Khulla Bichar Online

निर्वाचन : सत्ता परिवर्तन होइन, व्यवस्था सफा गर्ने जनयुद्ध यथास्थितिवाद, पपुलिज्म र आन्तरिक उपनिवेशवाद विरुद्धको ऐतिहासिक लडाइँ

यही निराशाको पृष्ठभूमिमा ‘नयाँ’ को मुखुण्डो लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको हो । यसको जन्म पुराना दलप्रतिको जनआक्रोशको उपज हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन। तर आक्रोश मात्रै राजनीति होइन ।

-चेत बहादुर लामा, अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिसं), काभ्रे

   नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन ; यो व्यवस्था, विचार र नेतृत्वको गहिरो संकटको चरणमा उभिएको छ। २०४७ सालपछि कांग्रेस र एमालेले पालैपालो राज्यसत्ता सम्हाल्दा देश सुशासनतर्फ होइन, कुशासनतर्फ धकेलियो। तीन दशकभन्दा बढी समय सत्तामा रहँदा पनि उनीहरूले न त समृद्धिको स्पष्ट खाका प्रस्तुत गर्न सके, न सामाजिक न्यायको बलियो आधार  निर्माण गर्न। आज राज्य संयन्त्र माफिया, दलाल, तस्कर र बिचौलियाको कब्जामा पुगेको छ जहाँ नीति होइन सेटिङ चल्छ र जनताको आवाज होइन स्वार्थी गिरोहको प्रभाव हाबी छ। यही सन्दर्भमा बुझ्न जरुरी छ । आउँदो फाल्गुण २१ को निर्वाचन सत्ता परिवर्तनको साधारण प्रक्रिया होइन, व्यवस्था सफा गर्ने निर्णायक जनयुद्ध हो।

नेपालको राज्य संरचना ऐतिहासिक रूपमा खसआर्य पुरुष प्रभुत्वमा आधारित रहँदै आएको छ । जनजाति, दलित, महिला र उत्पीडित समुदायहरूलाई निर्णय प्रक्रियाबाट संरचनागत रूपमा बाहिर राख्ने परम्परा आजसम्म पनि निरन्तर छ। आजको यथास्थितिवादी राजनीति त्यही इतिहासको विस्तार हो, जहाँ सत्ता सीमित वर्गको हातमा केन्द्रित छ र जनताको भूमिका पाँच   वर्षमा एकपटक मत हाल्ने औपचारिकतामा सीमित बनाइएको छ। लोकतन्त्र जनसहभागिताको अभ्यासभन्दा सत्ता हस्तान्तरणको खेलमा सीमित भएको छ ।

  यस यथास्थितिको मुख्य ठेकेदार कांग्रेस र एमाले हुन्। यी अब साधारण राजनीतिक दल होइनन्, सत्ता सिण्डिकेट मा रूपान्तरित भइसकेका छन् । नातावाद, कृपावाद र फरियावाद उनीहरू को स्थायी पहिचान बनेको छ भने ठेक्का, कमिसन र सेटिङबिना राज्य चल्न नसक्ने अवस्था मा पुगेको छ। अपराधी, माफिया र तस्करसँगको खुला वा लुकेको गठजोडले यी दललाई पूर्ण रूपमा जनविरोधी बनाएको छ। यही कुशासनका कारण १० वर्षे जनयुद्ध भयो, र आज देखिएको जेन-  जी विद्रोह पनि त्यही असफल शासनको प्रत्यक्ष परिणाम हो। तर विडम्बना के छ भने, यिनै दलहरू फेरि २०८२ फाल्गुण २१ को निर्वाचनमा खोक्रो राष्ट्रवाद र विकासका गफ बोकेर जनताको ढोका ढकढक्याइरहेका छन् ।

 यही निराशाको पृष्ठभूमिमा ‘नयाँ’ को मुखुण्डो लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको हो । यसको जन्म पुराना दलप्रतिको जनआक्रोशको उपज हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन। तर आक्रोश मात्रै राजनीति होइन । रास्वपामा न वैचारिक स्पष्टता छ, न दीर्घकालीन राष्ट्रिय एजेन्डा । सहकारी ठगी, नैतिक संकट, डिजिटल अराजकता र पपुलिस्ट नारामा आधारित राजनीति यसको मुख्य पहिचान बन्दै गएको छ। त्यसैले यो पार्टी जनताको वैकल्पिक शक्ति बन्नुभन्दा पूँजीवादी र विदेशी हितको नयाँ आवरण बन्ने खतरा बोकेको देखिन्छ। दश वर्षे जनयुद्धले गणतन्त्र स्थापना गर्‍यो, यो ऐतिहासिक उपलब्धि हो । तर शान्ति प्रक्रियापछि देखिएको अवसरवाद, वैचारिक विचलन र सत्तालोलुपताले माओवादी आन्दोलनप्रति जनविश्वास कमजोर बनायो। यसको अर्थ कम्युनिस्ट आन्दोलन असफल भयो भन्ने होइन; यो आन्दोलन भ्रमित र  विचलित भयो भन्ने हो।

 आज आवश्यकता छ कि गहिरो आत्मसमीक्षा, आत्मसुधार र २१औँ शताब्दी अनुकूलको वैज्ञानिक समाजवादी राजनीतिक विकल्पको पुनर्निर्माण ।

अब प्रश्न स्पष्ट छ:जनताले कस्ता उम्मेदवार रोज्ने ?

जनताको दु:खसुखमा साथ दिने, सुशासन नारामा होइन, व्यवहारमा देखाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीको पक्षमा उभिने, पहिचानसहितको संघीयतालाई आत्मसात गर्ने, जेन-जी बिद्रोह र जनयुद्धको माग सम्बोधन गर्नसक्ने, समाजवादको आधार निर्माणमा अग्रसर र भ्रष्ट, दलाल तथा विदेशी एजेन्ट होइन, क्लिन र राष्ट्रवादी उम्मेदवार रोज्नु आजको आवश्यकता हो। यी मापदण्ड पूरा गर्ने संगठित शक्ति आज नेपाली कम्युनिस्ट आन्दोलन बाहेक अरू देखिँदैन।

जेन-जी विद्रोह,मधेश आन्दोलन र जनयुद्धका माग सम्बोधन गर्न सक्ने,अन्ततः यो निर्वाचन भोट हाल्ने   औपचारिकता मात्र होइन, इतिहास बदल्ने अवसर हो । कुहिएका यथास्थितिवादी शक्ति रोज्ने, कि  क्रान्तिकारी परिवर्तनको बाटो रोज्ने ?  निर्णय जनताकै हातमा छ। अब भाग्ने छुट छैन, अब तटस्थ बस्ने अधिकार छैन। यो निर्वाचन व्यवस्था सफा गर्ने जनयुद्ध हो। जनताको हातमा इतिहास लेख्ने कलम आएको छ । समय अझै सकिएको छैन। एकजुट बनौँ, क्रान्तिकारी विकल्प निर्माण गरौँ र इतिहास फेरौँ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.