
चेत बहादुर लामा
अध्यक्ष: एअनेशसिं काभ्रेपलान्चोक

नेपालको कम्युनिष्ट आन्दोलन दक्षिण एसियाकै सबैभन्दा लामो, जीवन्त र संघर्षपूर्ण इतिहास बोकेको आन्दोलन हो। २००६ सालमा स्थापना भएदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म यसले देशको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्यो। तर, विडम्बना के छ भने कम्युनिष्ट विचार जति गहिरो छ, व्यवहारमा त्यति नै टुक्रा छ। जब नयाँ पुस्ता, जसलाई ‘जेन-जी आन्दोलन’ पनि भनिन्छ, पुराना दलहरूको सत्ताप्रतिको मोह, भ्रष्टाचार र नैतिक पतनप्रति आक्रोशित हुँदै सडकमा उत्रिन्छ, तब यो प्रश्न स्वाभाविक रूपमा उठ्छ: आखिर नेपालका कम्युनिष्टहरू किन बारम्बार टुक्रिन्छन् र के उनीहरू भारतको पश्चिम बङ्गालको जस्तो दिशाहीन कम्युनिष्ट राजनीतितिर गइरहेका त होइनन् ?
१. द्वन्द्वात्मक भौतिकवाददेखि अवसरवादसम्मको विचलन:
कम्युनिष्ट दर्शनको मेरुदण्ड द्वन्द्वात्मक भौतिकवाद हो, जसले समाज र विचारलाई निरन्तर परिवर्तनशील मान्छ। तर नेपालका नेताहरूले यस सिद्धान्तलाई अध्ययन र व्यवहारमा लागू गर्नुभन्दा पनि, आफ्नो स्वार्थ अनुसार व्याख्या गर्न थाले। नतिजा: विचार एकातिर, व्यवहार अर्कोतिर। सिद्धान्त केवल भाषणमा सीमित रह्यो, जबकि संगठन र नेतृत्वमा पद, प्रतिष्ठा र अवसरवाद हाबी भयो। यसै कारण वैचारिक एकता कमजोर हुँदै पार्टीहरू टुक्रिँदै गए। सैद्धान्तिक निष्ठाको अभावमा पद र शक्ति प्रतिस्पर्धाको लडाइँ पार्टी विभाजनको मुख्य कारक बन्न पुग्यो।
२. फुट र एकताको दोहोरो चक्र:
नेपालको कम्युनिष्ट आन्दोलनमा ‘फुट र एकता’ दुई पाटोको सिक्का जस्तै छन्। पार्टी जब सत्ता नजिक पुग्छ, व्यक्तिगत स्वार्थ र गुटबन्दी बलियो हुन्छ र विभाजन हुन्छ; जब आन्दोलन कमजोर हुन्छ, अनि सत्ता समीकरणका लागि एकताको नारा उठ्छ। तर त्यो एकता प्रायः वैचारिक वा सैद्धान्तिक होइन, सत्ता-साझेदारीमा आधारित हुन्छ। यही कारणले हरेक एकता केही वर्षमै नयाँ फुटको पूर्वाभ्यास बन्न पुग्छ। बडो बिडम्बना छ कि ैबैचारिक मतभेदलाई नेतृत्व विवाद ढाक्ने आवरण बनाइन्छ, जसले मार्क्स, लेनिन वा माओवादको नाममा गुटीय स्वार्थलाई वैचारिक वस्त्र लगाइदिन्छन्।
३. एकतामा अवरोधका मूल कारणहरू:
कम्युनिष्ट पार्टीहरूमा एकता हुन नसक्नुका पछाडि केही गम्भीर संरचनागत र संस्कारगत समस्याहरू छन्:
विचारभन्दा पद र सत्ताको लोभ: नेताहरूबीच पार्टी र सिद्धान्तभन्दा आफ्नो पद सुरक्षित गर्ने प्रवृत्ति।
आन्तरिक लोकतन्त्रको अभाव: संगठनभित्र लोकतान्त्रिक अभ्यासको कमी, जसले सामूहिक नेतृत्वको सट्टा व्यक्तिवादी र नेतामुखी संरचना निर्माण गर्छ।
वंशवाद र दम्भ: पुराना नेताहरूको अनुभवको दम्भ, आत्मालोचना नगर्ने प्रवृत्ति र नयाँ पुस्तालाई स्थान नदिने अहंकार।
भ्रष्टाचार र वैचारिक पतन: भ्रष्टाचारमाथिको नरम नीति र वैचारिक शुद्धतामा ह्रास।
यी कारणहरूले बाम आन्दोलन जनता भन्दा टाढा र केवल पार्टी कार्यालयहरूमा सीमित बनेको छ।
४. पश्चिम बङ्गालको नियति: नेपाललाई गम्भीर चेतावनी
भारतको पश्चिम बङ्गालमा कम्युनिष्ट आन्दोलन ३४ वर्षसम्म सत्तामा रह्यो, तर नेतृत्व अहंकारी बन्दै गएपछि, नोकरशाहीकरण हावी भएपछि र जनमुद्दाहरू ओझेलमा परेपछि अन्ततः जनताबाट टाढा भएर पतन भयो।
आज नेपालका कम्युनिष्ट पार्टीहरूमा पनि त्यही लक्षण देखिन्छ- सत्ता र संगठनलाई जनहितभन्दा माथि राख्ने प्रवृत्ति। यदि यही अवसरवादी र फुटवादी प्रवृत्ति जारी रह्यो भने, नेपालको कम्युनिष्ट आन्दोलन पनि पश्चिम बङ्गालकै नियतिमा पुग्ने खतरा छ। यो एउटा गम्भीर राजनीतिक दुर्घटना हुनेछ, जसले लोकतन्त्र र समाजवाद दुवैलाई कमजोर बनाउनेछ।
५. जेन-जी आन्दोलनले सिकाएको पाठ:
हालै देखा परेको ‘जेन-जी आन्दोलन’ले नेपाली बाम नेताहरूलाई गम्भीर चेतावनी दिएको छ कि अब पुरानो शैलीको राजनीति चल्दैन।
यो पुस्ता अन्धानुकरण गर्दैन। उनीहरू जवाफदेहिता, पारदर्शिता र सैद्धान्तिक निष्ठा खोज्छन्। नेताहरूले जनयुद्ध र क्रान्तिको कथा सुनाएर मात्रै युवालाई आकर्षित गर्न सक्दैनन्; जबसम्म उनीहरू व्यवहारमा इमानदार, भ्रष्ट्राचारमुक्त र वैचारिक रूपमा स्पष्ट हुँदैनन्। केपी शर्मा ओलीले यो नयाँ चेतनालाई ‘अराजक’ भनेर खारेज गर्नुले उनीहरूमा रहेको पुरातन सोच र जनताको चेतनाको नयाँ लहरलाई बुझ्न नसकेको पुष्टि गर्छ। जेन-जी आन्दोलनले नेताहरूलाई आत्मसमीक्षा गर्न र वैचारिक रूपान्तरण गर्न बाध्य बनाएको छ।
६. अबको कम्युनिष्ट आन्दोलन र नयाँ पुनर्जागरण:
नेपालका कम्युनिष्टहरू टुक्रिएका छन्, तर विचार अझ जीवित छ। यसलाई पुनर्जीवन दिन निम्न आधारहरू आवश्यक छन्:-
क. वैचारिक स्पष्टता र सिद्धान्तिक अनुशासन: सिद्धान्त र व्यवहारबीचको दूरी घटाउने।
ख. आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्व: व्यक्तिवादको अन्त्य गरी संगठनभित्र लोकतान्त्रिक अभ्यास गर्ने।
ग. युवा पुस्ताको अग्रणी सहभागिता:
नयाँ पुस्तालाई अग्रभूमिमा ल्याउने र प्रविधि तथा पारदर्शिताको संस्कार विकास गर्ने।
घ.भ्रष्टाचारमाथि कठोर अनुशासन:
भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अपनाउने।
ङ. जनसरोकारमा केन्द्रीत कार्यक्रम:
शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक न्यायमा केन्द्रित भएर काम गर्ने।
निष्कर्ष:
नेपालका कम्युनिष्ट नेताहरूले अब पुरानो सत्तामुखी राजनीति छोडेर विचारको एकता, व्यवहारको निष्ठा, र जनताको पक्षमा समाजवादी पुनर्जागरणको बाटो समात्नुपर्छ।
अन्तिम प्रश्न यही हो: नेपालका कम्युनिष्टहरू पश्चिम बङ्गालको पतनबाट सिक्ने कि त्यसै दिशामा हिंड्ने?
जवाफ सरल छ-उनीहरूको इमान, आत्मालोचना र नयाँ पुस्ता स्वीकार्ने साहसमा निर्भर छ। गुटगत स्वार्थमा हैन,एकीकृत बृहत क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरी बैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुको बिकल्प छैन ।