
हाम्रो गाउँ–घर तिर ल्होछारसोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व
• ईमान सिं याेञ्जन(गुँरास)

१) एउटा कठोर यथार्थ
एकल धर्म-संस्कृतिलाई ‘राष्ट्र’को नाममा थोपर्ने शासन र बाँकी संस्कृतिहरूलाई किनारामा थन्क्याउने राज्यको नीति। यसले ल्होछारलाई मैले बाल्यकालमा महसुस गरेको जति स्वतन्त्र, उति नै सार्वजनिक रूपमा भने दबाइदिएको थियो। गाउँमा डम्फु, गीत–नाच “छुपाइएको संगीत” बन्यो।किनकि हाम्रो पर्वलाई ‘मुख्य’ होइन, ‘जनजातिको चाड’ भन्दै पाखा लगाइन्थ्यो।

स्कूलका पुस्तकमा हाम्रो चाडको नामसमेत नआउने, मिडियामा केही सेकेन्डको औपचारिक शुभकामना बाहेक केही नदेखिने। नेपालीपनको परिभाषा अरूले लेखिदिने-यी सबै कारणले ल्होछार मेरो मनमा गर्वभन्दा पहिल्यै ‘पीडा’को शब्द बनेर अंकित भयो। हो, त्यसैले सानैमा मैले अनुभूत गर्ने खालको पूर्ण, खुला, नडराई मनाउने ल्होछार म पाएनँ। घरभित्र मनाउन पाइने तर बाहिर बोल्न नपाइने त्यो संस्कृति मनभित्र कुँडिन्थ्यो।
तर गणतन्त्र आएपछि पहिलोपटक लाग्यो। अब त यो देश हामी सबैको पनि हो। धेरै दशकदेखि थिचिएको हाम्रो भाषा, हाम्रो नाच, हाम्रो पहिरन, हाम्रो ल्होछार पहिलोचोटि खुला आकाशमा श्वास फेर्न पायो।
लामा गुरुको आशीर्वाद खुलेआम लिन पाइयो। डम्फुको ताल ठूला स्पिकरमा बज्न थाल्यो। सडकमा सेलो नाच्दा कसैलाई डर लागेन। हामीलाई चाड मनाएको अपराध ठानिएन।
यही स्वाभिमानले ल्होछार फेरि मेरो जीवनमा पूर्ण रूपमा फर्कियो। अब ल्होछार केवल चाड मात्र होइन।पहिचान पुनःप्राप्तिको दस्तावेज हो, दमनबाट बचेको संस्कृतिको पुनर्जागरण हो, र समावेशी नेपालको सपना पूरा हुँदै गएको प्रतीक पनि हो।
२) राज्यको उपेक्षामा परेको ल्होछार
नेपाललाई बहुजातीय-बहुभाषिक राष्ट्र भनिए पनि व्यवहारमा सबै संस्कृतिलाई समान सम्मान दिने अभ्यास धेरै वर्षसम्म अपूरो रह्यो।
यस्ता उपेक्षामा परेकामध्ये तामाङ समुदायको मुख्य चाड सोनाम ल्होछार प्रमुख उदाहरण हो। विगतका दशकहरूमा यसलाई ‘जनजातिको मात्र चाड’ भनेर सानो बनाइयो, राष्ट्रिय स्पेसबाट टाढा सारियो र सांस्कृतिक पहिचान कमजोर पारियो।

तामाङ भाषा र संस्कृतिमाथिको दीर्घकालीन अवहेलना स्पष्ट देखिन्छ। तामाङ भाषा प्रशासनिक भाषामा दर्ता गरिएन। विद्यालयमा मातृभाषाका कक्षा व्यवस्थित रूपमा सञ्चालन भएनन्। सरकारी कागजपत्र, अदालती प्रक्रिया र मिडियामा भाषा ओझेलमा रह्यो।
बौद्ध धर्म, डम्फु कला, सेलो नाच, पारम्परिक पहिरन—यी सबैलाई राष्ट्रिय पहिचानको अंगका रूपमा समेटिएन। यसरी संस्कृतिको अवहेलनाले समुदायको आत्मसम्मानमा गहिरो चोट पुर्यायो। बालबालिकाले पाठ्यपुस्तकमै आफ्नो चाडको नाम नदेख्दा पहिचान कमजोर हुँदै गयो।
राज्य संरचनाको एकमुखी दृष्टिकोणका कारण ल्होछारलाई राष्ट्रिय चाड होइन, टोल-छिमेकको चाड भन्दै सानो बनाइयो।
३) जनयुद्धसँगै पुनर्जीवित भएको ल्होछार
देश आन्दोलन र द्वन्द्वमा डुबिरहेको समय-जनयुद्धका कालखण्डमा-तामाङ समुदायले आफ्नो पहिचानबारे अझ सशक्त आवाज उठायो। संघर्ष र राजनीतिक चेतनाले समुदायभित्र पहिचानको प्रश्न गहिरो रूपमा उठ्यो।
यतिबेला ल्होछारले चाडको रूप मात्र होइन, पहिचानको हक, समानताको माग र सांस्कृतिक पुनर्जागरणको रूप लिन सुरु गर्यो। समुदायले महसुस गर्यो । हाम्रो चाड बचाउनु भनेको हाम्रो पहिचान बचाउनु हो।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो। ‘ल्होछार’ भन्नुको अर्थ नै नयाँ वर्ष हो।
४) संघीय गणतन्त्रमा ल्होछार
संघीय गणतन्त्र आएपछि सांस्कृतिक समानताको आवाज पहिलेभन्दा बलियो भयो। तर अझै पनि संरचनागत सुधार आवश्यक छ।किन यसलाई राष्ट्रिय चाडको हैसियत दिनुपर्छ?
नेपाल बहुसांस्कृतिक राष्ट्र हो। एक संस्कृतिले राष्ट्र बन्दैन। सबै जाति-समुदायका चाड राष्ट्रकै चाड हुन्। सांस्कृतिक समानताले राष्ट्रिय एकता मजबुत हुन्छ। ल्होछारमा पर्यटकीय सम्भावना पनि अत्यधिक छ।के गर्नुपर्छ?सरकारी स्तरमा निरन्तर राष्ट्रिय बिदा र औपचारिक शुभकामना।विद्यालयका पाठ्यपुस्तकमा ल्होछार, तामाङ इतिहास र संस्कृति समावेश।राष्ट्रिय मिडियामा समान प्रतिनिधित्व।स्थानीयदेखि संघीय तहसम्म सम्मानपूर्वक समारोह।
समापन : पहिचानको उज्यालो ल्होछार
सोनाम ल्होछार नेपालकै सांस्कृतिक बगैंचामा फुल्ने सुन्दर फूल हो। यसलाई जनजातिको मात्र चाड भनेर सीमित पार्नु इतिहासकै ठूलो भूल हो। आज समय बदलिएको छ। पहिचान, समानता र सम्मानका आवाज बलिया बनेका छन्।तामाङ समुदाय उठिरहेको छ, बोलिरहेको छ, लेखिरहेको छ, गर्वका साथ आफ्नो चाड मनाइरहेको छ।जुन समुदाय आफ्नो चाड बचाउन सक्छ,उसको पहिचान कहिल्यै हराउँदैन।