Khulla Bichar Online

नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति दुई दशकभन्दा बढी समयदेखि संक्रमणकै घेराभित्र छ। बहुदलीय प्रजातन्त्र, जनयुद्ध, राजतन्त्रको अन्त्य, संघीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि राजनीतिक स्थिरता भने कागजमै सीमित भयो। सुशासन, रोजगारी र विकासका जनआकांक्षा अधुरै रहँदा नयाँ पुस्ता सडकमा उत्रिएको छ। वाम गठबन्धनको उदय–पतन र हालको जेन जेड बिद्रोह त्यसैको ताजा उदाहरण हुन्।
क. ऐतिहासिक संक्रमणको पृष्ठभूमि
२००७ सालको प्रजातन्त्र प्राप्तिदेखि नै नेपाल राजनीतिक संक्रमणको बाटोमा अघि बढ्दै आएको छ। पञ्चायती शासन, २०४६ को जनआन्दोलन, १० वर्षे जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन र २०७२ को संविधान—यी सबै घटनाले नेपालको राजनीतिक संरचना बदलिदिए। तर, दलहरूको आपसी अविश्वास र सत्ताकैन्द्रीत प्रवृत्तिले स्थिरता कहिल्यै टिकाउन सकेन।
ख. वाम गठबन्धन: स्थिरताको सपना, विखण्डनको वास्तविकता
२०७४ सालको निर्वाचनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनलाई दुईतिहाइ बहुमत दियो। देशमा विकास र स्थिरताको सपना जाग्यो। तर, ओली र प्रचण्डबीचको शक्ति संघर्षले त्यो सपना चकनाचुर गरिदियो। पाँच वर्ष टिक्ने सरकार दुई वर्षमै टुक्रियो। ‘स्थिरता’को नाममा सुरु भएको गठबन्धन फेरि अस्थिरताको स्रोत बन्न पुग्यो।
ग. गठबन्धनको राजनीति: सत्ताको सौदाबाजी
नेपालमा कुनै दलसँग एकल बहुमत नभएकाले सरकारहरू गठबन्धनकै भरमा बन्ने गरेका छन्। गठबन्धन बन्नु र भंग हुनु सामान्यजस्तै भएको छ। कांग्रेस, एमाले र माओवादीबीच सत्ताको लेनदेनले नीति निर्माणभन्दा पनि पद बाँडफाँटलाई प्राथमिकता दियो। परिणाम-दीर्घकालीन विकास योजनाहरू कहिल्यै मूर्तरूप लिन सकेनन्।
घ. दलभित्रको गुटबन्दी: लोकतन्त्रको कमजोरी
प्रमुख दलहरू आन्तरिक गुटबन्दीले नै कमजोर बनेका छन्। कांग्रेसमा नेतृत्व संघर्ष, एमालेमा ओलीप्रतिको निरंकुश शैली, माओवादी केन्द्रमा प्रचण्डको एकछत्र वर्चस्वले दलहरूलाई लोकतान्त्रिकभन्दा पनि ‘नेताकेन्द्रीत’ संस्था बनाइदिएको हो कि भन्ने आशंका आम जनता माझ रहेकोछ। यसले दलहरूको विश्वसनीयता जनतामाझ घटाएको छ।
ङ. जनताको निराशा र असफलता
जनताले चाहेको शान्ति, रोजगारी, शिक्षा, स्वास्थ्य र विकास दलहरूको प्राथमिकतामा कहिल्यै रहेन। युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। भ्रष्टाचार उच्चस्तरमा पुगेको छ। ठूला परियोजना सुरु भए पनि पूर्णता पाउन सकेका छैनन्।
च.जेन जेड बिद्रोह: नयाँ पुस्ताको आवाज
२०८२ साल सेप्टेम्बर ८ बाट सुरु भएको ‘जेन जेड बिद्रोह’ले पुराना दलहरूको असफलताविरुद्ध आक्रोश पोख्यो। सुरुमा डिजिटल स्वतन्त्रता र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध उठेको आन्दोलन, भ्रष्टाचार, असमानता र निरंकुश शासनविरुद्धको देशव्यापी जनअभियानमा परिणत भयो। सरकारी दमनमा ७५ भन्दा बढीले ज्यान गुमाए।
च. जेन जेडका मुख्य मागहरू:
१. भ्रष्टाचार नियन्त्रण र जवाफदेही शासन
२. डिजिटल स्वतन्त्रता र गोपनीयता
३. रोजगारी र अवसर
४. प्रत्यक्ष निर्वाचित कार्यकारी
यी मागहरू कांग्रेस-एमाले जस्ता पुराना दलहरूको घोषणापत्रभन्दा ठोस र व्यावहारिक छन्।
५. पुराना दलहरूको असफल प्रतिक्रिया
ओली नेतृत्वको सरकार आन्दोलनलाई ‘विदेशी प्रायोजन’ भन्दै खारेज गर्ने प्रयत्नमा लाग्यो। कांग्रेस नेतृत्वले चुनाव घोषणा गरेर दबाउने उपाय खोज्यो। तर, जनताले दुवै दलप्रति विश्वास गुमाइसकेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.