ह भएका क्वार्ताङ टोपी लगाएर सत्तामा पुगेका तामाङ नेताहरू समेत ल्होछारमा ५ दिन बिदा दिन डराउँछन्। ४५ दिन बिदा दिन सक्ने स्थानीय सरकारले ल्होछारमा ५ दिन बिदा दिन किन सक्दैन?
यो कुनै दशैंविरोधी आवाज होइन। कसैको आस्थामाथि प्रहार गर्ने उदेश्य पनि होइन। दशैंलाई व्यक्तिगत वा सामुदायिक धार्मिक पर्वका रूपमा मनाउनुमा कुनै आपत्ति छैन। मनाउनुपर्छ पनि, किनभने कसैको आस्थामाथि आघात हुनु हुँदैन।तर दशैकाे नाममा राज्यसत्ता कब्जा गर्नु न्याय होइन। चोट लागेको मानिसले बिबेक गुमेकाे छैन भने“ऐया” भन्छ, भन्न पाउँछ,कुटिरह्याे भने प्रतिरोध गर्छ,मलम माग्नु अधिकार हो।
यदि नेपाल साँच्चिकै गणतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र हो भने, राज्यले सबै संस्कृतिलाई समान व्यवहार गर्नैपर्छ। दशैं ५ दिन बिदा भए ल्होछार पनि ५ दिन बिदा हुनुपर्छ। अन्य सबै महत्त्वपूर्ण चाड पर्व बिदा ५ दिनकाे हाेस।
ल्होछारलाई नेपालकै राष्ट्रिय सांस्कृतिक पर्व का रूपमा पुनःस्थापित गर्नुपर्छ। आवाज बुलन्द गराैं।५दिन बिदा दिन कन्जुस्याइँ नगराैं।