Khulla Bichar Online

‘ल्होछार’ शब्द लेखन प्रारम्भ

तामाङहरूले ‘ल्होसार’ लाई ‘ल्होछार’ भन्न थालेको वि.सं. २०४५ देखि हो। तामाङ गाउँघरमा ल्होसार ‘ल्हो’ गणना पद्धतिको रूपमा सिमित थियो, आजको जस्तो चाडको रूपमा विकास भइसकेको थिएन। ‘ल्हो’ बाह्रवटा जीवजन्तुमा आधारित चिनियाँ-तिब्बती भाषिक समुदायको गणना पद्धति हो।

एउटा फ्रान्सेली अध्ययन टोलीसँग २०३९ को अशोजमा म नुवाकोटको साल्मेमा पुगेर स्थानीय संस्कृति र चाडपर्वको अध्ययन गर्दा स्थानीयहरूले ‘ल्होसार’ लाई चाडको रूपमा मनाउने गरेको थाहा पाएँ। देशविदेशमा पुगेकाहरूसमेत ल्होसार मनाउन आइपुग्छन् र ४-५ दिनसम्म हर्षोल्लासका साथ मनाउँछन् भनेर उनीहरूले मलाई ल्होसार मनाउन माघे सङ्क्रान्तिमा आउनका लागि निम्तो दिएका थिए।

    मैँले ल्हो गणना र ल्होसार चाडसम्बन्धी जानेका सुनेकाहरूलाई लेख लेख्न लगाएँ र स्योम्हेन्दो अङ्क ७ मा ‘ल्होछार विशेषाङ्क’ नै निकालेँ। ‘ल्होसार’को तामाङीकरण गरेँ- ‘ल्होछार’। ‘छार’ अर्थात् नयाँ। ‘सार’ शब्दको तामाङ उच्चारण ‘छार’ हुन्छ। ‘ल्होछार’ शब्दको लेख्य-स्रोत खोज्न अमृत योन्जनद्वारा सम्पादित स्योम्हेन्दो को ‘ल्होछार विशेषाङ्क’ अङ्क ७ (माघ, २०४५) सम्म पुग्नै पर्छ।

    स्रोत भाषालाई स्थानीयकरण गर्नु लक्ष्य भाषाको विशेषता हो। यो भाषाको गतिशिलता पनि हो। स्थानीयकरणले गर्दा नै ल्होखोरको ‘चरा’ चिनिया भाषामा ‘रोस्टर’ (भाले) हुन गयो। ‘खरायो’ लाई तामाङहरूले ‘तावार’ (बिरालो), ‘ड्रागन’लाई ‘मु’ (आकास) वा ‘तिप्लिङ’ (बिजुली) भन्न थाले। स्थानीकरण आफ्नो परिवेशको परिचित वस्तुसँग हुन्छ। भाषिक समुदायलाई आफ्नोपना ‘ओनरसिप’ अनुभुत गराउँछ।

    भारतीय बौद्ध पण्डितका अधिकांश नामहरू चीन पुगेपछि चिनियाकरण र तिब्बत पुगेपछि तिब्बतीकरण भएका छन्। कतिपय मूल भाषाको शब्दको ध्वनि अर्को भाषामा नहुँदा पनि नयाँनयाँ शब्द बनेका हुन्छन्। संस्कृत भाषाको ‘पद्म’ (कमलको फूल) शब्द तिब्बतीहरूका लागि उच्चारण जटिलताले गर्दा तिब्बतीमा ‘पेमा’ हुन गयो (व्यञ्जन संयुक्तमा स्वर वर्णको प्रवेश)। अङ्ग्रेजी भाषाको ‘ग्लास’ शब्द नेपालीमा ‘गिलास’ बन्यो, ब्लाउज- बुलुज। स्थानीयताकै कारणले कतिपय वाह्य वस्तुमा स्थानीयवस्तु पनि जोडिन्छ, जस्तै ‘क्यापटोपी’, ‘बुटजुत्ता’, ‘ब्याकझोला’, ‘व्यपारबिजिनेस’। यस्ता सयौँ उदाहरण नेपाली भाषामा नै पनि पाउन सकिन्छ।

    अर्को कुरा के पनि हो भने ध्वनिविज्ञानमा /स/ र /छ/ वर्ण अन्तर-परिवर्तनीय हुन्छ। सिन्धुली महाभारत लेकका तामाङहरू पनि /स/ वर्णको प्रयोग गर्दछन्- ‘छार्बा म्हेन्दो’लाई ‘सार्बा म्हेन्दो’ भन्छन्।

(लेखक योन्जन–तामाङ भाषा आयोगका पूर्व सदस्य हुन् ।)

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.