Khulla Bichar Online

माओवाद : इतिहास होइन, आजको आवश्यकता

नेपालमा माओवादी आन्दोलन उठ्नु, आफ्नो मार्ग पहिल्याउनु र परिवर्तनका लागि अग्रपंक्तिमा उभिनु,यी सबै कुराको ऐतिहासिक महत्व छ। केहीले भन्छन्, माओवादीहरू बिर्सिए, कमजोर भए, बाटो छुटे।

  • ईमान सिं याेन्जन (गुँरास)

विश्वभरका क्रान्तिकारीहरूले आज पनि माओका विचारलाई इतिहासको विषय होइन, मुक्तिको यात्रामा जलिरहेको दीपका रूपमा हेर्छन्। माओले दिएको योगदान कुनै एक देशको सीमामा सीमित छैन; शोषण, दमन र अन्यायबाट मुक्ति खोजिरहेका सबै राष्ट्रहरूको साझा दिशानिर्देशक हो।

नेपालमा माओवादी आन्दोलन उठ्नु, आफ्नो मार्ग पहिल्याउनु र परिवर्तनका लागि अग्रपंक्तिमा उभिनु,यी सबै कुराको ऐतिहासिक महत्व छ। केहीले भन्छन्, माओवादीहरू बिर्सिए, कमजोर भए, बाटो छुटे।

यस्ता आरोप लगाउनेहरूको आवाज केही देखिन सक्छ, तर माओवादी आन्दोलनले जन्माएको जनचेतना, वर्गीय चेतना र परिवर्तनको आधार त्यति सजिलै मेटिने कुरा होइन। अमिट छाप बनेर बसेकाे छ ।

माओवादी आन्दोलनले दिएको सबैभन्दा ठूलो योगदान जनताको आत्मविश्वास हो। माओवादी आन्दोलनभन्दा अघि गरिबको आवाज राज्यमा सुनिँदैनथ्यो, युवाले भविष्य देख्दैनथे। पहाड, गाउँ र भेग–भेगतिर राज्यका सेवा पुग्दैनथे।

माओवादी आन्दोलनले हजारौँ वर्षदेखि दवाइएका वर्गहरूलाई बोल्न सिकायो। यति बेलाका नीति, कार्यक्रम र संरचनात्मक परिवर्तन आज राष्ट्रका मेरुदण्ड बनेर उभिएका छन्। यी सबै माओवादी आन्दोलनका मुख्य हिस्सा हुन्।

माओवादी आन्दोलन र माओले सिकाएको कुरा हाे ,परिवर्तन असम्भव छैन। जनता नै परिवर्तनका आधार हुन्। नेपालमा त्यो देखियो। बिश्वभरी प्रमाणित भैरहेकाे छ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना,यी सबै इतिहासका पानामा लेखिएका शब्द मात्र होइनन्। यी परिवर्तनहरू माओबादी दर्शन, जनताको चाहना, साहस र संघर्षबाट सम्भव भए।

केही व्यक्तिको कमजोरीले विचार मेटिँदैन। आज केही नेताहरू कमजोर देखिन सक्छन् ,कतै भ्रष्टाचार, कतै स्वार्थ, कतै परिवारवाद पनि देखिन्छ। तर विचार भने आत्मालाई छेड्ने धारिलो चट्टान हो। व्यक्तिको कमजोरीले विचारको महत्व कदापी  घटाउँदैन।

माओवाद कुनै एक पार्टीको सम्पत्ति होइन। यो श्रमिक, किसान, गरिब र उत्पीडित सबैको ऐतिहासिक विरासत हो।

माओवादी मूल्य किन अझै आवश्यक छन्?

आज नेपाल फेरि बेरोजगारीको मारमा छ। मूल्यवृद्धिले जनतालाई दबाइरहेको छ, भ्रष्टाचारले देशको ढुकुटी चुसिरहेको छ। यस्तो समयमा माओवादी मूल्य,समता, न्याय, शोषणविरुद्ध उठ्ने साहस, भ्रष्टाचारविरुद्ध जनसंगठन र परिवर्तनको स्पष्ट दिशा अझै सान्दर्भिक र आवश्यक छन्।

माओवादी आन्दोलनको एउटै सार राष्ट्रनिर्माण हाे।

आज माओ दिवसले हामीलाई एउटा सरल कुरा सम्झाउँछ।आन्दोलन  बन्दुकको आवाज मात्र होइन, विचारको अनुशासन हो। क्रान्ति परिवर्तन मात्रै होइन,गहन जिम्मेवारी पनि हो।

नेपालका माओवादीहरूले जुनसुकै मोडमा भए पनि त्यो जिम्मेवारी जनताको पक्षमा उभिएर कहिल्यै बिर्सनु हुँदैन। यही अपेक्षा, यही जनताको विश्वास र यही आन्दोलनको शक्ति हो।

अन्तमा, माओवाद बिर्सिँदैन, किनकि जनताको पीडा अझै बाँकी छ। समाजबादकाे लक्ष टाढा छैन तर पुग्नु छ। कुरा काट्नेहरूले भन्न सक्छन् ,माओवादी सकियो। तर परिवर्तनका पक्षमा उभिने जनताको शक्तिले सधैँ उत्तर दिन्छ। विचार सकिँदैन, सकिन्छ त केवल व्यक्तिगत स्वार्थ।

आज माओको १३३औँ जन्मजयन्ती-माओवाद आलोचना होइन; उठ्नेहरूको सान, लड्नेहरूको साहस र भविष्य खोज्नेहरूको प्रकाश हो। १३३औँ माओ जन्मजयन्तीले सबैमा सकारात्मक ऊर्जा पैदा गरोस् शुभकामना ।

महान् माओत्सेतुङप्रति उच्च सम्मान-लाल सलाम।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.