
खानीखाेला काभ्रे /न्यानो कपडा वितरण अभियान अन्तर्गत खानीखोला गाउँपालिका–६ बाँसपुर आधारभूत विद्यालयका नानीबाबुहरुलाई ट्रयाकसुट, झोला र टोपी वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक योगेन्द्र पुलामी मगर र तिब्बत दर्लामी मगरले सामाजिक सञ्जालमा विद्यालयको अवस्थाबारे स्टाटस लेखेपछि वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बाको पहलमा तत्काल सहयोग अभियान सुरु गरिएको हो ।


उक्त अभियानका लागि बाँसपुरकै नवराज तितुङ, प्रमिला तितुङ र भिम बोम्जनबाट आर्थिक सहयोग जुटाइएको थियो भने अपुग रकम समाजसेवी अविरल जिम्बाबाट प्राप्त भएको थियो । विद्यार्थीहरुलाई वितरण गरिएका झोला भने पाँचखाल निवासी सूर्यबहादुर तामाङ, दैवलाल घिसिङ र राजन अधिकारीले उपलब्ध गराउनु भएको हो ।

सोही दिन खानीखोला–२ स्थित जनशक्ति आधारभूत विद्यालय ढोकामा पनि ट्रयाकसुट र झोला वितरण गरिएको छ । उक्त विद्यालयका लागि ट्रयाकसुट वडा नं. २ सार्किडाँडाका युवा समाजसेवी भिम घिसिङले सहयोग गर्नु भएको हो भने झोला पाँचखाल निवासी सूर्यबहादुर तामाङले प्रदान गर्नु भएको हो । यस सम्पूर्ण कार्यमा दैवलाल घिसिङको प्रमुख समन्वय र पहल रहेको थियो ।
त्यसैगरी खानीखोला–६ शारदा माध्यमिक विद्यालय देउरालीमा यस वर्ष विद्यालयमै बसेर एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि चामल, दाल,नुन, मसला,साबुन लगायत खाद्यन्न सामग्री सहयोग गरिएको छ । उक्त खाद्यन्न वडा नं. ६ का रमेश थोकर र रोहन अधिकारीको सहयोगमा संकलन गरिएको हो भने राजन अधिकारीले मुख्य समन्वयकर्ता भएर अभियान अघि बढाउनु भएको हो ।

एकै दिन तीन वटा विद्यालयमा न्यानो कपडा तथा खाद्यन्न वितरण कार्यक्रम युवा सामाजिक व्यक्तित्व दैवलाल घिसिङ (अनुशील) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा राजन अधिकारी, वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बा, सृजना थिङ तथा विरेन ब्लोन (निमा) को उपस्थिति रहेको थियो ।
