Khulla Bichar Online

दुःखमा साथ बन्दै ‘कोपिला समूह’: सानो बचत, ठूलो सहयोग

Advertisements

• अर्चना अस्तानी मगर / खानीखाेला

“एक थुकी सुकी, सय थुकी नदी” भन्ने बुढापाकाको भनाइलाई चरितार्थ गर्दै खानीखोला गाउँपालिका-७, महाङ्कालस्थित श्री जनहित माध्यमिक विद्यालयमा गठित ‘कोपिला समूह’ दुःखमा परेका विद्यार्थीका लागि सहयोगी हात बनेको छ।

बदलिँदो समाजमा बढ्दै गएको स्वार्थ र साँघुरोपनका बीच सहयोग, सद्भाव र मानवीयताको भावना विकास गर्ने उद्देश्यले स्थापना गरिएको कोपिला समूहले सानो बचतबाट ठूलो सहयोग गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

समूहले विद्यालयमा अध्ययनरत छात्रछात्राको घरपरिवारमा कुनै असहज परिस्थिति आइपरेमा सहयोग गर्ने उद्देश्यसहित प्रत्येक सदस्यबाट मासिक १० रुपैयाँ बचत गर्दै आएको छ। दैनिक करिब ३३ पैसा बराबरको यो सानो बचतले आवश्यक परेको बेला कसैको दुःखमा मलम लगाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

यसै क्रममा, दशैँको मुखमा घर भत्किएर बस्नै नसक्ने अवस्था भएका विद्यालयमा अध्ययनरत सन्देश स्याङ्तान, गङ्गा स्याङ्तान र सागर स्याङ्तानको परिवारलाई समूहले बचत कोषबाट रु.५,०००/- (अक्षरेपी पाँच हजार मात्र ) सहयोग हस्तान्तरण गरेको छ। चाडपर्वको खुसीसँगै विपत्तिमा परेका परिवारको पीडालाई पनि आत्मसात् गर्दै गरिएको यो सहयोगले सामूहिक भावनाको महत्त्व उजागर गरेको छ।

कोपिला समूहको सुरुवाती बीउ पुँजीका रूपमा समाजसेवी राजन अधिकारी र अविरल जिम्बाले जनही एक/एक हजार रकम उपलब्ध गरि समूहको कोष स्थापना गर्न सहयोग गर्नुभएको थियो। समूहले यस बचत कोषबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री (स्टेसनरी) उपलब्ध गराउनुका साथै उनीहरूको अध्ययनमा थप सहयोग गर्ने लक्ष्यसमेत राखेको छ।

समूहका अध्यक्ष निस्मा श्रेष्ठ, सचिव कृश्मा थिङ, कोषाध्यक्ष मस्थिम राना र संरक्षक अर्चना अस्तानी मगरले दशैँको शुभकामना आदानप्रदान कार्यक्रमसँगै संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।

यस कोपिला समूहमा आबद्ध विद्यार्थीहरूमध्ये एसईई २०८१ को ब्याचलाई समाजसेवी राजन अधिकारीको सहयोगमा टी-सर्ट उपलब्ध गराइएको थियो भने एसईई २०८२ को ब्याचलाई उहाँकै समन्वयमा सरसफाइ सामग्री उपलब्ध गराइएको थियो। त्यसैगरी, कोपिला समूहकै समन्वयमा शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि पनि १० सेट स्वास्थ्य सामग्री समूहका अध्यक्ष करण सोरालीले हस्तान्तरण गर्नुभएको थियो।

कोपिला समूहको यो प्रयासले बालबालिकामा सानैदेखि बचत गर्ने बानी, सामाजिक उत्तरदायित्व, सहकार्य र दुःखमा परेकालाई साथ दिने संस्कारको विकास गर्नसमेत मद्दत पुर्‍याउँछ।

महिनाको १० रुपैयाँजस्तो सानो रकमले पनि कसैको पीडामा राहत दिन सक्छ भन्ने सन्देश बोकेको यो अभियानले समाज परिवर्तन गर्न ठूलो धनभन्दा ठूलो मन आवश्यक हुन्छ भन्ने प्रमाणित गरेको छ।

सानो बचतबाट सुरु भएको कोपिला समूहको यो अभियान फक्रिँदै जाओस्, विपत्तिमा परेकाहरूका लागि आशाको फूल बनिरहोस् र यसले अरू विद्यालय तथा समुदायलाई पनि सामाजिक सहयोगको बाटोमा अघि बढ्न प्रेरणा दिइरहोस्। यश समुहमा सहयोग गर्नुहुने समाजसेवी विद्यालय प्रशासन , शिक्षक ,अभिभावक सम्पूर्णमा हार्दिक धन्यवाद।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.