
काभ्रे, खानीखोला गाउँपालिकाका पाँच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरिएको छ। सो कार्यक्रमअन्तर्गत पुस २ गते एकै दिन खानीखोला गाउँपालिका-३ धनमना स्थित श्री जनता आधारभूत विद्यालय तथा भाङ्टारबेँसी स्थित श्री कुमारी आधारभूत विद्यालयका विद्यार्थी नानी-बाबुहरूलाई न्यानो कपडा र झोला वितरण गरिएको हो।

कार्यक्रम युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील) को प्रमुख आतिथ्यतामा तथा खानीखोला गाउँपालिका-३ का वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। वितरण कार्यक्रममा विद्यार्थीहरूलाई ट्र्याकसुट, जुत्ता, मोजा, टोपी तथा झोला प्रदान गरिएको थियो। न्यानो कपडा सामाजिक संस्था केटाकेटी नेपाल को तर्फबाट सहयोगस्वरूप उपलब्ध गराइएको हो भने झोला पाँचखाल–१ निवासी युवा समाजसेवी तथा व्यवसायी सूर्यबहादुर तामाङले प्रदान गर्नुभएको थियो।
सहयोगका लागि केटाकेटी नेपाल का आदरणीय अध्यक्ष भीम गोले तथा सूर्यबहादुर तामाङप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रम सफल बनाउन अविरल जिम्बा, दैवलाल घिसिङ र वडा अध्यक्ष सागर जिम्बाले पहल तथा सहजीकरण गरेका थिए। विद्यालयसम्म पुगेर सहयोग गर्ने सृजना थिङ, बिरेन्द्र ब्लोन, युवराज थापा मगर, गणेश जिम्बा, तिलक मोक्तान, पदम घिसिङ, बुद्धराज गोले, मिशन जिम्बा तथा सुमित जिम्बालाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ। सहभागीहरूका अनुसार चिसो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउन कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याएको छ।

यसैगरी खानीखोला गाउँपालिका-२ सार्कीडाँडा स्थित श्री सेतीदेवी आधारभूत विद्यालयमा संविधानसभा सदस्य अकल बहादुर थिङ (महेश) को प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील) को पहलमा आयोजना गरिएको थियो।
कार्यक्रममा दैवलाल घिसिङ (अनुशील) र खानीखोला गाउँपालिका–३ का वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। साथै समाजसेवी सृजना थिङ, बलबहादुर थिङ, युवराज थापा, राजकुमार भोलन, खानीखोला–२ का वडा सदस्य सुरज घिसिङ, पूर्व वडा सदस्य लालमान घिसिङ, कलाकार तथा समाजसेवी गणेश जिम्बा, समाजसेवी पदम घिसिङ र रिजा घिसिङलगायतको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई स्थानीय भीम घिसिङद्वारा उपलब्ध गराइएको ट्र्याकसुट तथा सूर्यबहादुर तामाङको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो।

त्यस्तै, खानीखोला गाउँपालिका–३ वडा अन्तर्गत चित्रे स्थित श्री केन्द्र ज्योति आधारभूत विद्यालय तथा जुरे स्थित श्री हनुमान शक्ति प्राथमिक विद्यालयमा पनि सामाजिक संस्था केटाकेटी नेपाल को सहयोगमा ट्र्याकसुट, टोपी, जुत्ता तथा मोजा वितरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि अकल बहादुर थिङ (महेश), दैवलाल घिसिङ (अनुशील), वडा अध्यक्ष सागर जिम्बा, सृजना थिङ र युवराज थापाले मन्तव्य राख्दै यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।
विद्यालय परिवारले सहयोगी संस्था तथा न्यानो कपडा उपलब्ध गराउन योगदान पुर्याउने सम्पूर्ण नेतृत्व र समाजसेवीहरूलाई स्वागत–सम्मान गर्दै हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। चिसो मौसममा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई राहत पुर्याउनुका साथै अध्ययनप्रति उत्साहसमेत बढाएको स्थानीयवासीहरूको भनाइ छ।

