Khulla Bichar Online

महाधिवेशनको स्यापु

  •  ईमान सिं याेन्जन तामाङ(गुँरास)

आगोले पोलेको दाग

महाधिवेशनको स्यापुले धुने ?

हाँसास्पद कुरा हो

धुने बेलामा आफू आफ्नै जुठो हात

पानीमा आधा डुबाएर धुइँरहे जस्तो।

ब्यानर बदल्नुस् रंग बदल्नुस्

घोषणा पत्र बदल्नुस्

तर धनको गन्ध

कुर्सीको नसा

र रक्सीको रात

कसले बदल्ने ?

हरियो माइक समातेर

नयाँ युग, नयाँ परिवर्तन

मुलुक होइन

रक्स्याउ नाटककाे

नयाँ प्रिमियरजस्तो लाग्छ।

दाग धुँदा धुन सकिँदैन

किनकि दाग?

आगोले होईन

पासपोर्ट, टेन्डर र कमीशनले

पोलेर छाडेको हो।

आगोको दाग धुने बहाना कति बनाउने?

स्यापुले दाग धुने होइन

दाग देखिने ठाउँमा अर्को ब्यानर टाँस्ने काम मात्रै गर्छ

जसरी घाउको मुखमा टेको बाँधेर

जनताको आँखा छल्नेहरू गर्छन्।

घोषणा पत्र?

रक्सीका बिल, होटलका बिल र अनुदानको रकम

लेखिएको ‘गोप्य कागज’ हो त्यो

जहाँ क्रान्ति होइन

‘ठेक्का–पट्टा’ लेखिन्छ।

कुर्सीमा बस्ने आशाले

इतिहासलाई पनि लात हानिन्छ यहाँ

फेरि माइक्रोफोन समातेर

देशको भविष्य बेच्छन्

जसरी पुरानो मोबाइल बेचिन्छ सस्तो मुल्यमा।

दाग धुन खोज्नेहरूलाई थाहा छैन

यो दाग आगोले हैन

दलाल र ठेकेदारका हातले पोलेको हो।

महाधिवेशनको धुँवा

जनताको छातिमा अड्किएको छ

तर उनीहरूका गिलासमा

रक्सीका बुलबुला नाचिरहेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.