Khulla Bichar Online

मेराे निर्वाचन क्षेत्रकाे सुगम र दुर्गमको खाडल मेट्नु मेरो पहिलो जिम्मेवारी हुने छ : उम्मेदवार दिननाथ गौतम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार दिननाथ गौतमसँग गरिएको कुराकानीको सम्पादीत अंशः

सारांस
मैले दस वर्षे जनयुद्ध र जनआन्दोलनमार्फत राज्य व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरे पनि जनताको अवस्था परिवर्तन हुन नसकेको अनुभूति भएको छ । अव जनताको अवस्था परिवर्तन गर्नका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचमा उम्मेदवार बनेको हुँ ।

स्थानीय तहमा चौरीदेउराली गाउँपालिकाको नेतृत्व गर्दा मैले बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरे । ‘एक घर एक बाटो’ र ‘एक घर एक धारा’ जस्ता कार्यक्रममार्फत जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने काम गरेको छु । कोभिड महामारीका बेला गाउँमै उपचारको व्यवस्था, अक्सिजन प्लान्ट स्थापना र अस्पताल स्तरोन्नतिले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच मजबुत बनाएउने काम गरेको छु ।

शिक्षा क्षेत्रमा दोहोरो शैक्षिक प्रणाली अन्त्य गरी गुणस्तरीय र समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । उत्पादनमुखी, रोजगारमुखी र व्यवसायिक शिक्षामा जोड दिने छु । कृषि र पशुपालनलाई व्यवसायिक बनाउँदै किसानलाई अनुदान, प्रविधि र बजार व्यवस्थापनमार्फत आत्मनिर्भर बनाउने सुरुवात गाउँपालिक अध्यक्ष हुँदै सुरु गरेको छु र यसलाई मेरो निर्वाचन क्षेत्रभरी नै विस्तार गर्न चाहन्छु ।

पर्यटनका दृष्टिले सम्भावनायुक्त भूगोल भएपनि पूर्वाधार र व्यवस्थापनको अभावले अवसर उपयोग हुन सकेको छैन । यसका लागि सडक, बसोबास र पर्यटनमैत्री योजना निर्माणमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने प्रतिबद्धता जनाउन चाहन्छु । साथै सुगम र दुर्गम क्षेत्रबिचको विकास अन्तर घटाउनु मेरो मुख्य प्राथमिकता रहने छ ।
युवा, अपाङ्गता भएका व्यक्ति, अशक्त र वृद्ध नागरिकप्रति राज्यको जिम्मेवारी बलियो हुनुपर्छ । जबर्जस्ती होइन, जनताको चाहना र क्षमताअनुसार कार्यक्रम ल्याउनु पर्छ । भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा र जनताको भावना अनुसार म चल्ने छु । म उच्च विचार सादा जीवन शैलीमा विश्वास गर्छु ।

मैले स्थानीय तहको कार्यअनुभवलाई संघीय तहमा पुगेर जनताको अवस्था परिवर्तन गर्ने काम प्रयोग गर्न चाहन्छु र जनताको आर्थिक जीवन परिवर्तनमा मेरो भूमिका रहने छ ।

अहिले तपाईं प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । जनताले तपाईंलाई भोट किन दिने ?
मलाई जनताले भोट किन दिनुपर्छ भन्ने प्रश्नभन्दा पनि जनताले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ । किनभने मैले सुरुदेखि नै मेरो सम्पूर्ण जीवन जनताको सेवामा समर्पण गरेको छु । जनताको सेवामा समर्पित हुँदै म त्यो दस वर्षको जनयुद्ध, त्यसपछि जनआन्दोलन हुँदै आफ्ना सबै व्यक्तिगत सम्बन्ध र स्वार्थहरू त्यागेर आन्दोलनमा लागेँ । यो देशको राज्य व्यवस्था परिवर्तन गर्नका लागि मैले आफ्नो जीवन समर्पण गरेको हुँ ।
राज्य व्यवस्था परिवर्तन त भयो, तर जनताको अवस्था परिवर्तन हुन सकेन । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । यही अनुभूतिको कारण म आज प्रतिनिधिका रूपमा उभिएको छु । व्यवस्था परिवर्तनपछि बाँकी रहेको मुख्य काम भनेको जनताको अवस्था परिवर्तन गर्नु हो । त्यो बाँकी काम पूरा गर्नका लागि म प्रतिनिधि सभाको उम्मेदवार बनेको हुँ । यही उद्देश्यका साथ मैले उम्मेदवारीका लागि इच्छा व्यक्त गरेँ र पार्टीले निर्णय गरेर मलाई उम्मेदवारी दिएको हो ।
शान्ति प्रक्रिया सुरु भएपछि मैले त्यस प्रक्रियामा आफ्नो जिम्मेवारी पूरा गरेँ । म जिल्लामा इन्चार्ज, अध्यक्ष, संयोजक र सह–इन्चार्जका रूपमा काम गरेँ । यो जिल्लामा मात्रै होइन, अन्य जिल्लाहरूमा पनि जनताको पक्षमा काम गरेँ । यस जिल्लामा कतिपय अवस्थामा जिल्ला संयन्त्र नहुँदा जिल्ला विकास समितिको संयन्त्रमा रहेर पनि मैले काम गरेँ । त्यहाँ रहँदा जनताका आवश्यक कामहरू गर्ने जिम्मेवारी पूरा गरेँ । बाटो, खानेपानी, पँधेरो, शिक्षा र स्वास्थ्यका क्षेत्रमा जनताको पक्षमा भूमिका निर्वाह गरेको छु ।
जनताको आवश्यकता बुझेर काम गर्ने क्रममा २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो र म चौरीदेउराली गाउँपालिकामा निर्वाचित भएँ । निर्वाचित भएपछि मैले पहिलो काम जनताका आधारभूत आवश्यकताहरू पहिचान गरेँ । तात्कालिक अवस्था के हो भनेर हेर्दा जनतामा बाटोको अभाव थियो, खानेपानीको अभाव थियो, शिक्षा र स्वास्थ्यको पहुँच कमजोर थियो । त्यसैले मैले बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेँ । यी चार विषय तत्काल कार्यान्वयन गर्न सकिने भएकाले यिनै विषयलाई केन्द्रमा राखेर काम अघि बढाएँ ।
सडक पूर्वाधारको सवालमा पहिलेदेखि बनिरहेका बाटाहरूलाई सुधार गरेर कालोपत्रे गर्ने काम सुरु गरियो । सम्भवतः २०७४ पछाडि गाउँपालिकाको सदरमुकामसम्म कालोपत्रे सडक पुगेको पहिलो गाउँपालिका चौरीदेउराली नै हो । यसअघि नपुगेका स्थानहरूमा पहिलो पटक कालोपत्रे सडक पुर्‍याइयो । यसले जनताको आवागमनमा ठूलो सहजता ल्यायो ।
मेरो मुख्य नारा थियो—‘एक घर एक बाटो’ । कुनै पनि घर बाटोबाट विमुख नहोस् भन्ने मेरो स्पष्ट धारणा थियो । बिरामी परेमा वा आपतविपत पर्दा एम्बुलेन्स सहजै घरसम्म पुग्न सकोस् भन्ने उद्देश्य राखिएको थियो । कतिपय स्थानमा एउटा घरका लागि मात्र भए पनि ३–४ किलोमिटर बाटो खनेर पुर्‍याइएको छ । सडक सञ्जाल विस्तार गर्ने क्रममा हिउँद–बर्खा नचल्ने बाटाहरूलाई बाह्रै महिना चल्ने बनाइयो ।
खानेपानीको अवस्था अत्यन्तै काकाकुल थियो । खानेपानीकै कारण कतिपय बस्तीहरू छोड्नुपर्ने अवस्था देखिएको थियो । ठूला योजना ल्याउन समय लाग्ने भएकाले तत्काल राहतस्वरूप आठवटा बोरिङ खनियो । तीमध्ये केही असफल भए पनि पाँचवटा बोरिङ अहिले पनि सञ्चालनमा छन् । दुई–तीन महिनाभित्र सुख्खा बस्तीहरूमा पानी पुर्‍याउने काम भयो ।
त्यसपछि ‘एक घर एक धारा’ कार्यक्रम सुरु गरियो । सम्भवतः यो अवधारणा नेपाल सरकारले अघि ल्याउनुभन्दा पहिले नै चौरीदेउराली गाउँपालिकाबाट सुरु गरिएको हो । ‘एक घर एक बाटो’ र ‘एक घर एक धारा’ कार्यक्रमले जनताको जीवनमा प्रत्यक्ष र दीर्घकालीन प्रभाव पारेको छ ।
स्वास्थ्यको क्षेत्रमा १५ शैयाको अस्पताल स्वीकृत गरियो । डाक्टरसहित स्वास्थ्य सेवा सुरु गरियो । कोभिडको समयमा कसैलाई पनि काठमाडौँ रिफर गर्नु परेन । अक्सिजनको चरम अभाव भएको समयमा अक्सिजन प्लान्ट स्थापना गरियो । दुई–दुई जना डाक्टर राखेर २४ सै घण्टा सेवा दिइयो । उपचारका क्रममा एक जनाबाहेक अरू कसैको ज्यान गएन । अहिले अस्पतालको स्तरोन्नति भइरहेको छ र पूर्वाधारका हिसाबले अस्पताल सम्पन्न हुँदैछ । स्वास्थ्य र सडकसँगै शिक्षाको क्षेत्रमा पनि ठूलो चुनौती थियो । गाउँपालिका भित्र दोहोरो खालको शैक्षिक प्रणाली थियो । गुणस्तरीय शिक्षा नहुँदा विद्यार्थी र अभिभावक दुवै चिन्तित थिए । त्यसैले शिक्षकहरूलाई तालिम दिने, नयाँ–नयाँ प्रविधिहरू विद्यालयहरूमा पुर्‍याउने काम गरियो । भौतिक पूर्वाधारको हिसाबले प्रत्येक वडामा जहाँ हाईस्कूल र निमावि थिए, त्यहाँ आधुनिक र सुविधासम्पन्न विद्यालय भवन निर्माण गरियो । अहिले कतिपय विद्यालय भवनहरू आधुनिक बनेका छन् र शिक्षाको वातावरण सुधारिएको छ ।
स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक वडामा पुग्ने गरी एम्बुलेन्सको व्यवस्था गरियो । पहिले भएका एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गरियो । त्यसका साथै गाउँपालिकाले थप दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्यायो । आपतविपत पर्दा तत्कालै सेवा दिन सक्ने व्यवस्था मिलाइयो । उपचार गर्न सकिने बिरामीलाई गाउँमै उपचार गरियो र नसकिने बिरामीलाई सहर वा राजधानी पठाइयो । अहिले पनि ल्याबसहितको आधुनिक अस्पताल सञ्चालनमा छ । आवश्यक परीक्षणहरू त्यहीँ हुने व्यवस्था गरिएको छ ।
गाउँपालिका निर्वाचित भएपछि जनताले मलाई दोहोरिनुपर्ने धारणा व्यक्त गरे । यदि फेरि दोहोरिएको भए विकास निर्माणको कामको गति अझ छिटो हुने थियो भन्ने जनताको भनाइ रह्यो । यद्यपि मैले बनाएको मास्टर प्लानअनुसार अहिले पनि कामहरू निरन्तर भइरहेका छन् । कालोपत्रे सडक विस्तार भइरहेको छ र पूर्वाधार निर्माणको प्रक्रिया रोकिएको छैन ।

पर्यटनको हिसाबले चौरीदेउराली गाउँपालिकामा राम्रो सम्भावना छ । चौवासदेखि सैलुङसम्म पुग्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । यसलाई नारायणधामसँग जोड्ने र दोलखाको चुली सैलुङसम्म पुर्‍याउने दीर्घकालीन अवधारणा राखिएको छ । र्‍याफ्टिङबाट जाने र पैदल हिँडेर फर्किने ट्रेलको परिकल्पना पनि गरिएको थियो । कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा प्रक्रिया अघि बढिरहेको छ ।
कृषि र उत्पादनको सवालमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्य राखियो । रोजगारी सिर्जना गर्न किसानहरूलाई आफ्नै उत्पादन र व्यवसायिक कार्यक्रमतर्फ उन्मुख गराउने प्रयास गरियो । गहुँ, धान र मकैको बिउ उत्पादन सुरु गरियो । मकै त्यति सफल हुन सकेन, तर धान र गहुँको बिउ उत्पादन गरी बाहिर पठाउन थालियो । यसले किसानमा उत्साह थपेको छ ।
पशुपालनको क्षेत्रमा व्यवसायिक फार्म सञ्चालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरियो । कृषि यन्त्रहरू—हाते ट्रयाक्टर, साना ट्रयाक्टर, मिल र थ्रेसर—भूगोल सुहाउँदो गरी वितरण गरियो । ५० प्रतिशत अनुदान गाउँपालिकाले र ५० प्रतिशत किसानले बेहोर्ने व्यवस्था गरियो । यो कार्यक्रम निरन्तर चलिरहेको छ ।
रासायनिक मलको समस्यालाई समाधान गर्न जिल्लाको सदरमुकाममा पाइने मूल्यमा नै किसानको घर–घरमा मल पुर्‍याउने व्यवस्था गरियो । ढुवानी खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरियो । यसले किसानलाई ठूलो राहत दिएको छ ।
यी सबै कामहरू गर्दै जाँदा विकासको गतिमा सुधार आएको छ । योजनाहरू कार्यान्वयन गर्ने क्रममा थप अनुभव प्राप्त भएको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने घट्न सकेन । गाउँपालिकाबाट स्वदेशमै रोजगारमूलक काम गर्न अभिप्रेरित गर्ने प्रयास गरियो, तर यो विषय स्थानीय तहबाट मात्र समाधान हुन नसक्ने देखियो । राज्यस्तरबाटै समग्र योजना आवश्यक छ भन्ने निष्कर्षमा पुगेँ ।
मेरो निर्वाचन क्षेत्रको भूगोल हेर्दा सुगम क्षेत्रको सुविधा छन् । काभ्रेलाई सामान्यतया सुगम मानिन्छ । तर अलि भित्री भूगोलमा गएपछि कर्णालीभन्दा पनि विकट अवस्था छ । यी विकट भूगोल र त्यहाँ बसोबास गर्ने जनतालाई मूलधारसँग जोड्न जरुरी छ । सुगम र दुर्गमबीचको अन्तर न्यूनीकरण गर्नु मेरो पहिलो योजना हो ।
दुर्गम क्षेत्रमा अझै बाह्रै महिना चल्ने बाटो छैन । बर्खामा बाटो बन्द हुन्छ । ट्रयाक खुलेका छन्, बजेट विनियोजन भएको छ, ठेक्कापट्टा पनि भएका छन् । तर निर्माण व्यवसायीले समयमा काम नगर्दा योजना अलपत्र परिरहेका छन् । यसले जनतालाई निरन्तर दुःख दिइरहेको छ ।
म निर्वाचित भएपछि राज्यबाट प्रदान गरिएका ठेक्का र योजनाहरू तदारुकताका साथ कार्यान्वयन गराउनेछु । सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई घचघच्याएर काम गराउनेछु । ढिलासुस्तीको अन्त्य गर्नु आवश्यक छ । सदनमा पुगेपछि नीति निर्माण तहमा जनताको हितमा विधि र विधान निर्माण गरिनेछ ।

यो जिल्ला भ्यालीसँग नजिकै जोडिएको छ । यहाँ सुगम पनि छ, दुर्गम पनि छ । गाउँपालिका अध्यक्ष हुँदा तपाईंको काम र लोकप्रियता देखिएकै छ । संघीय सांसद हुनुभयो भने यहाँ के–के गर्न सकिन्छ ?
संघीय सांसदको रूपमा सबैभन्दा पहिलो भूमिका नीति निर्माणमा हुन्छ । पूर्वाधारको क्षेत्रमा पहिलो प्राथमिकता सडक पूर्वाधार नै हो । सडक पुगेपछि अन्य सबै पूर्वाधार निर्माण सहज हुन्छ । त्यसैले दुर्गम क्षेत्रमा बाह्रै महिना चल्ने सडक बनाउनु पहिलो प्राथमिकता हो । त्यसपछि त्यसलाई स्थायित्व दिन कालोपत्रे गर्नुपर्छ । अहिले पनि यो प्रक्रिया सुरु भएको छ, त्यसलाई गति र तीव्रता दिने कुरा हो ।
दोस्रो प्राथमिकता खानेपानी हो । स्वच्छ खानेपानी जनताको आधारभूत अधिकार हो । ‘एक घर एक धारा’ को नारालाई अब निर्वाचन क्षेत्रभर नै कार्यान्वयन गरिनेछ । तेस्रो स्वास्थ्य हो । उपचारको अभावमा कुनै पनि मान्छे अकालमा मर्न नपरोस् । विशेष गरी सुत्केरी महिला र आकस्मिक बिरामीको हकमा तत्काल रेस्क्यू गर्न सकिने व्यवस्था गर्नुपर्छ । उपचारमा सहज पहुँच पुर्‍याउने मेरो स्पष्ट धारणा छ ।
शिक्षाको क्षेत्रमा प्रतिनिधि सभा सदस्यले प्रत्यक्ष विद्यालय निर्माण त गर्न सक्दैन, तर नीति निर्माणमा निर्णायक भूमिका खेल्न सक्छ । दोहोरो शैक्षिक प्रणाली अन्त्य गर्दै उत्पादनमुखी, रोजगारमुखी र व्यवसायिक शिक्षा सरकारी स्तरबाटै लागू गरिनुपर्छ । म स्वयम् पनि शिक्षण पेशाबाट आएको नाताले शिक्षामा के–के सुधार आवश्यक छ भन्ने कुरा मलाई व्यवहारिक रूपमा थाहा छ ।
अहिले सुविधासम्पन्न सहरका विद्यालयमा पढ्ने विद्यार्थी र दुर्गम क्षेत्रमा अभावकाबिच पढ्ने विद्यार्थीबिच समान प्रतिस्पर्धा छ । यो असमान प्रतिस्पर्धाको अन्त्य गर्न सबै ठाउँमा न्यूनतम समान सुविधा पुर्‍याउनुपर्छ । सबै विद्यालयमा आवश्यक पूर्वाधार र शैक्षिक वातावरण तयार गर्न नीति निर्माण आवश्यक छ ।
अब समय एआईको हो । प्रविधिको विकाससँगै समाज अगाडि बढिरहेको छ । त्यसैले आम जनतालाई सरल र सहज ढंगले एआईसँग जोड्नुपर्ने आवश्यकता छ । यसका लागि विधि र विधान निर्माण गरेर सरकारी तहमै यसलाई लागू गर्न सकिन्छ ।
पर्यटनको क्षेत्रमा हाम्रो निर्वाचन क्षेत्रमा अपार सम्भावना छन् । हिमालका दृश्य, सूर्योदय र सूर्यास्त देखिने स्थान, नदी, वनजंगल, प्राकृतिक सम्पदा र ऐतिहासिक स्थलहरू छन् । तर पर्यटक आफैँ आउँदैन । पर्यटकलाई आकर्षित गर्न वातावरण बनाउनुपर्छ । बाटो, बसोबास, खानेपानी र खानपानको व्यवस्था मिलाउनुपर्छ ।
पर्यटनमैत्री योजना बनाएर मात्र पर्यटन प्रवर्धन गर्न सकिन्छ । पर्यटकलाई एक–दुई दिन होइन, चार–पाँच दिन वा दस दिनसम्म राख्न सकियो भने त्यसले स्थानीय अर्थतन्त्रमा ठूलो फाइदा पुर्‍याउँछ । हामी दृश्य, संस्कृति र सम्पदा बेच्न सक्छौँ । आन्तरिक र बाह्य पर्यटन दुवैलाई समान रूपमा व्यवस्थापन गरिनुपर्छ । होमस्टे देखि सुविधासम्पन्न बसाइको व्यवस्था गर्न सकियो भने पर्यटक आउने सम्भावना धेरै छ ।

स्थानीय संस्कार र संस्कृति लोप हुँदै गइरहेका छन् । यसको संरक्षणका लागि के गर्नुहुन्छ ?
स्थानीय तहमा रहँदा नै खास–खास समुदायका चाडपर्व, रीतिरिवाज र संस्कृतिको संरक्षणका लागि योजना बनाइएको थियो । कतिपय संस्कार र संस्कृति लोप भइसकेका छन् । तिनको खोज अनुसन्धान गर्नुपर्छ । संरक्षण मात्र होइन, तिनलाई विकसित र व्यवस्थित रूपमा अघि बढाउनुपर्छ । यसले पर्यटनमा पनि सहयोग पुर्‍याउँछ र जनताको आफ्नै संस्कृतिको निरन्तरता पनि कायम हुन्छ । यसको लागि म लागिपर्ने छु ।

युवालाई चुनावमा प्रयोग गरिन्छ, पछि बेवास्ता गरिन्छ भन्ने गुनासो छ । तपाईंको धारणा के हो ?
युवा लक्षित कार्यक्रम भनेको एउटै होइन । कृषिमा के गर्न सकिन्छ, पशुपालनमा के गर्न सकिन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा कसरी युवालाई व्यवसायिक रूपमा जोड्न सकिन्छ भन्ने कुरा हो । जबर्जस्ती थोपरिएको योजना सफल हुँदैन । युवाले चाहेको कुरा बुझेर, उनीहरूको भावना र क्षमताअनुसार योजना बनाउनुपर्छ ।
सबैभन्दा ठूलो कुरा स्रोत व्यवस्थापन हो । स्रोतको पहिचान, व्यवस्थापन र परिचालन गर्न सकेपछि युवाका लागि स्वरोजगार, व्यवसायिक र रोजगारमूलक कार्यक्रम ल्याउन सकिन्छ । अहिले युवाहरू विदेश जाने प्रक्रिया तीव्र छ । यो रोक्न राज्यस्तरबाटै स्पष्ट योजना आवश्यक छ । युवाको चाहना र क्षमताअनुसार अवसर सिर्जना गर्न सकियो भने युवा विदेश जानुपर्दैन । युवाहरुलाई आफ्‌नै देशमा स्वरोजगार बनाउने खालका नीति निर्माणमा मेरो जोड रहने छ ।

अपाङ्गता भएका र अशक्त व्यक्तिहरूको अवस्था के छ ?
अपाङ्गता भएका व्यक्तिहरूमा पनि कुनै न कुनै क्षमता हुन्छ । उनीहरूको क्षमताअनुसार काम, शिक्षा र योजना दिन सकियो भने उनीहरू पनि आत्मनिर्भर हुन सक्छन् । नसक्ने अवस्थामा राज्यले जिम्मा लिनुपर्छ । अशक्त, अपाङ्गता भएका र वृद्ध व्यक्तिहरूको पालनपोषण राज्यको दायित्व हो ।
अहिले गाउँमा युवाहरू बाहिर गएका छन्, बुढाबुढी मात्र छन् । काम गर्न नसक्ने अवस्थामा उनीहरू अपहेलित हुनु हुँदैन । सामाजिक सुरक्षा व्यवस्था अझ सुदृढ बनाइनुपर्छ । जब नागरिक काम गर्न असक्षम हुन्छ, त्यतिबेला राज्यले उसको जिम्मा लिनुपर्छ ।

तपाईंको जित्ने आधार के–के हुन् ?
मेरो पहिलो आधार भनेको म लामो समयदेखि जनतासँगै छु । २०५२ सालदेखि जागिर छोडेर आन्दोलनमा लागेको हुँ । जनताको सुखदुःखमा सँगै छु । दोस्रो, मैले अहिलेसम्म जनताको हितविपरीत कुनै काम गरेको छैन । तेस्रो, म सादा जीवन उच्च विचारमा विश्वास गर्छु ।
संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धि हाम्रो आन्दोलन र नेतृत्वको परिणाम हुन् । भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा हाम्रो पार्टी स्पष्ट छ । गाउँपालिकामा पारदर्शी, कुशल र सफल नेतृत्व गरेको छु । जनताको भावना र इच्छाअनुसार चल्ने भएकाले जनताले मलाई विश्वास गर्छन् र जिताउँछन् भन्ने कुरामा म विश्वस्त छु ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.