Khulla Bichar Online

दशैँ, दशा र गणतन्त्र : सम्झनामा बा!

Advertisements

हरेक दशैँले मलाई यही प्रश्न सोधिरहन्छ । हामीले खोजेको गणतन्त्र बाको बस्तीसम्म त पुग्यो, तर हामीले वाचा गरेको समानताको दशैँ कहिले पुग्ने?

• लक्ष्मी तामाङ,सर्लाही

बा: यतिका दिन सँगै बस्यौँ। अब दशैँको मुखमा किन जान्छ्यौ त, नानी? दशैँ मानेर जाऊ न।

म: बा, यो दशैँ हाम्रो होइन। हामीमाथि जबर्जस्ती थोपारिएको दशा हो। यो यस्तो दशा हो, जसले हाम्रो जात, जाति, ठाउँ, स्थान, धर्म, भावना र पुर्खौँ देखि मान्दै आएको संस्कार तथा रीतिरिवाजलाई निमिट्यान्न पारेर शासकको संस्कार लादेको छ।

बा: खोइ नानी, हामी त केही बुझ्दैनौँ। बाउबाजेले जे-जस्तो गरे, त्यही गर्दै आएका छौँ।

म: हो बा, यो दशैँ हाम्रो अनि हामी गरिबको होइन। एक दिन हाम्रो पनि दशैँ हुनेछ। त्यो दशैँमा के गरिब, के धनी-सबैको दशैँ समान हुनेछ। सबै जातजाति र धर्मका मानिसले समान रूपमा दशैँ मनाउनेछन् र सम्मानको अनुभूति गर्नेछन्। त्यो हो गणतन्त्र, बा!

बा: खोइ नानी, तिम्रो त्यस्तो दशैँ आउँदासम्म म बाँचुँला कि नबाँचुँला?

म: बाँच्नुहुनेछ, बा। बाँच्नु पर्छ पनि। हामी जसरी पनि समानताको दशैँ लिएर आउनेछौँ। त्यतिबेला हाम्रो घरसम्म चामल ल्याउन सकिने सडक हुनेछ, उपचार पाउने अस्पताल हुनेछ अनि सबैले पढ्न पाउने अधिकार सहित पाठशाला हुनेछ।

डेढ महिनाको विशिष्ट स्वास्थ्य तालिम सकिएर भोलिपल्ट त्यस घरबाट हिँड्नुपर्ने अघिल्लो दिन आँगनको डिलमा बसेर मैले ढुक्क र गर्वका साथ भनेको थिएँ। ‘आउँदै गरेको दशैँ मानेर जाऊ न नानी, यतिका दिन बसिसक्यौ, अब केही दिन बसेर जाऊ’ भन्ने बाको भावनाको कदर गर्दै मैले आफ्ना विचार प्रस्तुत गरेको थिएँ।

भोलिपल्ट बिहान तालिमबाट प्राप्त विशिष्ट ज्ञानलाई कार्ययोजना र निर्देशन अनुसार मैदानमा उतार्न हामी एकअर्कासँग बिदा हुँदै थियौँ। तालिमको प्राङ्गणतर्फ जानुअघि मैले अन्तिम पटक बालाई नमस्कार गरेँ।

त्यो अन्तिम बिदाइको नमस्कारमा पनि बा भन्दै हुनुहुन्थ्यो, ‘नजिकिँदै गरेको दशैँ मानेर जाऊ भन्दा मानेनौ। जे-जस्तो छ, त्यही खाने थियौ। म शिखरपुर गएर चामल ल्याउँथेँ। गाउँमा भैँसी काट्थे।’

बाको अन्तिम भावनाका बीच पनि मैले उही विचार दोहोर्‍याएँ र फेरि भेट्न आउने वचन दिँदै बिदा भएँ।

त्यस पछि हामी जनयुद्धका तालिमकर्मीहरू एकअर्काबाट छुट्टियौँ। कोही तराईका फाँटतर्फ लागे, कोही मरिनका बस्तीतर्फ त कोही त्यही महाभारतको काखमा रहे। हामी भने शैलुङको परिधितर्फ, गौरीशंकर र कालिञ्चोकको शिर ताक्दै जुगल आसपास पुग्न लाग्यौँ।

त्यस पछि कहाँ पुग्यौँ, के गर्‍यौँ, कति गर्‍यौँ र कसरी गर्‍यौँ ।सबै परिस्थितिको माग र आवश्यकता अनुसार गर्‍यौँ। युद्धदेखि शान्तिसम्म, शान्ति प्रक्रियादेखि फेरि सामाजिक क्रान्ति सम्मका यात्रा तय गर्‍यौँ।

जहाँ निरन्तर शान्ति थियो, परिवार थियो, मूल्य-मान्यता र संस्कार थिए। धर्म थियो, धर्मभित्र अग्रगमन र पश्चगमन दुवै थिए। तिनै भित्र समग्रमा निजी परिवार र सम्पत्ति पनि थिए। त्यसैमा हरेक पर्व थिए, त्यहीभित्र दशैँ पनि थियो।

समय फेरिएन, उही रह्यो। तर समयले दूरी पार गर्दै गयो। बितिरहेको समयसँगै हरेक वर्ष दशैँ फर्कीफर्की आइरहन्छ। दशैँसँगै सम्झनाभित्र रहने क्षण, पल र मानिसहरू पनि आइरहन्छन्। सम्झनाका तिनै हुलमा ती बा पनि आइरहन्छन्।हिजोआज बनेर, जसरी दशैँ आइरहन्छ।

दशैँ आउँदा मात्र भात खान पाउने बाध्यता बीच बा महाभारतको शिखरपुर ग्रामीण बजारबाट चामल ल्याउनुहुन्थ्यो। त्योभन्दा पहिले त हप्तौँ लगाएर पनौती, खोपासी र बनेपाबाट चामल ल्याउनुपर्थ्यो।

राजधानीबाट बनेपा हुँदै दोलालघाट र्‍याफ्टिङमा दोमानटार पुगेपछि चामल बोकेर एक दिन लगाएर घर पुगिन्थ्यो। दशैँमा भात खान पाउँदा मलाई जस्तै बाका नातानातिनीलाई पनि त्यस्तै हर्ष लाग्थ्यो।

त्यसैले हरेक साँझ आफ्नो भागको भात बाका नातानातिनीका लागि लगिदिएर म बाको भान्सामा ढिँडो खान्थेँ। निरन्तरतामा रहेको यही व्यवहारबाट बालाई जोड्ने भावनात्मक सम्बन्ध नै दशैँको एउटा कहिल्यै नबिर्सने क्षण बनिदियो।

समय निरन्तर चलिरह्यो। समयसँगै देशको संरचनामा पनि परिवर्तन भयो। त्यो परिवर्तन हाम्रो बलिदानको उपज थियो, आन्दोलनको माग थियो र युद्धको मुद्दा थियो।

हुनुपर्ने धेरै थियो, गर्नुपर्ने पनि त्यत्तिकै थियो। तर, धेरै हुनुपर्ने काममध्ये केही पनि हुन नसकेको स्विकारोक्तिसहित देशले सङ्घीयतासहितको गणतन्त्र पायो।

त्यही गणतन्त्रभित्र बालाई भनेको चामल र औषधि ल्याइदिने सडक थियो। ‘तिमीले भनेको गणतन्त्र हेर्न पाउँदिनँ होला’ भन्ने बाको निराशाभित्र एउटा पारदर्शी ऐना थियो, जसमा मैले कल्पना गरेको व्यवस्थाको चित्र देखिन्थ्यो।

तर, संविधानका धारा–उपधारामा आएको हामीले भनेको, मानेको र चाहेको गणतन्त्रको दशैँ बाको बस्तीसम्म नपुग्दै बाले संसार छोडेको खबर मैले धेरै वर्षपछि थाहा पाएँ।

संविधानका धारामा अक्षर बनेर बसेको गणतन्त्र बाको घर र गाउँसम्म पुग्नुअघि नै बाको जीवन सकिएछ। रुखबाट खसेर घाइते हुनुभएका बालाई हेटौँडा ल्याउन पाँच दिन र धुलिखेल ल्याउन तीन दिन लाग्ने अवस्था थियो। गाउँको स्वास्थ्यचौकीले उपचार गर्न नसक्दा बाको असहाय पीडामै जीवन सकिएछ।

‘तिमीले भनेको व्यवस्था कस्तो होला?’ भन्ने प्रश्न मनमा बोकेका बालाई मैले भनेको व्यवस्थाको सडक र अस्पताल हेर्नसमेत मिलेन। संविधानको पानामा अक्षर बनेर बसेका सडक, अस्पताल र बिजुली संविधानमा लेखिएकै भरमा पुग्न कहाँ सकिँदो रहेछ र! तर, जब ती सुविधा पुगे, त्यतिबेला बा नै रहनुभएन।

आज महाभारतका बस्तीहरूमा सडक पुगेको छ। अस्पतालसम्म आउन सक्ने एम्बुलेन्स पुगेको छ। स्कुल र बिजुली पुगेका छन्। तर, बाको आत्मालाई बुझाउन सक्ने दशैँ भने पुर्‍याउन सकिएन। हिजो अलग्गै दशैँको परिभाषा गर्ने म र हामी आज त्यही अवस्थामा रहेनौँ। हामीभित्र आत्मसमीक्षाको जबर्जस्त आवश्यकता छ।

क्षणिक विचार परिवर्तनबाट उत्पन्न भावनाको उत्तेजनाले न धर्म जोगिन्छ, न मार्क्सवाद नै। कट्टरपन्थी धार्मिक विचारले मानव भावनामा जति घात पुर्‍याउँछ, त्योभन्दा कैयौँ गुणा घात क्षणिक रूपमा मार्क्सवादी बन्नेहरूले पनि पुर्‍याएका हुन सक्छन्।

यो मानेमा मैले स्वीकार्नैपर्छ-क्षणिक विचार परिवर्तनबाट उत्पन्न भावनाको उत्तेजनामा मार्क्सवादी शब्दको व्याख्या गर्दा मैले धर्मको कति अपव्याख्या गरेँ होला! त्यसले आफ्नै अस्तित्वको शून्यता हुने गरी प्रस्तुत भएका आजका व्यवहारमा हिजो मैले व्याख्या गरेको मार्क्सवादी विचारप्रति कति प्रतिकूलता देखाइरहेका छन्? आत्मसमीक्षा गर्ने तागत हामीसँग होला कि नहोला? यो प्रश्नबीच हरेक दशैँमा म ती दिन, क्षण, पल, बस्ती र ती बालाई सम्झिन्छु।

न बाले भनेको जस्तै दशैँ मैले मानेँ, न मैले भन्ने गरेको जस्तै दशैँ बन्यो। दशैँ त दशैँ नै रहिरह्यो। हिजो जस्तो थियो, आज उस्तै छ। सायद भोलि पनि त्यस्तै रहनेछ-केही वर्गका लागि दशैँ, धेरैका लागि दशा।

हो, परिवर्तनका हुंकार गर्नेहरू आज आफैँ सबैभन्दा पहिले र सबैभन्दा बढी दशा र दशैँलाई जबर्जस्ती बोकिरहेका छन्। म पनि त्यस्तै बनेँ, ऊ पनि त्यस्तै बन्यो र ऊजस्तै अरूहरू पनि।

हरेक दशैँले मलाई यही प्रश्न सोधिरहन्छ । हामीले खोजेको गणतन्त्र बाको बस्तीसम्म त पुग्यो, तर हामीले वाचा गरेको समानताको दशैँ कहिले पुग्ने?

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.