
म्हेनिङ धान संस्कृतिसँगै भित्रिएको सांस्कृतिक पर्व हो। दशैँ भने सांस्कृतिक पर्व नभई धार्मिक पर्व हो। यो पर्व चैत महिनामा मनाइने गरिन्थ्यो। पछि असोज महिनामा सारिएको हो।
• जीवन कुमार याेञ्जन

अध्येता भोजराज चाम्लिङका अनुसार करिब ८ हजार वर्षअघि नै एलो रिभर बेसिनतिर धानखेती हुन्थ्यो। अध्येता कमल मादेनको भनाइ पनि लगभग यही छ। उत्तरतिरबाट आएका मानिसहरूले धान संस्कृति ल्याएका हुन्। दक्षिण एसियामा खेतीपातीको युग पछि सुरु भएको अध्ययनले देखाएको छ।
डा. सुरेश ढकालका अनुसार गङ्गा मैदानमा खेतीपातीको इतिहास ई.पू. २५००–३००० वर्ष पुरानो हो, अर्थात् करिब ४५००–५००० वर्षअघिको हो। डा. सुरेश ढकालकै अनुसार ८ हजार वर्षअघि नै रेशमी मार्ग हुँदै उत्तरतिरबाट मानिसहरू नेपाल पसेका हुन्। त्यसैले धानखेती पनि उत्तरतिरबाटै आएको हो भन्नेमा दुईमत छैन। म्हेनिङ धान संस्कृतिसँगै भित्रिएको सांस्कृतिक पर्व हो। दशैँ भने सांस्कृतिक पर्व नभई धार्मिक पर्व हो। यो पर्व चैत महिनामा मनाइने गरिन्थ्यो। पछि असोज महिनामा सारिएको हो।
खेतीपातीसँगै विकसित भएका पर्वहरूलाई सांस्कृतिक पर्व मानिन्छ, जसलाई ‘सेतो संस्कृति’ पनि भनिन्छ। सेतो चामल, चामलको पिठो, शुद्ध चामलबाट बनेको सेतो रोटी, सेतो टोटलाको फूल, चामलबाटै बनाइएको सेतो जाँड र सेतो कपडाको टालो चढाएर मनाइने भएकाले म्हेनिङ चाडलाई शुद्ध ‘ह्वाइट कल्चर’ (White Culture) मानिन्छ।
दशैँ मनाउनेहरू ‘रेड कल्चर’ (Red Culture) का अनुयायी हुन्। उनीहरू अबिर, रातो अक्षता, रातो झण्डा, रातो पहिरन र रातो रगतविना पूजा गर्दैनन्। सायद राज्य पक्षपाती भएकाले सबै जातजातिका मानिसहरूलाई यो धार्मिक चाड मान्न बाध्य पारियो।
तामाङहरूले खुरुखुरु म्हेनिङमा सेतो टीका लगाएर आफ्नो संस्कारलाई निरन्तरता दिँदा केही फरक पर्नेवाला छैन। खेप्पासुङ र आखेला मनाउने महिना भएकाले असोज महिनालाई म्हेनिङ भनिएको हो। ‘म्हेमे’ र ‘ढाङ’ अर्थात् ‘म्हेमे’ भनेको पुर्खा र ‘ढाङ’ भनेको मनाउनु भन्ने अर्थमा असोज महिनाको नाम ‘म्हेमेढाङ’ हुँदै ‘म्हेनाङ’ र पछि ‘म्हेनिङ’ हुन पुगेको हो।
समग्रमा, असोज महिनामा विभिन्न चाडपर्वहरू एकै समयमा परेकाले ‘म्हेनिङ कि दशैँ?’ भन्ने विषयमा विवाद गर्नु फुर्सदको उपज हुन सक्छ। यसको अर्को कारण देखिँदैन।
लामाहरू धार्मिक अनुयायी भएकाले सांस्कृतिक चाड मान्नु हुँदैन भन्ने अधिकार लामाहरूलाई छ जस्तो लाग्दैन। त्यसैगरी, सांस्कृतिक चाड मान्नेहरूले बुद्ध जयन्ती किन मनाएको भन्ने प्रश्न उठाउने अधिकार पनि राख्दैनन्।
आ-आफ्नो चाड आ-आफ्नै परम्पराअनुसार मनाउनुहोस्। विवाद आवश्यक छैन।