Khulla Bichar Online

आधा आकाशको मौन आवाज !

लक्ष्मी लामा

केन्दिय सदस्य

एकिकृत अखिल नेपाल शिक्षक संगठन

काभ्रेपलाञ्चोक जिल्लाको एक विकट भूगोल-नाग्रे गगर्चे, चौरी देउराली गाउँपालिका वडा नम्बर २ यहाँका जनताले आफूलाई राजधानीको छायाँमा भए पनि सुविधाको उज्यालो कहिल्यै महसुस गर्न पाएनन्। सहरका बासिन्दाहरूले यस क्षेत्रलाई ‘कर्णाली’ सँग तुलना गर्छन्, जुन तुलना भौगोलिक विकटतासँग मात्र होइन, अवसरको अभाव, अभ्यस्त गरिबी र बिर्सिएको पीडासँग पनि मेल खान्छ। काठमाडौ राजधानीबाट करिब ९० किलो मिटर धुलिखेल सदरमुकामबाट ६५ किमि मात्रै टाढा यो क्षेत्रमा एसिया कै दोस्रो ठूलो पहिरोको जोखिम छ, जहाँ बाँच्नु आफैँमा चुनौती हो। तर त्यो भन्दा ठूलो पहिरो यहाँका महिलाहरूको जीवनमा छ।अवसरको, पहुँचको, आवाजको अभाव छ। यतिखेर गाउँमा बाँकी रहेका छन् त वृद्धबृद्धा, महिलाहरू र केही बालबालिका। युवाहरू रोजगारीको खोजीमा देशबाहिर छन्, र उनीहरूको परिवार सहरको सुविधासम्पन्न झिल्कोहरुमा हराइरहेका छन्। गाँउमा बाँकी रहेको छ त एउटा मौन आवाज-जुन आवाज महिलाहरूको हो। यहाँका महिलाहरूको जीवन  घरका भित्ताहरू र खेतका कान्ला भन्दा पर गइसकेको छैन। बिहानको झिसमिसे देखि रातको अँध्यारोसम्म उनीहरू श्रममा डुबिरहेका हुन्छन्-भाँडा माझ्ने देखि खेत,वारि खन्ने सम्म, गाईभैंसीको स्याहारदेखि बालबच्चाको पालन पोषण सम्म। घाँस दाउरा देखि,गाई बाख्राको गोठालो सम्म तर उनीहरूको श्रमले कहिल्यै मूल्य पाउँदैन। गाई,भैसी,बाख्रा,कुखुरा बेच्ने कि नबेच्ने, छोरी पढाउने कि घरमै राख्ने, संघसंस्थाको कार्यक्रममा जाने कि नजाने-यी सबै निर्णयहरू उनीहरूको हातमा हुँदैनन्। शब्दमा “महिला सशक्तिकरण” बारम्बार दोहोरिए पनि व्यवहारमा उनीहरूको जीवन सधैं आश्रित बनेर बाँधिएको छ। श्रीमानको इच्छा र समाजको परम्पराले कोरेको घेराभित्र छ। सरकारको हरेक आर्थिक वर्षको बजेटमा महिला सम्बन्धी कार्यक्रमहरूको लिस्ट सुनिन्छ-सशक्तिकरण, सीपमूलक तालिम, आत्मनिर्भरता-आदि आदि, तर यस्ता कार्यक्रम गाउँको मुलभुत बर्ग सम्म कहिल्यै आइपुग्दैनन्। आइपुगे पनि सिमित प्रतिनिधिहरू, पुरुषहरू वा पहुँचवालाहरूले हाइहलो सहित उपयोग गर्छन्, महिलाहरू भने उही गोठ र मेलापात मै व्यस्त रहन्छन्। महिला हरूको चेतना स्तर बढेको छैन भन्नु अन्याय हुन्छ,उनीहरू बुझ्छन्, बुझ्न थालिरहेका छन्, तर बोल्ने अवसर छैन। उनीहरूको शिक्षा अधुरो छ, सामाजिक हिम्मत कमजोर छ, र आवाज सधैं दबाइन्छ। उनीहरूको आत्मसम्मान परिवारको ‘इज्जत’ मा सीमित छ, उनीहरूको स्वतन्त्रता सधैं अरूको अनुमति सँग जोडिएको छ। “आधा आकाश ओगटेका महिलाहरू” भन्ने नारा हामीले धेरै पटक सुनेका छौं। राजनीतिक दलको कार्यक्रम देखि एनजिओको कार्यक्रम सम्म तर व्यवहारमा उनीहरूलाई आकाश हेर्न समेत डर लाग्छ, किनकि सपना सहित उड्न खोज्दा समाजले पखेटा काटिदिन्छ। पर्खाल चिरेर बाहिर निस्कन चाहँदा प्रश्न उठाइन्छ-किन ? कहाँ ? के को लागि ? कसको अनुमतिमा ? यसरी नै पुस्तो पुस्ता बित्यो। अब नयाँ पुस्तालाई पनि त्यही अँध्यारो पर्खाल भित्र कैद गरेर राख्ने हो भने, हामीले कोर्ने योजनाहरू,भट्याउने भाषणहरु,लेख्ने घोषणापत्रहरू, बजेट विवरणहरू आदर्श र कागजमै सीमित हुनेछन्। अब सुनुवाइ आवश्यक छ। आवश्यक छ,समावेशी योजना,सत्य र निष्ठा सहितको जीवन व्यवहार ,जहाँ महिला आफैं सहभागी होऊन्, निर्णयकर्ता बनून्। जनयुद्धको फौजी मोर्चामा जस्तै पहिलो बंकरमा हाेस। पहिलो पंक्तिमा होस। हरेक चुनौतिको सामाना गर्न महिलाहरु सक्षम छन्। उनीहरूलाई सीपमूलक तालिम मात्र होइन, निर्णय गर्न सक्ने शक्ति र वातावरण पनि दिनुपर्छ। नारी सशक्तिकरणको अर्थ केही सीमित देखावटी कार्यक्रम होइन, उनीहरूको जिन्दगीमा देखिने परिवर्तन हुनुपर्छ । जहाँ उनीहरू आफैं अगाडि बढ्न सकून्,अप्ठ्यारोमा आफै निर्णय लिन सकुन,आफ्नो सपना आफैं कोर्न सकून्। र टाउको होईन खुट्टा टेकेर फटाफट हिड्न सकुन। त्यो दिन कहिले आउला ?जब गाउँको कुनै पनि आमाले बिहान बाल्टी उठाउँदै गर्दा,कुचो र झाँडु हातमा लिदै गर्दा,पँधेरो जाँदै गर्दा,मेलापात गर्दै गर्दा,नानीबाबु कोक्रोका हल्लाउँदै गर्दा भन्न सकून्-“आज म आफ्नो निर्णय आफैं गर्छु।” त्यो दिन आउँदा मात्र हामी भन्न सक्नेछौं- “हो, महिलाले आधा आकाश मात्र होइन, पुरै संसार ओगट्न सक्छिन्।”रोजा लक्जेमबर्गले भने झै”कोक्रो हल्लाउने हातहरुले संसार हल्लाउन सक्छ”।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.