
शिबी लामा

नेपाली राजनीतिमा कार्यकर्ता टिकिरहनु र जनताको भरोसा खस्कँदै जानु संयोग होइन, यो संरक्षणवादले निर्माण गरेको संरचनागत यथार्थ हो। आज राजनीतिक दलहरू विचार, दर्शन वा कार्यक्रमका कारण होइन, लाभ र अवसरको संरक्षणका कारण जीवित छन्। यही कारणले लोकप्रियता घट्दासमेत नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता मजबुत रूपमा दलमा टिकिरहेका छन्। राज्यका लगभग सबै क्षेत्रमा दलीय पकड विस्तार भएको छ। ठेक्कापट्टा, करार नियुक्ति, प्रहरी प्रशासनदेखि निजामती सेवा, न्यायालय, विश्वविद्यालय, संवैधानिक निकाय, मन्त्रालयका करार कर्मचारी, जिल्ला समन्वय समिति, बैंकिङ र सहकारी, निजी विद्यालय तथा अस्पताल, एनजीओ/आईएनजीओ र प्रतिष्ठानहरूमा कांग्रेस र एमाले निकट कार्यकर्ताको प्रभाव गहिरो छ। यी संरचनागत अवसरहरूले कार्यकर्तालाई पार्टीप्रति निष्ठावान बनाइराखेको छ, चाहे जनसमर्थन खस्कँदै जाओस्। तर आम जनताका लागि दर्शनभन्दा पेट ठूलो मुद्दा हो। “दर्शनले भोको पेट भर्दैन” भन्ने यथार्थ जनताले अनुभूति गरेका छन्। रोजगारी, स्वास्थ्य, शिक्षा र आधारभूत सेवाहरू जनताको प्राथमिकता हुन्। तर सत्ताधारी दलहरू नीतिगत सुधारभन्दा नीतिगत भ्रष्टाचारमा रमाइरहेका छन्। बिचौलिया, भूमाफिया र ठेकेदारसँग कांग्रेस र एमालेका प्रभावशाली नेताहरूको साँठगाँठका आरोपहरू लगातार उठिरहेका छन्। सार्वजनिक संस्थाहरूको दलीयकरण, भागबन्डाका नियुक्ति र संस्थागत भ्रष्टाचारले सुशासन कमजोर बनेको छ। एक समय परिवर्तनको आशा बोकेको तत्कालीन माओवादी पनि यसबाट अछुतो रहेन। वैज्ञानिक समाजवादको नारासहित सत्तामा पुगे पनि कार्यकर्ता संरक्षणका लागि दीर्घकालीन योजना ल्याउन नसक्नु र सत्ताको स्वाद सीमित नेतामा केन्द्रित हुनु यसको मुख्य कमजोरी बन्यो। परिणामस्वरूप, माओवादीको कार्यकर्ता आधार क्रमशः कमजोर बन्दै गयो। विपरीत रूपमा, कांग्रेस र एमालेले संरक्षणवादको जाल फैलाएर कार्यकर्तालाई बाँधिराखेका छन्। यही कारण हो,लोकप्रियता घट्दासमेत यी दलहरूको संगठनात्मक संरचना जोगिएको छ। तर समय परिवर्तनको संकेत दिइरहेको छ। आज राजनीति लोकप्रियवादतर्फ उन्मुख छ,जहाँ तत्काल रोजगारी, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रण मुख्य एजेन्डा बनेका छन्। यदि दलहरूले संरक्षणवाद त्यागेर जनताको रोजीरोटीलाई प्राथमिकता दिएनन् भने जनविश्वास अझै गहिरो रूपमा गुम्नेछ। जनताको धैर्य अब सीमामा पुगेको छ। सुशासन, जवाफदेहिता र जनमुखी राजनीति बिना पुराना दलहरूलाई समयले आफैं विस्थापित गर्न सक्छ। परिवर्तन अब आवश्यकता मात्र होइन, अपरिहार्यता बनिसकेको छ।