
खोटाङ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता तथा केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहित १८ जना नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।
नेकपा खोटाङले मंगलबार बाक्सिला बजारमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राईलगायतले एमाले परित्याग गरी नेकपा प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि बोल्दै नेता राईले जेनजी आन्दोलनपछि जनताको भावना बुझ्दै पुनः गठन भएको पार्टी भएकाले नेकपा रोजेको बताउनुभयो। “एमाले जनताको भावना बुझ्न असफल भयो। त्यहाँ रहेर जनताका घरघर जान सकिने अवस्था छैन,” उहाँले भन्नुभयो, “देशभर नेकपाप्रति जनमत बढ्दै गएको छ। जनताको सेवा गर्ने उद्देश्यले नेकपा प्रवेश गरेको हुँ।”
पार्टी प्रवेश गर्नेहरूलाई नेकपाका केन्द्रीय अनुशासन आयोग अध्यक्ष तथा पूर्व सांसद टङ्क राई, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू रामकुमार राई ‘पासाङ’ र राजन राई, केन्द्रीय सदस्य भीम राई, जलशेर राईलगायतले स्वागत गर्नुभयो। प्रवेशसँगै दिएको जिम्मेवारीमा रहेर जनसेवामा समर्पित हुने राईले प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि टङ्क राईले जिल्लामा नेकपाको जित सुनिश्चित रहेको दाबी गर्दै आगामी निर्वाचनपछि नेकपाले सरकारको नेतृत्व गर्ने बताउनुभयो। “जनताको अपेक्षा पूरा गर्न सक्ने पार्टी नेकपा मात्रै हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा नेकपा खोटाङका उम्मेदवार डा. हरि रोकालगायत नेताहरूको उपस्थिति थियो। डा. रोकाले कृषकको आवाज प्रतिनिधिसभामा पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो। माघ–७ गतेदेखि दिक्तेलको किरातचोकबाट घरदैलो अभियान थालेका डा. रोकाले तीन स्थानीय तहमा अभियान सम्पन्न गरिसक्नुभएको छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार मैदानमा छन्। एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा काँग्रेस, एमाले र नेकपाबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
