
दल किन फुट्छ ? दल फुट्नु कुनै आकस्मिक घटना होइन। त्यो दीर्घकालीन असन्तुष्टि, स्वार्थी राजनीति, कमजोर नेतृत्व, र सिद्धान्तप्रति उदासीनताको परिणाम हो।

राजनीतिक दलहरू लोकतन्त्रको मुख्य आधार मानिन्छन्। दलहरू कुनै एक व्यक्तिको व्यक्तिगत चहाना वा महत्वकांक्ष पूरा गर्न बनेका संस्था होइनन्। दलहरूको अस्तित्वका तीन प्रमुख आधार हुन्छन् सिद्धान्त,विचारधारा, र सामूहिक परिवर्तनको उद्देश्य। सिद्धान्त भनेको एउटा मार्गदर्शन हो । विचारधारा भनेको त्यो मार्गमा अघि बढ्ने सोच हो, र सामूहिक उद्देश्य भनेको देश र समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य हो। तर यो त सिद्धान्तको कुरा मात्र हो। व्यवहारमा भने आजको राजनीति धेरै हदसम्म यो सिद्धान्त र विचारधारा भन्दा व्यक्तिगत स्वार्थ, शक्ति, प्रतिस्पर्धा र नेतृत्वको महत्वकांक्षले चल्ने ठाउँजस्तै देखिन्छ। यही स्वार्थ र प्रतिस्पर्धाबाट नै दलभित्र फुट, विभाजन, आरोप, प्रत्यारोप र अविश्वासको वातावरण निर्माण हुन्छ। दल किन फुट्छ ? दल फुट्नु कुनै आकस्मिक घटना होइन। त्यो दीर्घकालीन असन्तुष्टि, स्वार्थी राजनीति, कमजोर नेतृत्व, र सिद्धान्तप्रति उदासीनताको परिणाम हो।
दलभित्र फुट बढ्ने प्रमुख कारणहरू
व्यक्तिगत स्वार्थको हावीपन राजनीतिक इतिहासले देखाएको एउटा कटु तर सत्य तथ्य यही हो जब व्यक्तिगत महत्वकांक्ष सामूहिक उद्देश्यभन्दा ठूलो हुन्छ, दलभित्र फुट अवश्य हुन्छ। नेताहरूका स्वार्थ धेरै प्रकारका हुन्छन्
पद प्राप्त गर्ने स्वार्थ शक्ति केन्द्रमा आफूलाई प्रमुख बनाउने चहाना, आर्थिक स्रोतमा पहुँच बनाउने चहाना, समूहलाई नियन्त्रण गर्ने चहाना।
जब यी स्वार्थहरू खुला प्रतिस्पर्धामा आउँछन्, त्यहाँ सहकार्य होइन, प्रतिस्पर्धा र विभाजन जन्मिन्छ। दलको बैठक, सम्मेलन, महाधिवेशन सबै केही सिद्धान्तको बहसभन्दा पदको ‘खेल’ जस्तै देखिन थाल्छ।
बनावटी आरोप र प्रचारको राजनीति केवल विचारको बहस हो भने स्वस्थ हुन्छ। तर आज आरोपको भाषा, झूटको प्रचार,आफ्नो कमजोरी लुकाएर अर्कालाई दोष दिने अभ्यास यी सबै राजनीति चलाउने सामान्य तरिका झैं भइसकेका छन्। सामान्य कार्यकर्ता, जनताले देख्न नसक्ने अन्तर्युद्धहरू चलिरहेका हुन्छन् कसरी आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर बनाउने? कसरी उसको छवि बिगार्ने?
कसरी उसको विश्वसनीयता कम गर्ने? यिनै कारणले विचारमा मतभेद होइन, सिद्धान्तमा बहस होइन, राष्ट्रहितको कुरा होइन,
बरु स्वार्थ छोप्ने ‘राजनीतिक नाटक’ सतहमा आउँछ। यस्ता आरोपहरू प्रायः सत्यतामाथि आधारित हुँदैनन् अधुरो तथ्य, अफवाह, सामाजिक सञ्जाल प्रचार। यसले केवल दलभित्र अविश्वास बढाउँछ।
सिद्धान्तको उपेक्षा राजनीतिक दल हुनुको मुल आधार नै सिद्धान्त हो। तर सिद्धान्तभन्दा व्यक्ति ठूलो विचारभन्दा धन–बल ठूलो,राष्ट्रहितभन्दा व्यक्तिगत लाभ ठूलो भयो भने, दलको मेरुदण्ड कमजोर हुन्छ। दल केवल चुनाव जित्ने मेसिन बन्छ। विचारहरू केवल भाषणका शब्द बन्छन्। एजेण्डा केवल कागजमा मात्र रहन्छ। यस्तो अवस्थामा दलको दिशा हराउँछ। र दिशा हराएपछि, फुट अवश्य हुन्छ। दलभित्र फुट हुँदा के–के हुन्छ ? नेतृत्व कमजोर हुन्छ। दोहोरो–तिहरो गुट बन्न थाल्छ। निर्णय प्रक्रियामा अस्थिरता आउँछ। पार्टीको विश्वसनीयता घट्छ। जनतामा अविश्वास फैलिन्छ। दल फुट्नु केवल राजनीतिक घटना होइन यो लोकतान्त्रिक संस्कृतिलाई नै धक्का पुग्ने प्रक्रिया हो। फुटको गहिरो असर : जनतामाथिको प्रभाव जब एक दल फुट्छ, त्यसको असर केवल दलभित्र सीमित हुँदैन। यसले जनतामा निराशा उत्पन्न गर्छ लोकतन्त्रप्रति विश्वास कमजोर पार्छ
विकास र नीति निर्माणमा अवरोध पुर्याउँछ
स्थायित्व कमजोर हुन्छ । जनताले सोध्न थाल्छन्
यिनैले देश चलाउने ? यिनै नेतृत्वलाई विश्वास गर्ने ? यसरी दलभित्रको फुटले देशकै भविष्यलाई अनिश्चिततामा धकेल्छ। किन दल फुट्नु सामान्य होइन? सामान्य बहस–विवाद लोकतन्त्रको सुन्दर पक्ष हो। तर फुट ? फुट भनेको सिद्धान्त कमजोर भइरहेको संकेत
स्वार्थ बलियो भइरहेको संकेत गुटगत राजनीति बढिरहेको संकेत लोकतन्त्रमा रोग लागिरहेको संकेत यो चेतावनी हो । दलभित्र ‘आन्तरिक लोकतन्त्र’ कमजोर हुँदैछ। दल फुट रोक्न के आवश्यक छ ? सिद्धान्तप्रति प्रतिबद्धता
नेतृत्वको प्राथमिकता व्यक्तिगत पद होइन, सिद्धान्त हुनु आवश्यक। पारदर्शी निर्णय प्रक्रिया नेतृत्व पारदर्शी नहुँदा गुटबन्दी बढ्छ।
सहकार्य र संवादको संस्कृति आफ्नै सदस्यलाई शत्रु मान्ने प्रवृत्ति हटाउनुपर्छ। शक्ति होइन, सेवा मनोभावना राजनीति सेवा हो कि व्यापार ?
यसको जवाफले नै दलको भविष्य निर्धारण गर्छ। दल, नेतृत्व र राष्ट्रहितको प्राथमिकता
राजनीति सफा बन्नका लागि व्यक्ति – पार्टी विचार- पार्टी विचार – राष्ट्र हित भन्ने मनोविज्ञान आवश्यक छ। जब राष्ट्रहित ठूलो हुन्छ।
एकता बलियो हुन्छ। फुट कम हुन्छ। जनविश्वास बढ्छ। लोकतन्त्र स्थिर हुन्छ। दलको बल केवल सदस्य संख्यामा होइनसिद्धान्त, अनुशासन, न्याय र सेवाभावमा निहित हुन्छ।
अन्त्यमा
दल फुट्नु केवल पदको झगडा होइन,
आरोपको खेल होइन, व्यक्तिगत लडाइँ होइन।
यो एउटा गहिरो रोग हो। रोगको उपचार
सहकार्य, विचार, पारदर्शिता, र निष्ठाबाट मात्र सम्भव छ। यदि राजनीतिक दलहरू साँच्चै स्थिर, स्वच्छ र जनमुखी बन्न चाहन्छन् भने व्यक्तिको स्वार्थभन्दा देश–जनताको हित ठूलो हुनुपर्छ। राजनीति त्यो बेला शुद्ध हुन्छ ,जब नेताले पद होइन, जिम्मेवारी देख्छ। जब दलले जीत होइन, न्याय देख्छ। जब सदस्यले स्वार्थ होइन, राष्ट्र देख्छ। त्यसैले दलभित्रको फुट कुनै सुरुवात होइन चेतावनी हो। र चेतावनी सुनेर परिवर्तन गर्ने समय अहिले नै हो।
-इमानसिं तामाङ (गुराँस )