
काभ्रे। जाडोको चिसो बिहान रोशी गाउँपालिका-४ माटे स्थित नागदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानोपन बोकेर शिक्षक क्षेत्र तामाङ विद्यालय परिसर पुग्नुभएको छ। उहाँले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै ट्र्याकसुट, स्वेटर, झोला लगायत शैक्षिक सामग्री वितरण गर्नुभयो।


विद्यालयमा आयोजित कार्यक्रममा रोशी गाउँपालिका-४ का वडा अध्यक्ष तेजबहादुर शिक्षकले शिक्षक तामाङको सामाजिक योगदानको प्रशंसा गर्दै शिक्षकहरू समाज परिवर्तनका अग्रणी पात्र भएको उल्लेख गर्नुभयो। प्रधानाध्यापक दिलबहादुर लामाले ग्रामीण विद्यालयमा यस्ता सहयोगले शैक्षिक सुधार र विद्यार्थीको आत्मविश्वास बढाउने बताए।


विगत तीन-चार वर्षदेखि ग्रामीण विद्यालयहरूमा निरन्तर शैक्षिक सामग्री सहयोग गर्दै आएका शिक्षक तामाङले शिक्षकको दायित्व कक्षाकोठाभन्दा बाहिर पनि रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरूले शिक्षक तामाङलाई खादा, माला र सम्मानपत्रसहित सम्मान गरेका थिए।
कार्यक्रमले शिक्षक केवल पढाउने व्यक्ति मात्र नभई समाजलाई न्यानोपन बाँड्ने मौन अभियन्ता पनि हुन् भन्ने सन्देश दिएको छ।