
अर्पण उत्कर्ष

रास्वपाले सक्कायो ! नयाँले सक्कायो ! बिजुलीले सक्कायो ! बैकल्पिक शक्तिले सक्कायो ।
हिजोआज गाउँघरतिर सुनिरहने विषय हो। चिन्ता नलिनुहोस्, सकिँदैन। शहर–बजारतिर एकखालका,खालखालका मान्छेहरू छन्, जो अत्यधिक विकल्पहरूको छनोट गरिरहन्छन्। अण्डरपेन फेरिरहने मान्छेले गर्लफ्रेन्ड पनि फेरिरहन्छ। जुत्ता फेरिरहनेहरूले धर्म र मन्दिर फेर्छन्, आस्था बदल्छन्। दृष्टिकोण फेरिरहनेहरूले तर्क फेर्छन् उस्तै हो ।
सात सालदेखि चारतारे झण्डा बोकेर तालु खुल्याउँदै र कुर्कुच्चा फटाएर स्थापित सच्चा काँग्रेसीहरू फेरिँदैनन्। पञ्चायतको निर्मम दमन र कठघराको विद्रोहबाट स्थापित एमालेहरू फेरिँदैनन्।
शाही जल्लादहरूको हिरासत, यातना, क्रुर दमन, जेल–नेल र गोलीको वर्षा सहेर स्थापित माओवादी कम्युनिस्टहरू फेरिँदैनन्। बरु नेपाली कम्युनिस्ट पार्टीमा दर्जनौं पार्टी गोलबन्द भएको बर्खरै हो। यिनीहरू निरन्तर संघर्ष / अन्तरसंघर्षमै केन्द्रीकृत हुन्छन्। बाटा फरक भए पनि समाजवादसम्मको यात्रामा फाटेका पैताला बोकेर लम्किरहन्छन्। आफ्ना विचारप्रति दृढ र अठोटका साथ उभिन्छन्, दृष्टिकोणप्रति स्पष्ट हुन्छन्। एउटा सच्चा राजनीतिक सिपाही हुनु भनेको, पार्टीको आन्तरिक जीवनमा देखा पर्ने अस्पष्टतालाई वैचारिक मतभेद राख्दै चिर्दै जानु हो।
आफ्नै पार्टीका गलत प्रवृत्तिविरुद्ध बोल्दै, जनवादी केन्द्रितताको शैलीलाई उच्चतम अभ्यास गर्नु,यो समाजवादको अभ्यास गर्ने काँग्रेस कार्यकर्ता र साम्यवादको लक्ष्य राख्ने वामपन्थी कम्युनिस्ट कार्यकर्ताका लागि निकै अफ्ठ्यारो कुरा हो। तर अवसरहरूको खोजी गर्दै कतै उम्किन्छु कि, खान पाइन्छ कि भनेर अवसरवादको ढोक्सो थाप्दै पार्टी फेर्दै हिंड्नु भने सबैभन्दा सजिलो काम हो। यी फेरिरहनेहरू सच्चा रास्वपाका पनि होइनन्। उज्यालो नेपाल पनि होईनन्। हर्क साङपाङको माटो त यीनका टल्केका कोटले पनि होईन भन्छ। भोली हुने छैन पनि । दुई चार जना बालेनका र्यापको पछि लाग्नु नौलो होईन। फेरिरहनेहरूले धेरै कुरा फेर्छन्। हेर्दै जानुहोस्,एक डप्को अमिलो जाँड खाएर फेर्ने पिसाबभन्दा बढी यिनीहरूले पार्टी फेर्छन्, देखेकै कुरा हो र त्योभन्दा बढी आफ्नै असलियत फेर्छन्।