Khulla Bichar Online

एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

काभ्रे– नेकपा एमालेमा झन्डै ३५ वर्षदेखि क्रियाशील युवा नेता जितराम लामाले एमाले पार्टी परित्याग गरेपछि काभ्रेपलाञ्चोकको स्थानीय राजनीतिमा हलचल भएको छ । एमाले काभ्रेका प्रभावशाली युवा नेता लामाले बिहिवार पार्टी परित्यागको घोषणा गरेका थिए ।

लामाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भावनात्मक स्टाटस लेख्दै एमालेसँगको लामो राजनीतिक सम्बन्ध टुङ्ग्याएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, “मैले अनेरास्ववियु, प्ररायुसंघदेखि पार्टीका गाउँ, जिल्ला र केन्द्रीय तहमा काम गर्ने अवसर पाएँ । तर पछिल्लो समय पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गयो, स्वेच्छाचारिता बढ्यो र नेतृत्वले युवा पुस्ताको भावना बुझ्न सकेन ।”

लामाले थप लेखेका छन्, “जेनजी आन्दोलनसहितको नयाँ राजनीतिक चेतनालाई एमालेले आत्मसात गर्न नसकेको स्पष्ट भएको छ । त्यसैले अब म ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ राजनीतिक शक्तिसँग सहयात्रा गर्ने निर्णयमा पुगेको छु ।”

उनले जनताको सेवा, सुशासन र राष्ट्रको विकासका लागि नयाँ ढङ्गको राजनीति आवश्यक रहेको भन्दै जनसमर्थनका लागि पनि अपील गरेका छन् । लामा २०७९ सालको स्थानीय तह निर्वाचनमा चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा झिनो मतान्तरले पराजित भएका थिए । सो निर्वाचनपछि पनि उनले लगातार एमालेभित्र सुधार र युवाको आवाजका पक्षमा बोल्दै आएका थिए ।

लामाको पार्टी परित्यागलाई स्थानीय नेताहरूले “एमालेभित्रको असन्तुष्टि र नेतृत्वप्रतिको मोहभङ्गको परिणाम” भएको संज्ञा दिएका छन् । अब उनी कुन भूमिकामा र कस्तो प्रभावसहित नयाँ पार्टीमा देखिने हुन् भन्ने चासो काभ्रेको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.