
काठमाडौं /आसन्न निर्वाचनको संघारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष के.पी. शर्मा ओलीले पार्टी उम्मेदवारको जित सुनिश्चित गर्न कार्यकर्तालाई लक्षित गर्दै हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेका छन्। उक्त पत्रले चुनावलाई ‘देश विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने’ निर्णायक घडीका रूपमा चित्रित गर्दै बहुमतको अपरिहार्यता जोड दिएको छ।

पत्रमा ओलीले पार्टी उम्मेदवारहरूको विजय सुनिश्चित गर्न ‘उच्च मनोबल र सक्रिय सहयोग’ अपेक्षा गरेका छन्। तर राजनीतिक वृत्तमा यो पहललाई आत्मविश्वासभन्दा बढी भोट बिच्किने डर का रूपमा व्याख्या गरिएको छ। शीर्ष नेतृत्वले प्रत्यक्ष अपिल गर्नुपर्नु नै आन्तरिक असन्तुष्टि, प्रतिस्पर्धी दलको दबाब र मतदाताको मनोविज्ञानप्रति चासो बढेको संकेत मानिएको छ।
सामान्यतया चुनावी घोषणापत्र, सभासम्मेलन र प्रचार अभियानबाट मतदातासमक्ष पुग्ने नेतृत्वले यसपालि हस्ताक्षरसहितको भावनात्मक पत्रमार्फत ‘देश निर्माण’को कथानक अगाडि सारेको छ। तर आलोचकहरूका अनुसार यस्तो भाषा र शैलीले नीति–कार्यक्रमभन्दा डर र ध्रुवीकरणलाई प्राथमिकता दिएको भान पर्छ।
अन्ततः मतदाताले पत्र होइन, विगतको कार्यसम्पादन, विश्वसनीयता र भविष्यको ठोस मार्गचित्र हेर्नेछन्। हस्ताक्षरले आह्वान त गर्न सक्छ, तर भोटको निर्णय जनताले नै गर्छन् ,त्याे पनि तर्क, अनुभव र अपेक्षाका आधारमा।