Khulla Bichar Online

घरेलु हिंसाको चरम रूप: आफ्नै घरभित्र जिउँदै जलाइइन् शुसिला !

सिन्धुली – महिला हिंसाको अर्को दर्दनाक घटना सिन्धुलीमा सार्वजनिक भएको छ। कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ आफ्नै घरभित्र जिउँदै जलाइएकी अवस्थामा मृत भेटिएकी छन्। प्रहरीले यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या भएको निष्कर्ष निकालेको छ।

घटनाअनुसार आइतबार बिहान सुशीलाले आमालाई फोन गर्दै आफूलाई ज्यान मार्ने धम्की दिइएको र घरबाट तत्कालै उद्धार गर्न आग्रह गरेकी थिइन्। तर समयमै उद्धार हुन नसक्दा दिउँसो आफ्नै घरभित्र उनीमाथि पेट्रोल खन्याएर आगो लगाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार नन्द मीना बोम्जनले पेट्रोल खन्याएर आगो लगाएको स्वीकार गरेकी छन् भने सासु मायारानी बोम्जनले घरको गेटमा ताल्चा लगाएर उद्धारका सबै बाटो बन्द गरेको बयानमा उल्लेख छ। घटनास्थलबाट पेट्रोलको बोतल र लाइटर बरामद गरिएको छ।

सुशीलाले यसअघि पनि लामो समयदेखि घरेलु हिंसा सहँदै आएको माइती पक्षले बताएका छन्। उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा रहेका छन्। घटनामा परिवारका अन्य सदस्यहरूको समेत संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

मृतकका बुवाले सासु, ससुरा र नन्दविरुद्ध किटानी जाहेरी दिएका छन्। हाल सासु र नन्द प्रहरी नियन्त्रणमा छन् भने ससुरा उपचाररत अवस्थामा निगरानीमा छन्।

तीन जना तिम्ल्याहा सन्तानकी आमा सुशीला घिसिङको हत्या घटनाले घरेलु हिंसा अझै पनि महिलाको जीवनका लागि कति घातक छ भन्ने तथ्य उजागर गरेको छ। अधिकारकर्मीहरूले दोषीलाई कडा कारबाही र घरेलु हिंसा रोकथामका लागि प्रभावकारी हस्तक्षेपको माग गरेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.