
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।

आयोग उच्च स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर राणा थापा पक्षमा थिए भने आयुक्त जानकी तुलाधारले फरक मत राखेकी थिइन् ।
पुस २७ देखि ३० सम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका थिए । सोही निर्णयअनुसार विवरण अद्यावधिक गर्न थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
यसैबीच, पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । दुवै पक्षको दाबीपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको थियो ।
सबै प्रक्रिया पूरा गरेपछि आयोगले गगन थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो । यससँगै कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा पनि थापा पक्षकै हुने भएको छ ।