Khulla Bichar Online

नेपाली राजनीतिक क्षितिजमा बिद्रोह,युवा जागरण, राष्ट्रिय एकता र समृद्धिको सम्भावित यात्रा

– चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे ।

नेपालको राजनीति आज गम्भीर संक्रमणको चरणमा पुगेको छ। दशकौँदेखि सत्तामा घुमिरहेकै अनुहार, उही शैलीको शासन, र जनअपेक्षाभन्दा टाढा पुगेको राजनीतिक संस्कृतिले आम नागरिकमा गहिरो निराशा जन्माएको छ। विशेषगरी युवा पुस्ता जेन-जी अब मौन बस्न तयार छैन। यदि यही असन्तोष संगठित विद्रोहमा रूपान्तरण भयो भने फेरि नेपालको राजनीति नयाँ मोडमा प्रवेश गर्न सक्छ।

कल्पना गरौँ, २०८२ भदौ २३ र २४ गते युवाको नेतृत्वमा भएको व्यापक जनआन्दोलनले पुरानो सत्ता संरचनालाई चुनौती दियो। भ्रष्टाचार, नातावाद, दलाल पुँजीवाद र कमजोर शासनविरुद्ध सडकमा उत्रिएको जनसागरले राज्यलाई पुनःसंरचना गर्न बाध्य बनायो। यस्तो परिस्थितिमा एक अन्तरिम सरकार गठन भयो, जसको प्रमुख उद्देश्य स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत जनताको म्यान्डेट पुनःस्थापित गर्नु हो।

यस्तो अन्तरिम व्यवस्थाले  २०८२ फाल्गुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्‍यो । यस निर्वाचनलाई केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन, राजनीतिक पुस्तान्तरण (political generational shift) को अवसरका रूपमा हेरिदैछ।

क. वैकल्पिक राजनीतिक शक्तिको सम्भावित उदय:

यो परिदृश्यमा सबैभन्दा रोचक पक्ष पुराना दलहरूको एकाधिकारलाई चुनौती दिने वैकल्पिक शक्तिहरूको उदय हो। राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलहरूले शासकीय सुधार, मेरिटोक्रेसी र भ्रष्टाचारमुक्त प्रणालीको एजेन्डा अगाडि सारे। यदि यस्ता शक्तिहरूले स्वतन्त्र छवि भएका लोकप्रिय व्यक्तित्वहरूसँग सहकार्य गरे भने, जस्तै-स्थानीय तहमा सुशासनको अभ्यास देखाएका नेतृत्व, वा ऊर्जा र पूर्वाधार क्षेत्रमा परिणाममुखी काम गरेका प्रशासक जसले राजनीतिक समीकरण नै फेरिन सक्छ।

युवाको समर्थन, सहर केन्द्रित मतदाता र वैकल्पिक सोचको गठबन्धनले पुराना दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पुराना दलहरुलाई गम्भीर आत्मसमीक्षामा जान बाध्य पारेको छ । दशकौँदेखि राष्ट्रवाद, समाजवाद र लोकतन्त्रको नारा दोहोर्‍याउँदै आएका यी दलहरूप्रति जनविश्वास किन ओरालो लाग्दैछ  भन्ने प्रश्न अब टारेर टार्न सकिँदैन। यतिखेर परिवर्तनको एजेन्डा बोक्ने नेपाली कम्युनिष्ट पार्टी पनि ठूलो अग्नि परीक्षामा छ ।

ख. राष्ट्रवाद : नारा कि व्यवहार?

आजको सबैभन्दा संवेदनशील प्रश्न यही हो कि के हाम्रो राजनीतिक नेतृत्व साँच्चै राष्ट्रप्रति प्रतिबद्ध छ? भनिन्छ,धेरै शीर्ष नेताहरूका परिवार विदेशमा स्थायी बसोबास गरेर बसेका छन् जसले पूँजी र भविष्य साँच्चिकै  बाहिर सुरक्षित गरिएको छ। यस्तो अवस्थामा राष्ट्रवाद केवल चुनावी नारा बनेको आरोप लाग्नु अस्वाभाविक होइन। केही साहसी राजनीतिक आवाजहरूले यो संरचनागत समस्या उजागर गरिरहेका छन्, जसले दल,राज्य र पूँजीको नेक्ससलाई चुनौती दिन थालेका छन्।

ग. भूराजनीतिक दबाब र आत्मनिर्णय:

नेपाल भारत, चीन र अमेरिकाजस्ता शक्तिहरूको रणनीतिक चासोको केन्द्रमा छ। बदलिँदो विश्व व्यवस्थामा इन्डो प्यासिफिक रणनीति, सीमा विवाद, आर्थिक निर्भरता र कूटनीतिक दबाबले नेपाललाई कठिन निर्णयको मोडमा पुर्‍याएको छ। यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता जोगाउन बलियो युवा नेतृत्व, स्पष्ट परराष्ट्र नीति र आत्मनिर्भर अर्थतन्त्र अपरिहार्य छ।

घ.आत्मनिर्भरता : नाराबाट क्रान्तितर्फ

यदि राजनीतिक इच्छाशक्ति भयो भने नेपाल २०३० सम्म कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने सम्भावना छ। यसका लागि भूमिसुधार, स्रोतको न्यायोचित वितरण, असमानताको अन्त्य र समाजवादी कार्यदिशा आवश्यक पर्छ। पुरानो संरचनाबाट यो सम्भव देखिँदैन; नयाँ पुस्ताको नेतृत्व र वैकल्पिक राजनीति नै यसको आधार बन्न सक्छ।

उपसंहार : 

सम्भावना हाम्रो हातमा छ,यदि दुई पुरातन दलहरु भन्दा वैकल्पिक राजनीतिक शक्तिले जनविश्वास जित्न सक्यो भने, २०४० सम्म नेपाल समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्र बन्ने सम्भावना अस्वीकार गर्न सकिँदैन। यो कुनै दिवास्वप्न होइन, सही नेतृत्व र जनसहभागिताबाट सम्भव हुने यथार्थ हो।

अन्ततः प्रश्न युवासामु छ:के हामी दर्शक भएर बस्ने कि इतिहास निर्माण गर्ने?

यदि परिवर्तन चाहिएको हो भने, राजनीति फेरि सडकबाट होइन, सचेत मतबाट जित्नुपर्छ। यथार्थ हो,

नेपाल जाग्न सक्छ,उठ्न सक्छ,बिकसित र शक्तिशाली बनाउन सक्छ,

यदि हामी सबै जाग्यौँ भने। अस्तु ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.