Khulla Bichar Online

दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

Advertisements

• राजीव माेक्तान तामाङ

दशैं नेपाली समाजको ठूलो पर्वमध्ये एक हो। परिवार भेटघाट, मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण, गाउँ फर्किने परम्परा, नयाँ लुगा र मीठो-मसिनो खाने चलनसँग यसको गहिरो सामाजिक सम्बन्ध बनेकाे छ। तर दशैंलाई टीका, जमरा, मासु, नयाँ लुगा र रमाइलोमा सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन। यससँग धर्म, संस्कृति, इतिहास, राज्यसत्ता, सामाजिक विभेद, विविधता र अर्थतन्त्रका अनेक पक्ष जोडिएका छन्।

सबैभन्दा पहिले एउटा प्रश्न गर्न आवश्यक छ,दशैं कसको चाड हो?धार्मिक हाेकी सास्कृतिक हाे?

यसको सरल उत्तर एउटै छैन। इतिहासकार महेशराज पन्तका अनुसार प्राचीन ग्रन्थहरूमा आजको जस्तो सर्वव्यापी दशैंको उल्लेख भेटिँदैन। उनका अनुसार नेपालमा दशैंको ऐतिहासिक प्रमाण करिब १४औँ शताब्दीतिरबाट मात्र स्पष्ट देखिन थाल्छ र मल्लकालीन दरबारमा यसको अलिअलि महत्त्व थियो। पृथ्वीनारायण शाहको राज्य विस्तारपछि फूलपाती, सैनिक तथा राज्यसँग जोडिएका केही परम्पराले अझ बढी महत्त्व पाएको उनको अध्ययनले देखाउँछ।

लेखक तथा समाजशास्त्री आहुतिका अनुसार फुलपाती वाला बडा दशै चाहिँ ठ्याक्कै पृथ्वीनारायण शाहाकाे गाेरखा राज्य बिस्तार संगै आयाे।

डा. केशबमान शाक्यकाे आफ्नै दृष्टिकोण छ। उहाँका अनुसार दशैंको जरा महिषपाल वंशसँग जोडिएको छ। प्रारम्भमा सेतो टीका प्रयोग हुन्थ्यो र पर्वलाई शाह,राणा शासकहरूले हिन्दुकरण गरेर अहिलेको स्वरूप दिएका हुन। टीका र जमरा उति बेलै शुरु भएकाे हाे।

त्यसैले आजको दशैंलाई एउटै जाति, धर्म वा समुदायको मात्र चाड भनेर परिभाषित गर्नु पनि इतिहासको सम्पूर्ण तस्वीर होइन। त्यस्तै, नेपालका सबै जाति, धर्म र समुदायको मौलिक चाड यही हो भन्नु पनि सही हुँदैन।

 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक र बहुपर्यबरण विविधताले भरिपूर्ण सुन्दर देश हो। कतिपय समुदायले दशैंलाई धार्मिक पर्वका रूपमा मनाउँछन्, कतिपयले सांस्कृतिक वा पारिवारिक उत्सवका रूपमा ग्रहण गरेका छन् भने कतिपयले मनाउँदैनन्। अध्ययनहरूले विभिन्न समुदायमा दशैं मनाउने तरिका, टीकाको रङ र धार्मिक तथा सास्कृतिक अर्थसमेत फरक रहेको देखाएका छन्।

राणा र शाहकालमा धार्मिक दमन नभएको होइन। गैरहिन्दूहरूले दशैं नमनाएको आरोपमा फाँसी दिइएका घटना र हरेक घरको मूल ढोकामा पशुबलिको निशान हुनैपर्ने जस्ता निकृष्ट उर्दीसमेत जारी गरिएका थिए। अहिले पनि धनकुटाका आठपहरिया राई समुदायका मानिसहरूले दशैंमा कालो टीका लगाउने परम्परा कायम राखेका छन्।

नेपाल अहिले लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्य हो। त्यसैले दशैं मनाउनेलाई सम्मान र नमनाउनेलाई पनि सम्मान गर्नु बहुलवादी समाजको सुन्दर विशेषता हो।

अब कुरा गरौँ, दशैंमा नेपालको अर्थतन्त्र कति चलायमान हुन्छ?

दशैंको रेमिट्यान्स, आयातको बाटो हुँदै विदेश

अध्ययनहरूले देखाएका छन् कि वर्षभरिको कमाइको एकतिहाइसम्म रकम दशैंमा खर्च हुने गर्छ। अर्थतन्त्रमा ठुलाेचलाईमान हुन्छ। कुनै समय दशैंको खर्चको मुख्य स्रोत कृषि थियो भने आज त्यो अवस्था बदलिएको छ।

अहिले दशैं खर्चको मुख्य स्रोत रेमिट्यान्स बनेको छ। अघिपछिको तुलनामा दशैंका बेला रेमिट्यान्स बढी भित्रिए पनि भित्रिएको रकमभन्दा कैयौँ गुणा बढी रकम विभिन्न वस्तु तथा सेवाको आयातमार्फत पुनः विदेशिने गर्छ।

यसका प्रमुख कारणहरू हुन्:

१. मसला तथा खाद्य सामग्री: नेपालमा उत्पादन नहुने वा पर्याप्त उत्पादन नहुने विभिन्न मसला तथा सामग्री अर्बौँ रुपैयाँको आयात हुन्छ।

२. खाद्यान्न आयात: चामल, तेल, दाल, चिनी, काजु, बदामलगायतका खाद्यवस्तु ठूलो परिमाणमा विदेशबाट आयात गरिन्छ, जसमा खर्बौँ रुपैयाँ बाहिरिन्छ।

३. मासु तथा पशुजन्य वस्तु: दशैंमा बलिका लागि बोका, च्याङ्ग्रा, राँगा तथा मासुका लागि खसी, भैंसी, बङ्गुर, कुखुरालगायतको माग बढ्छ। स्वदेशी उत्पादनले नपुग्दा भारत तथा तिब्बतबाट समेत आयात गर्नुपर्छ।

४. लत्ताकपडा: दशैंमा नयाँ कपडा लगाउने चलन भएकाले ठूलो कारोबार हुन्छ। तर धेरैजसो कपडा स्वदेशमा उत्पादन नभई विदेशबाटै आयात गरिन्छ।

५. फलफूल: नेपालमा स्याउ, सुन्तला, केरा लगायतका फलफूल उत्पादन भए पनि माग धान्न पर्याप्त नहुँदा भारत र चीनबाट ठूलो परिमाणमा आयात गर्नुपर्छ।

६. पूजा सामग्री: दशैं धार्मिक तथा सांस्कृतिक पर्व भएकाले पूजा सामग्रीको ठूलो खपत हुन्छ। यस्ता सामग्रीको ठूलो हिस्सा चीन तथा भारतबाट आयात गरिन्छ।

७.विद्युतीय सामग्री: दशैंमा ठूलो मात्रामा विद्युतीय सामग्री नेपाल भित्रिन्छन्। झिलिमिली बत्ती, पूजाका लागि प्रयोग हुने बत्ती, बालबालिकाका खेलौनादेखि घरायसी विद्युतीय उपकरणसम्म आयात गरिन्छ। यस्ता सामग्री नेपालमै उत्पादन नहुने वा पर्याप्त उत्पादन नहुने भएकाले तिनको आयातमा खर्बौँ रुपैयाँ विदेशिने गरेको छ।

८. सवारीसाधन: दशैंलाई लक्षित गरेर विभिन्न ‘अफर’ सञ्चालन हुन्छन्। मोटरसाइकलदेखि साना तथा ठूला चारपाङ्ग्रे सवारीसाधनसम्म विदेशबाट आयात हुने भएकाले यसबाट पनि ठूलो रकम बाहिरिन्छ।

यसरी दशैंमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा खाद्यान्न, लत्ताकपडा, पशुजन्य वस्तु, पूजा सामग्री, फलफूल र सवारीसाधनलगायतका वस्तुको आयातमार्फत पुनः विदेश पुग्ने गर्छ। दशै सके लगत्तै पुन नेपाली भान्सा रिताे हुन्छ,हरेक घर ऋणमा डुब्छ। याे नियति कृषि युग देखि आजकाे रेमिट्यान्स युग सम्म निरन्तर चलिरहेकै छ।

चाड संस्कृतिको होकी, प्रदर्शनको?

समयसँगै दशैँको स्वरूप पनि फेरिएको छ।

पहिले दशैँमा एक जोर नयाँ लुगा सिलाउन सुचिकार मेसिन बाेकेर घर घरमै आउथे। बेसीमा फलेकाे मार्सि धानकाे चामल, घरमै पालेको खसीबोका, केही मसला र टीकाटालोका लागि दक्षिणाको जोहो गर्नु नै ठूलो कुरा हुन्थ्यो। अहिले दशैँ बजारको ठूलो उपभोग पर्व बनेको छ। नयाँ मोबाइल, टेलिभिजन, मोटरसाइकल, महँगा कपडा, जुत्ता, फर्निचरदेखि घुमघामसम्म दशैँको खर्चकाे आकार फैलिएको छ।

दशैँले अर्थतन्त्रलाई चलायमान बनाउँछ,हलचल ल्याउछ भन्ने कुरा सत्य हो। चाडपर्वका बेला बजार, यातायात, कृषि उत्पादन, पर्यटन, होटल, कपडा तथा खुद्रा व्यापारमा गतिविधि बढ्छ। तर बजार चलायमान हुनु र अनावश्यक उपभोग बढ्नु एउटै कुरा होइन।

आफ्नो आम्दानीभन्दा बढी ऋण लिएर चाड मनाउनु, अरूको देखासिकीमा महँगा सामान किन्नु, सामाजिक प्रतिष्ठाका लागि खर्च बढाउनु वा एक दिनको खुसीका लागि वर्षभरि आर्थिक बोझ बोक्नु संस्कृतिको संरक्षण होइन।

दशैँले परिवार जोडोस्, ऋण होइन। दशैँले आत्मीयता बढाओस्, प्रतिस्पर्धा होइन। दशैँले खुसी ल्याओस्, आर्थिक तनाव होइन।

देशमा अनेकौँ राजनीतिक तथा सामाजिक व्यवस्था फेरिए। नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो, समाजमा चेतना र जीवनशैली फेरियो। तर दशैँ-तिहार मनाउने तौरतरिका र खर्चिलो प्रवृत्तिमा अपेक्षित रूपान्तरण आउन सकेको छैन।

चाडपर्वको मौलिकता जोगाउनु आवश्यक छ, तर समयअनुसार विकृति र अनावश्यक प्रदर्शन हटाउनु पनि उत्तिकै जरुरी छ। धार्मिक तथा संस्कृतिको नाममा आर्थिक बोझ थप्ने होइन, संस्कृतिलाई सरल, आत्मीय र जीवनोपयोगी बनाउने दिशामा सोच्नुपर्छ कि। चाडको खुसी खर्चको प्रतिस्पर्धामा होइन, आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक चेतनामा खोजौँ।

दशैंको लामो बिदा : संस्कृति कि आर्थिक भार?

दशैंसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय लामो सार्वजनिक बिदा हो।२०८३ सालमा सरकारले घटस्थापनामा छुट्टै सार्वजनिक बिदा दिएको छ। मुख्य दशैं बिदा कात्तिक २ देखि ६ गतेसम्म पाँच दिन तोकिएको भए पनि अधिकांश सरकारी विद्यालयमा छठसम्म करिब ३८ दिन बिदा हुने गरेको छ।

लामो बिदाका सकारात्मक पक्ष छन्। टाढा रहेका परिवारका सदस्य घर फर्किन पाउँछन्। वैदेशिक रोजगारीमा वा सहरमा रहेका मानिसले परिवारसँग समय बिताउन सक्छन्। गाउँघरमा चहलपहल बढ्छ। यातायात, होटल, पर्यटन र स्थानीय बजारले आम्दानी गर्ने अवसर पाउँछन्।

तर बिदाको अर्को पाटो पनि छ। सरकारी कार्यालय, विद्यालय, बैंक तथा अन्य संस्थाहरू लामो समय बन्द हुँदा सेवा प्रवाह प्रभावित हुन्छ। विद्यार्थीको पढाइमा अवरोध आउँछ। उत्पादन, निर्माण र प्रशासनिक काम प्रभावित हुँदा अर्थतन्त्रले प्रत्यक्ष तथा अप्रत्यक्ष लागत बेहोर्नुपर्छ। केही व्यवसायले चाडपर्वमा राम्रो आम्दानी गरे पनि सबै क्षेत्रले समान लाभ लिन सक्दैनन्। त्यसैले प्रश्न दशैंमा बिदा दिने कि नदिने भन्ने होइन, बिदा कति आवश्यक छ र त्यसको सदुपयोग कसरी गर्ने भन्ने हो।

चाडपर्व संस्कृति र पारिवारिक सम्बन्धसँग जोडिएका विषय हुन्। मानिसलाई कामबाट विश्राम चाहिन्छ, परिवारसँग भेटघाट गर्ने समय चाहिन्छ र आफ्नो संस्कृतिलाई निरन्तरता दिने अवसर पनि चाहिन्छ। तर सार्वजनिक बिदा बढाउँदैमा सांस्कृतिक सम्बन्ध बलियो हुन्छ वा आर्थिक समृद्धि बढ्छ भन्ने हुँदैन।

लामो बिदा दिने हो भने त्यसको औचित्य, शैक्षिक क्यालेन्डर, सार्वजनिक सेवा र उत्पादनमा पर्ने प्रभावबारे पनि बृहत् बहस हुनुपर्छ। आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्ने, शैक्षिक बिदालाई व्यवस्थित गर्ने र उपलब्ध समयलाई परिवार, समाज, पर्यटन तथा सिर्जनात्मक काममा उपयोग गर्ने नीति आवश्यक छ।

चाडपर्व मनाउनु संस्कृति हो, तर बिदाको सदुपयोग गर्नु जिम्मेवारी पनि हो। संस्कृतिको सम्मान र अर्थतन्त्रको कार्यक्षमता एकअर्काका विरोधी होइनन्। आवश्यकता परम्परा जोगाउँदै समय, श्रम र उत्पादनको उचित सन्तुलन कायम गर्नु हो।

दशैं : गाउँ फर्किने मात्र होइन, गाउँको अर्थतन्त्र उकास्ने पर्व पनि बनाऔँ

दशैंको एउटा सुन्दर पक्ष गाउँसँगको सम्बन्ध हो। घटस्थापनाको अघिल्लो दिनदेखि नै काठमाडौं उपत्यकाबाट मात्रै २०ओैं लाखौँ मानिस गाउँ फर्किने गर्छन्। सहरमा व्यस्त जीवन बिताइरहेका मानिस गाउँ फर्किँदा परिवारसँगको सम्बन्ध मात्र जोडिँदैन,पहेलपुर धानखेतमा एक दिन भए पनि,टिकटक वा रिल्स बनाउनै भए पनि पाईला टेकिन्छ। केटाकेटीले चामल बाेरामा हाेईन,खेतमा उत्पादन हुनेरहेछ भन्ने पनि देखिन्छ ।गाउँको अर्थतन्त्रमा पनि चहलपहल बढ्छ।

घरमा पालेको खसी,कुखुरा,रागा,बदेल बिक्री हुन्छ। किसानका अन्न, तरकारी, फलफूल तथा अन्य कृषि उत्पादनले बजार पाउँछन्। स्थानीय पसल, यातायात, होटल र साना व्यवसायले आम्दानी गर्छन्। गाउँ फर्किने मानिसको खर्चले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउँछ।

तर एउटा प्रश्न छ,दशैंमा गाउँ फर्किने हाम्रो खर्चको कति हिस्सा गाउँमै रहन्छ र कति हिस्सा आयातित वस्तु किन्न फेरि विदेश पुग्छ?

दशैंमा विदेशबाट आएको रेमिट्यान्स र सहरमा कमाएको आम्दानीको ठूलो हिस्सा आयातित वस्तुमा खर्च हुन्छ। हामी चाडपर्व मनाउन गाउँ त फर्किन्छौँ, तर उपभोग गर्ने वस्तु बाहिरबाट ल्याउँछौँ। यसले गाउँमा चहलपहल बढाए पनि स्थानीय उत्पादन र रोजगारीमा पुग्ने लाभ सीमित हुन सक्छ।

यसलाई बदल्न सकिन्छ। गाउँको खसी, स्थानीय अन्न, तरकारी, फलफूल, हस्तकला, कपडा तथा स्थानीय सेवाको प्रयोग बढाउन सकिन्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिने संस्कार विकास गर्न सके दशैंमा हुने खर्च गाउँमै बढी रहनेछ। त्यसले किसानको आम्दानी बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनेछ। दशैंमा गाउँ फर्किनु सम्बन्ध जोड्नु हो भने स्थानीय उत्पादन किन्नु गाउँको अर्थतन्त्रसँग सम्बन्ध जोड्नु हो।

त्यसैले दशैं उपभोग र खर्चको पर्व मात्र होइन, स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरताको अभियान पनि बन्नुपर्छ। गाउँको पैसा गाउँमै बढी घुम्ने वातावरण बनाउन सके दशैंको खुसी परिवारमा मात्र सीमित रहनेछैन, गाउँको समृद्धिसँग पनि जोडिनेछ।

अन्त्यमा

दशैँलाई कसैले धर्मका रूपमा, कसैले संस्कृति र पारिवारिक भेटघाटका रूपमा, कसैले परम्पराका रूपमा मनाउन सक्छन् भने कसैले नमनाउन पनि सक्छन्। लोकतान्त्रिक समाजमा सबैको आस्था, विश्वास र छनोटको सम्मान हुनुपर्छ। चाडपर्वको सुन्दरता अरूलाई आफ्नो संस्कारमा हिँडाउनुमा होइन, आफ्नै संस्कार मनाउने स्वतन्त्रता र अरूको संस्कारको सम्मान गर्न सक्नुमा हुन्छ।

दशैँ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइन, सामाजिक सम्बन्ध र अर्थतन्त्रसँग पनि जोडिएको छ। त्यसैले यसको मौलिकता जोगाउँदै समयअनुकूल रूपान्तरण गर्न आवश्यक छ। दशैँलाई भड्किलो होइन, आत्मीय बनाऔँ। ऋण गरेर होइन, आम्दानीअनुसार खर्च गरौँ। देखासिकी होइन, मितव्ययिता अपनाऔँ। अनावश्यक उपभोग होइन, स्थानीय उत्पादन रोजौँ। लामो बिदालाई आराममा मात्र सीमित नराखी परिवार, समाज र सिर्जनशील काममा उपयोग गरौँ।

दशैँमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा आयातित वस्तुमा खर्चिनुको सट्टा स्वदेशी उत्पादन, कृषि, हस्तकला र स्थानीय सेवामा लगाउन सके गाउँको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ। चाडपर्वको सम्मान गर्नु र आर्थिक अनुशासन कायम राख्नु परस्पर विरोधी कुरा होइनन्।

अन्ततः दशैँको खुसी नयाँ मोबाइल, महँगा कपडा वा ठूलो भोजमा होइन, परिवारसँगको आत्मीयता, मानवीय सम्बन्ध, आपसी सद्भाव र मनको सन्तोषमा खोजौँ। दशैँ सबैको आस्थाको सम्मान गर्ने, कसैलाई बाध्य नपार्ने, संस्कृतिको संरक्षण गर्ने र समाजलाई अझ जोड्ने पर्व बनोस्। सबैलाई दशैकाे शुभकामना !!!

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.