
चौरीदेउराली, काभ्रे / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–८ बिर्तादेउरालीमा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ। कार्यक्रम २०८२ फागुन ७ गते सम्पन्न भएको हो।


उद्घाटनसँगै शिव पन्तको संयोजकत्व र उत्तरमान तामाङको सह–संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै घरदैलो अभियान समेत सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रम पार्टीका प्रदेश सचिवालय सदस्य तथा चौरीदेउराली निर्वाचन परिचालन समितिका संयोजक तेज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा निर्वाचन परिचालन समितिका सह–संयोजक हरि खड्का सहभागी भएका थिए। कार्यक्रममा जिल्ला सदस्य धन लामा लगायत जिल्ला, पालिका तथा वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि पन्तले जनयुद्धबाट प्राप्त उपलब्धि र संविधानको रक्षा आजको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै नेकपाको विजयले मात्र वर्तमान व्यवस्था सुरक्षित रहने दाबी गरे। उनले प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भएर परिचालन हुनुपर्नेमा जोड दिए।

अन्य वक्ता हरि खड्का र धन लामाले संगठन सुदृढीकरण तथा निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
८ नम्बर वडा बिर्तादेउराली निर्वाचन परिचालन समिति संयोजक शिव पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।