Khulla Bichar Online

आजको नेपाललाई चाहिएको शिक्षा

दुर्गा सिं तामाङ लामा
निवर्तमान केन्द्रीय उपाध्यक्ष
एकीकृत अखिल नेपाल शिक्षक संंगठन


नेपालको संविधान २०७२ ले नेपाललाई समाजवादउन्मुख गणतान्त्रिक देश घोषणा गरिसकेपछि अब यसको अर्थ–राजनीतिक गन्तव्य समाजवाद हो । यस आधारमा हेर्दा नेपालको शिक्षाको मूलबाटो पनि समाजवादी नै बन्नुपर्छ । समुदायको हित, समुदायको सर्वोच्चता, समुदायकेन्द्रित सोच र व्यवहार नै समाजवाद हो र अबको शिक्षा संरचना, विषयवस्त, चिन्तनशैली, व्यवहार आदि सम्पूर्ण दृष्टिले त्यसैअनुरुप परिमार्जन गर्न जरुरी छ ।
एकै प्रकारको सार्वजनिक शिक्षा नै समाजवादउन्मुख देशका लागि उपयुक्त विकल्प हो । नेपालको सार्वजनिक शिक्षालाई सामुदायिक सहभागिता, सामुदायिक जवाफदेहिता र सामुदायिक लक्ष्य अनुसार चल्ने बनाउन जरुरी छ । अझै पनि विकसित देशका ९० प्रतिशतमाथि र नेपालकै पनि ८० प्रतिशतभन्दा ज्यादा बालबालिकाहरु सार्वजनिक विद्यालय जान्छन् । शिक्षालाई राज्यले निर्देश गर्नु पर्नेमा बजारलाई छोडिएको अवस्था छ , परिणामताः निजी शिक्षा फस्टाउँदो छ । तर निजी र सार्वजनिक शिक्षा फरक पद्धति, संरचना र स्वार्थ बोकेका फरक प्रवृत्ति हुन् । बजारले पैसा हुने वर्गको मात्र हित गर्दछ, तर राष्ट्रिय स्वार्थलाई हेर्दैन । तत्कालका लागि निजी विद्यालयको क्रमशः अन्त्य र सार्वजनिक विद्यालयको सुदृढीकरण नेपालको प्राथमिकतामा पर्नु पर्दछ ।
नेपालको शिक्षा गतिलो नबन्नुका पछाडि थुप्रै कारणमध्ये शिक्षाप्रति जागरण ल्याउन नसक्नु प्रमुख कारण हो । शिक्षाप्रतिको स्वःजागरणबिना व्यक्तिको पूर्ण विकास हुन सक्दैन । पढाइका सन्दर्भमा जागिरमुखी, आर्थिक र भौतिक लाभमुखी सोच हाबी भयो । तसर्थ नागरिकमा शिक्षाप्रतिको खास आन्दोलन पैदा गर्न गाउँगाउँमा, विद्यालय, सरकारी–गैरसरकारी सङ्घसंंस्था, कारखाना, बैक, अस्पताल, गाउँ टोल समिति, क्लब, गुठी, सुक्ष्म सांस्कृतिक संयन्त्र, सङ्घसंस्था, पुस्तकालय आदि ठाउँहरुमा राज्यले पत्रपत्रिका, किताब, श्रव्यदृश्य सामग्री लगायतका रुचिकर अध्ययन सामग्रीको वितरण गरी सबैतिर “मिनी स्कुल” बनाउन सक्नुपर्छ । यसले एउटा शैक्षिक जागरण पैदा गर्छ, पढाइको महत्वबोध गराउँछ । नेपालमा पढ्नु भनेको आफ्‌नो परम्परागत पेशा र थातथलो छोड्नु, सकेसम्म श्रमसँग नजोडिनु जोडिए पनि ‘सेतो कलर’ को श्रमसँग मात्रै जोडिने अर्थमा बुझिएको छ । यसले मानसिक श्रम गर्नेहरु मात्रै बढ्दा मानसिक–शारीरिक श्रमको सन्तुलनमा मात्रै मानव समाजको समृद्धि सम्भव छ ।
शिक्षा विकासको मूल अगुवा राजनीतिक दल हुनुपर्थ्यो, तर अहिलेसम्म कर्मचारीतन्त्र–परामर्शदाता अगुवा बन्नु नेपालको शिक्षा विकासबो अर्को प्रमुख समस्या हो । अब यो अभावलाई पूरा गर्न नेपालका राजनीतिक दलमा व्यापक शैक्षिक बहसको उठान जरुरी छ । नेपालमा शिक्षाका समस्यालाई अर्थ–राजनीतिक सन्दर्भमा जोड्दै गहिराइमा बुझ्ने, विश्लेषण गर्ने र त्यसका समाधानका उपाय इमान्दारीपूर्वक खोज्न जरुरी छ ।
नेपालको शिक्षा विकासको लामो इतिहास छ । तर, यति लामो इतिहासमा नेपाली शिक्षाका अनुभवहरुलाई संश्लेषण गर्ने काम हुन सकेन । व्यवारिक ज्ञानका दस्ताबेजीकरण हुन सकेन बरु पश्चिमाहरुको आयतीत पद्धति, पाठ्यक्रम र अनुभवबाट हाम्रो शिक्षा व्यवस्था निर्देशित भइरह्यो । नेपालको शिक्षालाई बदल्ने हो भने प्रवृतिलाई उल्ट्याउन जरुरी छ । नेपालभित्रै शिक्षा क्षेत्रमा लामो अध्ययन अनुभव भएका शिक्षक, शिक्षाविद्, कृषिविज्ञ, इन्जिनियरलगायत अन्य क्षेत्रका विज्ञहरुको खोजी गरी उनीहरुको उपयोग गर्ने नीति बन्नुपर्छ । शिक्षकका अनुभवबाट पाठ्यक्रम, पाठ्यपुस्तक बन्नुपर्छ । जनताका ज्ञानहरुलाई उपयोग गर्न सक्नुपर्छ । शिक्षकलाई तालिम र बौद्धिकलाई उत्प्रेरण दिने व्यव्स्था हुनुपर्छ । नेपालमा शिक्षाको पहुँच सबैलाई पुर्‍याउन कुनै खास मापदण्ड नलगाई सक्नेसँग पैसा लिई नसक्नेसँग निःशुल्क हुने गरी खुला स्कुल तथा विश्वविद्यालय पनि स्थापना गर्नुपर्छ । काम, उत्पादन र पढाइसँगै जाने स्कुल अथवा पढेका सिद्धान्तलाई व्यवहारमा हेर्न लगाउने शिक्षा व्यवस्थाको जरुरी छ । शिक्षा आम मान्छेको पक्षमा र राज्य निर्देशित हुनुपर्दछ । उपलब्ध स्रोतको पूरा उपयोग गर्ने र शिक्षणलाई विविधिकरण गर्ने नीति अभ्यास गर्नुपर्छ ।
नेपालले गरिब तथा सिमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको पहुँच दिलाउन ठाउँठाउँमा ठूला आवसीय स्कुलहरुको स्थापना गर्न जरुरी छ । नेपालको अहिलेको शिक्षा बजेटको पुनसंंरचनाबाटै त्यो सम्भव छ । एउटा उदाहरणको निम्ति, शिक्षा मन्त्रालय स्रोतका अनुसार नेपालले छात्रवत्तिमा करिब ३ अर्ब बितरण गर्छ, तर एउटा बच्चाले वार्षिक केवल रु.४०० । पाउँछ, त्यसमा पनि छात्रवृति रकम सम्बन्धित विद्यार्थीलाई वितरण नगरी विद्यालयले अन्यत्र उपयोग गर्न खोज्छ । त्यही छात्रवृतिको रकमले वर्षमा थुप्रै त्यस्ता स्कुल स्थापना गर्न सकिन्छ ।
प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यक्ताबारे नेपालले धेरै अघिदेखि बहस चलाउदै आएको भए पनि यो क्षेत्रमा विकास गर्न सकेको छैन । नेपालले सर्वप्रथम आजको अर्थबजारमा कस्तो जनशक्ति आवश्यक छ भन्ने कुरा आँकलन गरी आफ्‌नो विकासको दीर्घकालीन रणनीति र योजना निर्माण गर्न जरुरी छ । अनि सो अनुरुप शिक्षाको ढाँचा र विषयवस्तुलाई एकाकार गराउन सक्नुपर्छ । यसबाहेक नेपालका विद्यालयलाई प्रभावकारी बनाउने हो भने प्राज्ञिक रुपमा कार्यकारी प्रधानाध्यापक र विद्यालयका अन्य व्यवस्थापनमा विद्यालय व्यवस्थापन समितिलाई अघि सार्ने सन्तुलित ढाँचामा जानुपर्छ । यही नीति नमूनाका लागि हाललाई गुठीमा सञ्चालित स्कुलहरुमा लागू गरी क्रमशः अन्य सामुदायिक विद्यालयमा पनि लागू गर्नुपर्छ । सबभन्दा महत्वपूर्ण कुरा नेपालको आर्थिक सामाजिक जगमा बसेर शिक्षाका कार्यक्रम तय गर्नुपर्छ । अनि नेपालले विश्व अनुभवबाट सिक्ने, तर शिक्षा विकासको आफ्‌नै मूलबाटो तय गर्न जरुरी छ, जुन आजसम्म हुन सकेन ।
नेपाललाई आज आवश्यक शिक्षा आधुनिक, व्यावहारिक, प्रविधिमैत्री र समावेशी हुनुपर्छ । अहिलेको समयमा शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई जीवनोपयोगी सीप, प्रविधि, उद्यमशीलता, सिर्जनात्मकता, र नैतिक शिक्षासँग जोडिनुपर्छ । नेपालका लागि आवश्यक शिक्षाका केही प्रमुख पक्षहरू यस्ता छन् ।
१. व्यावसायिक र सीपमूलक शिक्षा
नेपालमा बेरोजगारीको प्रमुख कारण शिक्षाको व्यावहारिक उपयोगिता नहुनु हो । त्यसैले, विद्यालयदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्छ, जसले गर्दा विद्यार्थीहरूले रोजगारमूलक सीप प्राप्त गर्न सकून् ।
२. प्रविधिमैत्री शिक्षा
सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), र डिजिटलाइजेसनको युगमा नेपालले प्रविधिमा पछाडि पर्नु हुँदैन । विद्यालय र कलेजमा कोडिङ, डाटा साइन्स, साइबर सेक्युरिटी जस्ता विषयहरू अनिवार्य रूपमा पढाइनुपर्छ ।
३. उद्यमशीलता र नवप्रवर्तन (Innovation)
नेपालमा शिक्षाले केवल जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने मानसिकता विकास गर्नुपर्छ । विद्यार्थीलाई व्यवसाय, स्टार्टअप, कृषि प्रविधि, र अन्य नवप्रवर्तनका क्षेत्रमा अभिप्रेरित गर्नुपर्छ ।
४. समावेशी र समान पहुँच भएको शिक्षा
नेपालको ग्रामीण क्षेत्रका विद्यार्थी अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । डिजिटल शिक्षालाई विस्तार गरेर, अनलाइन प्लेटफर्महरू प्रयोग गरेर, सबै वर्गका बालबालिकालाई समान अवसर दिनुपर्छ ।
५. सामाजिक र नैतिक शिक्षा
सिर्फ व्यवसायिक सफलता मात्र होइन, व्यक्तित्व विकास, नैतिकता, समाजप्रति उत्तरदायित्व र वातावरणीय सचेतना समेत सिकाउनु जरुरी छ ।
६. ग्लोबल कनेक्सन भएको शिक्षा
नेपालका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकून् भनेर अंग्रेजी, अन्तर्राष्ट्रिय व्यापार, अन्तरसंस्कृतिक ज्ञान, र ग्लोबल लिडरसिप जस्ता विषयहरूमा जोड दिनुपर्छ ।
निष्कर्षः
नेपालको शिक्षालाई व्यवहारिक, नवीन, र प्रविधिसँग समायोजन गरेर सुधार गरेमा मात्रै राष्ट्रको समग्र विकास सम्भव छ । हामीले परम्परागत किताबी ज्ञान भन्दा बाहिर निस्केर जीवनोपयोगी शिक्षामा ध्यान दिनुपर्छ ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.