
ओखलढुंगा। नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकाे छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष समारोहमा नेकपाले एमाले ओखलढुंगाका जिल्ला कमिटीका ३८ जनालाई औपचारिक रूपमा स्वागत गरेको हो।


समायोजन हुनेहरूमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित ३८ जना रहेका छन्। उनीहरूले यसअघि शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए।
उनीहरूको आरोप अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका उम्मेदवारको सूची बेवास्ता गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटताको आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएका थिए। जिल्ला कमिटीबाट अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस भए पनि त्यसलाई अस्वीकार गर्दै गरिएको उम्मेदवारी चयन स्वेच्छाचारी भएको उनीहरूको दाबी छ।

उम्मेदवारी छनोटप्रति असन्तुष्टि जनाउँदै अम्बिरबाबु गुरूङले एमाले परित्याग गरेका थिए। नेकपाले उनलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
यो घटनालाई ओखलढुंगाको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
