Khulla Bichar Online

समाजबादी शिक्षा: चिनियाँ मोडेल र नेपालले के सिक्ने ?

 

शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ ।

नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन थालेको छ । नेपाली परिवेसमा यी दुवै प्रकारका शिक्षाका विषेशता सन्दर्भमा केही मौखिक बहसका अलावा मूर्त मार्गचित्र भने आउन सकेन ।

जनवादी शिक्षाको अवधारणा चिनिया मोडेल हो । सन् १९४९ मा चिनियाँ क्रान्ति हुँदा त्यहाँको समाज अर्धसामन्ती र अर्ध औपनिवेसिक चरित्रको रहेको र त्यस्तो चरित्र रहेको समाजमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने पूँजीवादी क्रान्ति (शास्त्रीय होइन) जनवादी क्रान्ति हुने र क्रान्ति पश्चात कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा राज्यसत्ता सञ्चालन हुने पद्दती जनवादी राज्य पद्दती हुने भनिएको थियो । त्यस्तो समाजलाई समाजवादको प्रारम्भिक चरण भनिएको थियो ।

नेपालमा पुष्पलालले यही दृष्टिकोणबाट नयाँ जनवादी लाइनको चर्चा गरे र शिक्षाको बहसमा पनि सोही विचार प्रस्फुटित भयो । अब चीनमा समेत सी विचारधारालाई मार्गदर्शक सिद्धान्तका रुपमा अगाडि सारिएको र नेपालको पनि चरित्र फेरिएको अवस्थामाचिनियाँ समाजबादी शिक्षालाई ३ चरणमा अध्ययन गर्न सक्छौं ।

माओ काल : माओले आफ्नो सम्पूर्ण उर्जा सामन्तवादी संस्कृतिलाई ध्वस्त पार्नमा खर्चिए । सन् १९५८ मा महान अग्रगामी छलाङ्को कार्यक्रम ल्याए जहाँ शिक्षा पद्दतिलाई सामन्तवादको भर्याङ भनी यसलाई उल्टाइदिने प्रयास गरे । सो अभियान सन् १९६१ मै असफल भयो । १९६६ मा फेरि सांस्कृतिक क्रान्ति शुरु गरियो । यस समयमा तमाम विद्यालयहरु बन्द भए । अहिलेका राष्ट्रपति सी समेत विद्यालयबाट बञ्चित भएका थिए ।

त्यतिबेला शहरका शिक्षक गाँऊमा शारीरिक श्रम गर्न पठाइयो । शिक्षकलाई टर्चर दिइयो । विदेशी प्रविधि प्रयोग नगर्ने नाममा हाते मेसिन बनाउन लगाइयो । उत्पादक शक्तिको स्वतन्त्रता भनियो । शिक्षामा त्यस समयलार्ई विनिर्माण (डिकन्स्टक्शन) कालका रुपमा चिनिन्छ भने आलोचकहरु यसलाई अन्धकारको समय पनि भन्छन् ।

तेङ स्याओपिङ काल : सन् १९७८ पछि २०१२ सम्मको समयलाई चिनियाँ शिक्षामा आधुनिक शिक्षाको काल मानिन्छ । तेङले बन्द आर्थिक नीतिको ठाँउमा समाजवादी बजार अर्थ नीति अंगाले । चारवटा क्षेत्र—कृषि, उद्योग, सुरक्षा र विज्ञान तथा प्रविधिमा आधुनिकीकरणको कार्यक्रम अगाडि सारे । उत्पादक शक्तिको स्वतन्त्रामात्रै नभएर विस्तार पनि गर्ने भने । विश्व बजारलाई खुला गरे । शिक्षामा प्रविधि प्रयोग र विकासमा निकै जोड दिइयो । वर्तमान चिनियाँ प्रविधिको अब्बलता यसैको परिणति हो ।

सी चिनफिङ काल : सन् २०१२ पछि सीले विगतप्रति कृतज्ञ हुँदै चीनलाई नयाँ मोडमा लैजान खोजेका छन् । मार्क्सवादलाई चिनिया परम्परागत मूल्य मान्यतासँग जोड्न खोजेका छन् । चिनियाँ विषेशतासहितको समाजवादको व्याख्या गर्दै सी भन्छन् “बैज्ञानिक समाजवादी सिद्धान्त र चीनका ऐतिहासिक समाज विकासका सिद्धान्तहरुको एकीकरण नै चिनियाँ समाजवाद हो । उनले शिक्षालाई नैतिकता, मेहनत र चौतर्फी विकासको मूख्य माध्यम मानेका छन्।

यी ऐतिहासिक जगमा अहिलेको चिनियाँ शिक्षा पद्दति अगाडि बढेको छ । यी तीनवटै नेताले चीन समाजवादको प्रारम्भिक अवस्थामा रहेको बताएका छन् । यसको मतलव, चीन अहिले पनि समाजवादको प्रारम्भिक अवस्थामा छ । तीनै जनाले चिनियाँ विषेशता सहितको समाजवाद भनेका छन् । त्यस्तै ४ वटा मुख्य सिद्धान्तहरु समाजवादी मार्ग, जनवादी अधिनायकत्व, कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद, लेनिनवाद र माओवादमा प्रतिवद्ध रहेको छ चीन ।

सी भन्छन् “समाजवादले मात्रै चीनलाई बचाउँछ र चिनियाँ विषेशतासहितको समाजवादले मात्रै चीनको विकासको नेतृत्व गर्न सक्छ” । यसैगरी पार्टीको मुख्य मार्गनिर्देशक मान्यता एकल केन्द्रीय कार्य (आर्थिक विकास) र दुई आधारसुत्र (चार मुख्य सिद्धान्त र सुधार तथा खुला नीति) रहेका छन् ।

चारवटा प्रयोग: शासकीय अभ्यास, सुधार तथा खुला समाजको निर्माण, बजार अर्थतन्त्रको विकास र विश्वव्यापी विकासको अभ्यासप्रति दृढ छ भने चार जोखिम-आलस्यता, असक्षमता, जनताबाट अलग हुने सम्भावना र भ्रष्टाचारबाट सजग रहने मान्यता छ । यी सबै मान्यतालाई व्यवहारिक रुप दिने काम शिक्षाले गर्ने हुँदा शिक्षा पनि यी मान्यतामा उभिएको छ ।

चीनको शिक्षा आर्थिक विकास मात्र नभएर राजनीतिक, सामाजिक, सास्कृतिक र पर्यावरणीय विकासमा परिलक्षित छ । भारतीय विश्लेषक अमत्र्य सेनले भनेजस्तो ‘क्वालिटी एप्रोच’ मा आधारित छ । ज्ञानलाई पूँजीको रुपमा लिइएको छ । त्यसैले त्यहाँ विश्वस्तरका विश्वविद्यालयहरु खोल्ने प्रतिश्पर्धा चलेको छ । विश्वका ‘बिग माइन्ड’ आयात गर्न लालायीत छ । विदेशी विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति दिइएको छ भने आफ्ना विद्यार्थी विदेशमा पढ्न पठाइएको छ ।

माओ भन्छन् ‘जनताका अगाडि हामी सधैं विद्यार्थी बन्नुपर्छ’ । यही मान्यताका आधारमा जनताबाट सिक्ने, किसानको घरखेतमा जाने, संगै काम गर्ने अनि कामबाट सिक्ने पद्धतिलाई निरन्तरता दिएको छ । सामाजिक सामञ्जस्यता र शान्तिपूर्ण विकासमा जोड दिइएको छ । बीआरआईजस्तो विकासको वीन वीन मोडेल अगाडि सारिएको छ । शिक्षा पद्धतिमा समेत ‘नो कपी, नो रिजेक्ट’ को नीति लिइएको छ । चीनले अरु कुनै अमूक देशको पद्धति जस्ताको त्यस्तै अयात गर्दैन । तर, अस्वीकार नगरी वैधानिकीकरण गर्छ ।

अहिले चीनले सबैभन्दा बढी जोड दिएको क्षेत्र कृत्रिम बौद्धिकता (एआइ) हो । व्यापारिक कुशलता, मिहिनेत, जीवनमूखी, प्राग्मेटिक, सामुहिक कार्यमा विश्वास आदि चिनियाँ जनताका विषेशता हुन् । शिक्षामा यी विषेशताहरुको भरपुर उपयोग गरिएको छ । बुद्ध दर्शन, ताओइजम, कन्फ्युसियनिजम जस्ता ऐतिहासिक दर्शनलाई नैतिकता र आचरण विकासका आधार मानिएको छ । अब चीन शिक्षाको हब बन्ने निश्चित छ ।

नेपालले के सिक्ने ?

नेपालमा न त चीनमा जस्तो अर्थतन्त्र छ, न त राजनीतिक व्यवस्था वा संस्कृति नै मिल्दो छ । संविधानमा समाजवादउन्मुख समाज भने पनि समाजवादका प्रारम्भिक आधार समेत तयार हुन सकेको छैन । अर्थतन्त्रमा दलाल पूँजीवाद हावी छ । राजनीतिमा बहुदलीय प्रतिश्पर्धा छ । संस्कृतिमा व्यापक विविधता छ । लोकतन्त्रका नाममा अराजकता मौलाएको छ । विदेशी संस्कृति र आयातीत प्रविधिले नेपालीपन खुइलिँदैछ । त्यसैले सीबाट नेपालले कपी होइन पाठ सिक्नु पर्छ, जुन निम्न हुन सक्छन् ।

१. नेपाली विषेशतासहितको समाजवादी शिक्षा : बहुलतामा आधारित लोकतान्त्रिक मूल्यसहितको राजनीतिक जगको विकास, हिमाल, पानी, जडिबुटी, बन, जस्ता प्राकृतिक स्रोतको उपयोग गर्ने शिक्षा जरुरी छ । उपनिषदले भनेजस्तो परा र अपरा विद्यालाई जोड्ने काइदा खोज्न सकिन्छ यहाँ । परम्परागत ज्ञान, सीप र प्रविधि भित्रको ऐतिहासिकता, बैज्ञानिकताको अध्ययन र विस्तार गर्न सकिन्छ । भूगोल सानो छ तर बुद्धिमा नेपाली अब्बल सावित भएका छन् । त्यसैले, मानवीय पूँजीको विकास गर्न सकिन्छ । अहिले हामीले अधिकारमा आधारित एप्रोचमात्र प्रयोग गरेका छौं यहाँ बहुआयामिक ‘क्वालिटी एप्रोच’ प्रयोग गर्न सकिन्छ ।

२. मार्क्सवाद र पूर्वीय दर्शनको मिलान : सीले जसरी बैज्ञानिक समाजवाद र चिनियाँ परम्परागत दर्शनको फ्युजनलाई चिनियाँ विषेशता सहितको समाजवाद भने, त्यसैगरी नेपालमा पनि मार्क्सवाद र पूर्वीय दर्शनको मिलान गर्न जरुरी छ । बुद्ध दर्शन, बेद, आदिमा संस्कार छ । नैतिकता छ । राजनीति छ र यी नेपालीका जीवन दर्शन पनि हुन् । त्यसैले जीवनलाई व्यवहारिक बनाउन र नेपाली चरित्र मुताविक पहिचान राखिराख्न शिक्षाको दार्शनिक आधार यी दुईको मिलानलाई मान्न सकिन्छ ।

३. राज्य निर्मित सामाजिक पूँजीको विकास : अहिले नेपालको शिक्षामा बड्र्युले भने जस्तो सांस्कृतिक पूँजीको प्रभाव बढी छ । पुनरुत्पादकीय पद्दति हाबी छ । कतैकतै सामाजिक पूँजीको पनि प्रभाव छ । यसले गर्दा निजी विद्यालय फस्टाउने र सामुदायिक अस्ताउने भएका छन् । शिक्षाले वर्ग निर्माण गरेको छ । धनी र गरिब बीचको खाडल गहिरिँदै गएको छ । जात, वर्ग, क्षेत्र आदिका आधारमा सिकाइको खाडल झन भासिँदो छ । यस्तो अवस्थामा कोर्नोयले भनेजस्तो राज्य निर्मित सामाजिक पूँजीको विकास गर्न जरुरी छ ।

राज्यले नै पछाडि परेका वर्गका वालवालिकाको शिक्षामा पद्धतिगत रुपमै उपयुक्त सिकाइ वातावरणको निर्माण गर्दछ भने त्यसलाई राज्य निर्मित सामाजिक पूँजी भनिन्छ । यही मान्यता चीनमा प्रयोग गरियो र राज्यले सबैको समान अवसरको निर्माणमा नेतृत्व गर्‍यो । शिक्षालाई निशुल्क गरियो । शिक्षाको सम्पूर्ण खर्च राज्यले व्यहोर्‍यो । यही नै सामाजिक विभेदीकरणको अन्त्य गर्ने अस्त्र बन्यो ।

राज्यले शिक्षामा प्राथमिकता दिने हो भने राज्यले विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्छ । सबैलाई एउटै सेवा सुविधासहितको पठन पाठनको अवसर दिन सकिन्छ । यसबाटै विभेदीकरण हटाउन सकिन्छ । यसबाट सामाजिक न्याय स्थापित हुन सकिन्छ ।

सन्दर्भ सूचीहरु:

Freire, Paulo. शिक्षाको तटस्थतासम्बन्धी अवधारणा (“शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन”)। सम्भावित कृति: Pedagogy of the Oppressed (दमनमा परेकाहरूको शिक्षाशास्त्र)।

Maotsetung (माओ त्सेतुङ). महान अग्रगामी छलाङ् (Great Leap Forward), सांस्कृतिक क्रान्ति (Cultural Revolution), र “जनताका अगाडि हामी सधैं विद्यार्थी बन्नुपर्छ” भन्ने भनाइसम्बन्धी विचारहरू।

Deng Xiaoping (तेङ स्याओपिङ). समाजवादी बजार अर्थ नीति, चार आधुनिकीकरण (Four Modernizations), र शिक्षामा प्रविधि प्रयोगसम्बन्धी नीतिहरू।

Xi Jinping (सी चिनफिङ). चिनियाँ विशेषतासहितको समाजवाद (Socialism with Chinese Characteristics), मार्क्सवाद र परम्परागत मूल्यमान्यताको एकीकरण, तथा नैतिकता, मेहनत र चौतर्फी विकासमा जोडसम्बन्धी विचारहरू।

Sen, Amartya (अमर्त्य सेन). ‘क्वालिटी एप्रोच’ (Quality Approach) वा ‘क्षमता दृष्टिकोण’ (Capability Approach) को अवधारणा।

Bourdieu, Pierre (पियरे बुर्दियू). सांस्कृतिक पूँजी (Cultural Capital) र शिक्षामा पुनरुत्पादकीय पद्धति (Reproductive System) को अवधारणा।

Carnoy, Martin (मार्टिन कोर्नोय). राज्य निर्मित सामाजिक पूँजी (State-produced Social Capital) को अवधारणा।

२. ऐतिहासिक तथा दार्शनिक स्रोतहरू

मार्क्सवाद-लेनिनवाद (Marxism-Leninism). वैज्ञानिक समाजवादी सिद्धान्त।

माओवाद (Maoism). विशेषगरी जनवादी क्रान्ति र राज्यसत्ताको अवधारणा।

पूर्वीय दर्शन (Eastern Philosophy).

बुद्ध दर्शन (Buddhism). नैतिकता र जीवन दर्शनको आधार।

वेद र उपनिषद् (Vedas and Upanishads). परा र अपरा विद्यालाई जोड्ने दर्शन।

ताओइजम (Taoism).

कन्फ्युसियनिजम (Confucianism). नैतिकता, आचरण विकास र परम्परागत चिनियाँ मूल्य मान्यताहरू।

३. नीति तथा दस्तावेजसम्बन्धी सन्दर्भहरू

नेपालको संविधान (Constitution of Nepal). समाजवाद उन्मुख समाजसम्बन्धी प्रावधान।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.