Khulla Bichar Online

संघीयताको विरोध किन गरिन्छ ?

ईमान सिं याेन्जन(गुँरास)

नेपालमा संघीय गणतन्त्र कुनै प्रयोग वा जोखिम होइन, बरु जनताको लामो संघर्षबाट प्राप्त भएको अधिकार हो।

नेपालमा संघीय गणतन्त्र कुनै प्रयोग वा जोखिम होइन, बरु जनताको लामो संघर्षबाट प्राप्त भएको अधिकार हो। तर आज पनि कतिपयले संघीयताको विरोध गरिरहेका छन्। किन ? यसको उत्तर खोज्दा तीन कुरा स्पष्ट देखिन्छन् । गलत बुझाइ, परिवर्तनप्रतिको डर र पुरानो वर्चस्व जोगाउने प्रयास।

१. संघीयताप्रति गलत बुझाइ

नेपालमा धेरैले संघीयताको सही अर्थ बुझ्न सकेका छैनन्। कतै सुनिन्छ, संघीयता आएपछि देश टुक्रिन्छ। फेरि कतै भनिन्छ, संघीयता त खर्चिलो व्यवस्था हो। तर संघीयताको वास्तविक अर्थ यो होइन।

संघीयता भनेको देश टुक्र्याउने व्यवस्था होइन, बरु देशलाई अझ बलियो बनाउने प्रणाली हो। यसले सरकारलाई जनतासँग नजिक ल्याउँछ। जब सरकार काठमाडौंमै मात्र सीमित हुन्छ, टाढाका गाउँ-शहरका नागरिकले सानो प्रमाणपत्र लिन पनि धेरै दिन, धेरै पैसा र धेरै झन्झट सहनुपर्छ।

संघीयता आएपछि प्रदेश र स्थानीय तह बने। साना–साना निर्णय, सेवा, कागजपत्र र विकास योजना अब काठमाडौंमा होइन, जनताको घर–घर नजिकैबाट सञ्चालन भइरहेका छन्। सरकार जति नजिक हुन्छ, सेवा त्यति छिटो हुन्छ । झन्झट कम हुन्छ र जवाफदेहिता बढ्छ। जनताले प्रश्न गर्न, दबाब दिन र सहभागिता जनाउन सजिलो हुन्छ। यही नै संघीयताको मूल भावना हो। शक्ति तल-तल गाउँसम्म पुर्‍याउनु र जनतालाई राज्यका निर्णयमा प्रत्यक्ष सहभागी बनाउनु।

२. परिवर्तनप्रतिको मनोवैज्ञानिक डर

एकात्मक राज्य व्यवस्थाले नेपाललाई लामो समयसम्म बाँधेर राख्यो। सारा शक्ति राजधानीमै थन्कियो, निर्णय केही सीमित व्यक्तिहरूकै हातमा रह्यो र जनताको वास्तविक आवाज टाढै हरायो।

संघीयता आएपछि शक्ति माथिबाट तल-राजधानीबाट गाउँ–नगरसम्म पुग्यो। शिक्षा, स्वास्थ्य, विकास र प्रशासनमा स्थानीय तहको अधिकार र जिम्मेवारी बढ्यो। यही परिवर्तनलाई धेरैले सहजै स्वीकार गर्न सकेनन्। किनकि पुरानो बानी र पुरानै तरिका छोड्न मानिसलाई गाह्रो पर्छ।

नयाँ संरचना बुझ्न, नयाँ काम सिक्न र कसले के गर्ने भन्ने भूमिकाको पुनर्संरचना गर्न समय चाहिन्छ। तर परिवर्तन भनेकै नयाँ ढोका हो। यदि ढोका नै नखोल्ने हो भने उज्यालो कसरी देखिन्छ ? विकास, समानता र न्याय परिवर्तनको बाटो हुँदै मात्रै सम्भव हुन्छन्। संघीयता पनि त्यस्तै एउटा परिवर्तन हो। अधिकार आफ्नै हातमा आएको अनुभूति लिन समय लाग्ला, तर परिवर्तन स्वीकार गरेसँगै देशको गति र नागरिकको जीवन दुवै बदलिन थाल्छन्।

३. पुरानो वर्चस्व घट्ने डर

केही समूहले सदियौंदेखि राज्य शक्ति आफ्नो वरिपरि केन्द्रित राखेका थिए। संघीयताले त्यो चक्र तोडिदियो। प्रदेश र स्थानीय तह सशक्त भएपछि सबैको आवाज सुनेर निर्णय हुने अवस्था सिर्जना भयो।

यही समानताको संस्कृतिले पुरानो वर्चस्व कमजोर पार्ने डरले संघीयताविरुद्धको आवाज बलियो हुने गरेको छ। तर नेपालजस्तो विविधाले भरिएकाे देशमा सबैलाई समान अधिकार दिन संघीय गणतन्त्र नै उपयुक्त संरचना हो। पहाड, तराई र हिमाल सबैले आफ्नै प्राथमिकता अनुसार विकास गर्ने अवसर संघीयताले दिन्छ। लोकतन्त्रको आत्मा भनेकै शक्ति जनतासम्म पुग्नु हो, जुन संघीयताले व्यवहारमा उतार्छ। यसले पहिचानको सम्मान गर्छ, स्थानीय आत्मविश्वास बढाउँछ र साझा राष्ट्रिय एकतालाई अझ बलियो बनाउँछ।

संघीयताको विरोध होइन, सुधार आवश्यक

संघीयता असफल भएको होइन। असफल त त्यसको कार्यान्वयन रोकेर दोष संघीयतामाथि थोपर्ने राजनीति हो। प्रदेशलाई अधिकार नदिनु, स्रोत रोकिराख्नु र पहिचानका प्रश्नलाई कमजोर बनाउनु नै समस्याको मुख्य कारण हुन्।

सही रूपमा लागू भएको संघीयताले नेपाललाई समावेशी, न्यायपूर्ण र आधुनिक राज्य बनाउने शक्ति राख्छ।

निष्कर्ष

संघीय गणतन्त्रप्रति देखिने असन्तोष प्रायः डर, अपवादका कथाहरू र पुराना शक्ति संरचनाप्रतिको आकर्षणबाट जन्मिएको हो। तर वास्तविकता यही हो,विकेन्द्रीकरण नै समानता, पहुँच र उत्तरदायित्वको आधार हो।

समस्या संघीयता होइन; समस्या त यसलाई अढंगो बनाइदिने अपुरा कानुन र कमजोर कार्यान्वयन हुन्। जहाँ ऐन त लेखिन्छन्, तर कार्यान्वयनको बाटो अझै उकालो बाटोजस्तै छ। संघीयता कुनै संकट होइन, बरु देश र जनतालाई शक्तिशाली बनाउने दीर्घकालीन मार्गचित्र हो। त्यसैले विरोध होइन, सुधार, सुदृढीकरण र स्पष्ट कानुनी अभ्यास नै हाम्रो भविष्य उज्यालो बनाउने सही बाटो हो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.