
काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत महाभारत गाउँपालिका–गल्टारमा जैविक विविधता संरक्षणका लागि कडा कदम चालिएको छ। मिति २०८२ साल ९ महिना २६ गते वडा अध्यक्ष रमेश कुमार लुङ्गेलीको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी निरीक्षक मनराज बानियाँको उपस्थितिमा बसेको बैठकले विनाशकारी तरिकाले माछा मार्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
बैठकबाट गठित जैविक विविधता संरक्षण समितिको निर्णयअनुसार कोखाजोर खोलाको भदौरे फेदीदेखि गता दोभानसम्म र बनखु खोलाको अकुरा दोभानसम्मको क्षेत्रमा बम हान्ने, विद्युतीय उपकरण प्रयोग गरी करेन्ट लगाएर तथा अन्य कुनै पनि विनाशकारी माध्यमबाट माछा मार्ने कार्य आजको मितिदेखि नै लागू हुने गरी निषेध गरिएको छ।
समितिले खोलानालामा गरिँदै आएको यस्ता अवैज्ञानिक र विनाशकारी क्रियाकलापले माछा मात्र नभई सम्पूर्ण जलचर तथा प्राकृतिक पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्दै आएको उल्लेख गरेको छ। निर्णयको उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने पनि समितिले चेतावनी दिएको छ।
स्थानीयवासी, सरोकारवाला निकाय तथा सुरक्षाकर्मीको सहकार्यमा उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।