
राजनीतिक पहिचान

दिननाथ गौतम (क. प्रयास) नेपाली कम्युनिस्ट आन्दोलनका प्रतिबद्ध, सङ्घर्षशील, निडर र वैचारिक नेता हुन्। विद्यार्थी आन्दोलनको मोर्चाबाट राजनीतिक यात्राको सुरुवात गरेका उनले पाँच दशकभन्दा लामो निरन्तर सङ्घर्षमार्फत जनपक्षीय राजनीति, सामाजिक रूपान्तरण र परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
निर्वाचन उम्मेदवारी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट दिननाथ गौतम उम्मेदवार बनेका छन्। लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय उनकाे राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि जनयुद्ध, भूमिगत जीवन, यातना र लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म फैलिएको छ।
जन्म र शिक्षा
वि.सं. २०१७ सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा जन्मिएका गौतम निम्नवर्गीय किसान परिवारमा हुर्किएका हुन्। स्नातक तहसम्म अध्ययन गरेका उनी २०३३ सालदेखि विद्यार्थी संगठनमा सक्रिय भए।
शिक्षक पेशा र आन्दोलन
२०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनले सोही वर्ष विकट क्षेत्र नाग्रेगगर्चेको खाँडादेवी माध्यमिक विद्यालयबाट शिक्षक पेशा सुरु गरेका थिए। पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाएकै कारण २०४४ सालमा शिक्षक जागिरबाट बर्खास्त गरिएका उनी २०४६ सालको जनआन्दोलनपछि पुनःस्थापित भई स्थायी शिक्षक बने।
जनयुद्ध र भूमिगत संघर्ष
नेकपा (मशाल) हुँदै पार्टी सदस्य, एरिया सेक्रेटरी तथा २०४८ सालको एकता सम्मेलनपछि जिल्ला सदस्य र क्षेत्रीय सदस्य जिम्मेवारी सम्हाल्दै उनले २०५२ सालमा स्थायी जागिर त्याग गरी जनयुद्धकाे पहलकदमी लिदै पूर्णकालीन रूपमा भूमिगत जीवन रोजेका थिए। २०५३ साल पुस १९ गते पुर्बकाे सफल फाैजी माेर्चा बेथान मोर्चामा कमान्डर तिर्थ गाैतमकाे शाहदत हुँदा पनि, सह–कमाण्डरकाे हैसियतले माेर्चा सम्हाल्दै मोर्चालाई सफल बनाएका थिए।
बेपत्ता, यातना र पुनः संघर्ष
काभ्रे–रामेछाप जिल्ला सेक्रेटरी, सोलु–ओखलढुंगा जिल्ला सेक्रेटरी तथा इन्चार्जको भूमिका निर्वाह गर्ने क्रममा २०५६ साल श्रावण २५ गते तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका गौतम १६ महिना सेनाको नियन्त्रणमा रहँदै चरम यातना सहन बाध्य भए। २०५७ साल कात्तिक १८ गते शान्ति वार्ताको वातावरण निर्माण गर्ने उद्देश्यले तत्कालीन शेरबहादुर देउवा सरकारद्वारा रिहा भएपछि उनी पुनः जनयुद्ध र जनआन्दोलनमा सक्रिय हुँदै विभिन्न जिम्मेवारी सक्रिय बने।
नेतृत्व र जनप्रतिनिधि भूमिका
काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र दोलखालगायत जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गौतममाथि २०५८ र २०५९ सालमा ‘रेड कर्नर नोटिस’ जारी गर्दै टाउकोको मूल्यसमेत तोकिएको थियो। २०६५ सालमा काभ्रे जिल्ला अध्यक्ष, सह–इन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनले २०७४ देखि २०७९ सम्म चौंरीदेउराली गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्षका रूपमा कार्यकाल सफलतापूर्वक पूरा गरेका थिए।
वर्तमान अभियान
लामो राजनीतिक सङ्घर्ष, त्याग र अनुभव बोकेका दिननाथ गौतम यसपटक काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका रूपमा पुनः जनताको विश्वास जित्ने अभियानमा जुटेका छन्।