Khulla Bichar Online

बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो!
******************
बालेन बोल्यो कि पोल्यो!
सिंहदरबार पोल्यो,
अदालत र न्यायालय पोल्यो।
प्रहरी पोल्यो, ७६ जना जेन्जी पोल्यो,
भाटभटेनी सार्वजनिक संस्थान पोल्यो।
पोलेन मात्रै होइन,
खरानी बनायो,
खरानीमाथि फेरि खरानी थप्यो,
खरानीको ग्याङ नै ठड्यायो।

राष्ट्रपति कार्यालय पोल्यो,
देशभरिका सरकारी कार्यालय पोल्यो।
नगरपालिका पोल्यो,
नेताका निवास सबै पोल्यो।
पोलेन मात्रै कहाँ हो र!
जे–जे भेट्यो,
त्यसैलाई खरानी बनायो।

सत्ताका पर्खाल पोल्यो,
शक्तिका सिंहासन पोल्यो,
अहंकारका महल पोल्यो,
दम्भका दरबार पोल्यो।

हिजो फेरि सदनमा बालेन बोल्यो,
नेपालले भारतकाे सीमा मिचेको कुरा पोल्यो।
उता सुस्तामा फेरि भारतीय दादागिरी बोल्यो,
दसगजाको पीडा फेरि बोल्यो।

मध्यरातमा बालेन बोल्नु र
सिंहदरबार पोल्नुको झस्काले
मेरी आमा रातभरि जागै छिन्।
पोल्न बाँकी छन् इतिहासका पाना,
पुर्खाका याेगदान र सपना,
रगतले कोरिएका सीमाका कथा।
बाँकी थियो त केवल चुच्चे नक्सा,
दसगजामा ठिङ्ग उभिएको जंगे पिलर,
सीमाको रक्षामा ढलेका
शहीद गोविन्द गौतमहरूको बलिदान।
त्यसैले मेरी आमाले बिहानै सोधिन्
“छोरा, बालेन बोल्यो कि पोल्यो?”
२०८३/०२/१८ बनेपा

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.